कराते प्रशिक्षक पर्खी राईले अमेरिकामा पाए आइएमएबाट चौथो डान
बिष्णु हरि घिमिरे
अमेरिका । कराते रेफ्री पर्खी राईले शनिवार चौथो डान प्राप्त गरेका छन् । न्यूयोर्कमा रहेको कराते स्कूलका संचालक तथा प्रमुख प्रशिक्षक राईले इन्टरनेश्नल मार्शल आर्ट एशोशिएशन (आइएमए) हेडक्वाटरबाट चौथौ डान पाएका हुन् ।
कोलोराडोको लुइसभेलमा रहेको आइएमएको हेडक्वाटरमा भएको लिखित तथा प्रयोगात्मक परिक्षामा सफल भएपछि राईले यो सफलता चुम्न पाएका हुन् ।
हेडक्वाटरमा राईलाई आइएमएका संस्थापक हानसी साइरस मदानी र विश्व कराते महासंघ डब्लुकेफ रेफ्री कान्सिल सेक्रेटरी सिहान फारिवा मदानीले परिक्षा लिए पछि प्रमाण पत्र दिएका हुन् ।
राईले सन् २०११ मा आइएमएबाट पहिलो डान पाएका थिए । सन् २०१५ मा दोस्रो डान लिएका राईले २०१८ को फेब्रुअरीमा हेडक्वाटरबाटै तेस्रो डान पाएका हुन् ।
राई अमेरिकामा आएर कराते सिकेर चौथो डान पाउने पहिलो नेपाली पनि बनेका छन् । ‘आफैलाई अचम्म लाग्छ, कहिले काँही होर भन्ने जस्तो पनि लाग्छ ।’ चौथो डान प्राप्त पछि समाज टाइम्स सँगको कुराकानी राईले भने ।
अमेरिका आए पछि सन् २००८ मा ३२ बर्षको उमेरमा राईले कराते खेल्न शुरु गरेका हुन् । खासमा उनी छोराहरुलाई कराते सिकाउन ज्याक्सन हाइटमा रहेको इन्टरनेश्नल मार्शल आर्ट एशोशिएशनमा पाईला टेकेका थिए । तर छोरा सँगै आफू पनि कराते सिक्न थाले ।
‘पहिला ब्याल्कबेल्ड पाउदा पनि ओहो भन्ने लाग्थो, त्यस पछि झन झन मेहनत गरे, सिडि चढ्दै छु, हेरौ कहाँ सम्म पुग्छु ।’ राई भन्छन । जुन स्कूलमा कराते सिकेका थिए त्यही शुरुमा प्रशिक्षक बनेका राई अहिले मुख्य प्रशिक्षक र मालिक पनि हुन् ।
‘चौथो डानका लागि धेरै नै मेहनत गरे, शुरुमा डर पनि लागेको थियो, सक्दिन कि भन्ने थियो तर सफल भए ।’ राईले भने, ‘ तर पहिले जति सोचेको थिए त्यति गाह्रो भने भएन ।’
शुरुमा रहरमा करातेको रिङ्गमा छिरेका राईलाई अहिले नशा मात्र होइन मुख्य पेशा पनि भएको छ । कराते स्कूलबाटै अमेरिकन जीवन चलाउन थालेको राईको भनाइ छ । ‘मेरो लाइन नै होइन कराते तर समयले मलाइ यहाँ सम्म डोहोर्यायो अब त म करातेमै फुल टाइम भए त्यस कारण अझै उपल्लो डानका लागि पनि प्रयास गर्छु ।’ पाँचौ डानको परिक्षा दिन मात्र अब पाँच बर्ष कुर्नु पर्ने हुन्छ ।
‘नलाग्नु लागि हाले अब पाँचौ डानका लागि पनि प्रयास गर्छु, चौथो डानको अनुभवले पाँचौ डानका लागि सक्छु भन्ने छ ।’ राईले भने ।
हुन पनि कराते जीवनमा राईको यात्रा लोभलाग्दो छ । गत डिसेम्बरमा मात्र लस भेगासमा भएको यूएस ओपनमा रिङ्ग म्यानेजरको भूमिका निभाएका राईले युएसए नेश्नल कराते च्याम्पियनसिपको फाइनल समेत खेलाइ सकेका छन् । अमेरकी नेश्नल च्याम्पियनको फाइनल खेलाउने राई पहिलो नेपाली हुन् ।
सोलुखुम्बुका राईले अमेरिकन कराते महासंघबाट पनि तेस्रो डान पाएका छन् । अमेरिकन कराते महासंघबाट तेस्रो डान पाउने राई पहिलो नेपाली हुन् ।
राई सन् २०१९ मा करातेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त रेफ्रि बनेका थिए । त्यस पछि उनलाई विश्व कराते महासंघ (डब्लुकेएफ) अन्तर्गत करातेको काता र कुमिते दुबै तर्फ विश्वभर हुने कराते प्रतियोगितामा निर्णायक बन्न पाउने बाटो खुलेको थियो ।
युवा अवस्थाको डिलमा खेलकुदमा लागेर यो सफलता पाउने कमै भाग्यमानीमा राई पर्दछन् । जवकी नेपालमा करातेको सस्थापक मध्येका केही र अन्य खेलमा पनि ख्याति कमाएहरु अमेरिका आए पछि गुमनाम छन् । तर नेपालमा खेलकुद सँग कुनै साइनो नभएका राईले अमेरिकामा आफुलाई खेलकर्मी बनाएका छन् त्यो पनि सफल रुपमा ।