सहिद स्मारक ए डिभिजन लिग : संकटालाई हराउदै आर्मी दोस्रो स्थानमा उक्लियो
काठमाडौं । संकटा क्लबविरुद्ध ३–१ अन्तरको जितसँगै विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।
मंगलबार दशरथ रंगशालमा भएको दोस्रो खेलमा आर्मीको जितमा सन्तोष तामाङ, जर्ज प्रिन्स कार्की र टेक बहादुर बुढाथोकीले एक एक गोल गरे । संकटाका लागि उत्तम राईले सान्त्वना गोल गरे ।
खेलमा आर्मीले पुनरागमन गर्दै तीन अंक जोडेको हो । आर्मीले तीनै गोल दोस्रो हाफमा गरेको थियो । खेलको १४औं मिनेटमा उत्तम राईले गोल गर्दा संकटाले अग्रता बनायो । पहिलो हाफमा १–० ले पछि परेको आर्मीलाई सन्तोषले खेलमा फर्काए । उनले ५९औं मिनेटमा गोल गरे ।
जर्जप्रिन्सले ७३औं मिनेटमा गोल गर्दा आर्मीले २–१ को अग्रता बनायो । बैकल्पिक खेलाडी टेक बहादुर बुढाथोकीले खेल सकिन ५ मिनेट बाँकी हुँदा गोल गर्दै आर्मीको जित सुनिश्चित गरे ।
जितसँगै आर्मी १२ खेलबाट २२ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ । यता, संकटा भने लगातार खराब प्रदर्शन पछि समान खेलबाट १५ अंक जोड्दै सातौँ स्थानमा झरेको छ ।
यस अघि मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै दोस्रो स्थानमा पुगेको एनआरटी फुटबल क्लब तेस्रो स्थानमा झरेको हो ।
जारी लिगको १२औं चरणका खेल सकिँदा मछिन्द्र च्याम्पियन भइसकेको छ भने च्यासल यूथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) दोस्रो डिभिजनमा घटुवा भएको छ ।
विभागीय डर्बीः पुलिस र एपीएफले अंक बाँडे
खेलको पहिलो मिनेटमै गरेको गोलको अग्रता जोगाउन नसक्दा नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिगमा विभागीय प्रतिद्वन्द्वी एपीएफ फुटबल क्लबसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।
मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसका लागि सुमन लामा र एपीएफका लागि प्रदीप लामाले गोल गरे । पुलिसका सुमनले पहिलो मिनेटमै अग्रता दिलाए । एपीएफका विदेशी डिफेन्डर एडामा डोउम्बिया र गोलरक्षक युया कुरियामाको तालमेल अभावको फाइदा उठाउँदै राष्ट्रिय टोलीका सदस्यसमेत रहेका सुमनले बक्स भित्रबाट खाली पोष्टमा सहज गोल गरे । यसअघि डिफेन्डर कपिल ढकालले सो बल उपलब्ध गराएका थिए ।
खेलको ४१ मिनेटमा एपीएफले बराबरी गोल गर्याे । उसका प्रदीप लामाले डिबक्स बाहिरबाट गोल गरे । पुलिसका डिफेन्डरले राम्ररी क्लियर गर्न नसकेको बललाई डिबक्स बाहिर नियन्त्रणमा लिँदै प्रदीपले पहिलो बार च्याप्दै गोल गरेका हुन् । राष्ट्रिय टोलीका सदस्यसमेत रहेका पुलिसका गोलरक्षक सत्रुघन चौधरीले सो प्रहार रोक्न नसक्दा एपीएफले बराबरी गर्ने माैका पाएकाे हाे ।
एपीएफका राजन गुरुङ खेलको म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार र ट्रफी पाए । एपीएफकै प्रदीप लामा इमर्जिङ प्लेयर घोषित भए । उनले पाँच हजार पाए ।
बराबरीपछि पुलिस र एपीएफ यथास्थानमै रहे । पुलिस १२ खेलबाट ११औं स्थानमै छ भने समान खेलबाट एपीएफ आठौं स्थानमा छ ।
जारी लिगको १२औं चरणको सकिँदा मछिन्द्र फुटबल क्लब च्याम्पियन भइसकेको छ । यता, च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब दोस्रो डिभिजनमा घटुवा भइसकेका छन् ।