कांग्रेस कार्यसम्पादन बैठक : एमसीसी पास गर्ने पक्षमा,भातृ संस्थाबारे निर्णय भएन
काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना संसदद्बारा पारित गर्नुपर्ने विषयमा नेताहरू एकमत देखिएका छन् ।
यससँगै गठबन्धनको मतलव नराखी एमसीसी पारित गर्नुपर्ने विषयमा कांग्रेस अघि बढ्ने भएको छ । बैठकमा पूर्वअर्थमन्त्री समेत रहेका डा. रामशरण महतले एमसीसी परियोजना बारे विस्तृतमा चर्चा गरेका थिए ।
प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले संक्षेपमा एमसीसी बारे लिखित सामग्री डा. महतसँग मागेको बैठकमा सहभागी नेता डा. शशांक कोइरालाले बताए ।
‘एमसीसी विद्युत र सडकका लागि हो र यो कुरा हामीले जनमानसमा भन्नुपर्छ भन्दै डा. रामशरण महतले लामो विवरण राख्नु भयो । उहाँले भन्नुभयो कि, यो हामीले लिनुपर्छ । त्यसपछि सभापतिजीले मलाई संक्षेपमा यसबारे लेखेर दिनु, साथीहरूसँग कुरा गर्छु भन्नुभयो’, कोइरालाले भने ।
बैठकमा डा. कोइरालाले गठबन्धनसहित कांग्रेस निर्वाचनमा जान नहुने धारणा पनि राखेका छन् । भ्रातृ र शुभेच्छुक संगठनको महाधिवेशन भने केहीको स्थानीय तह निर्वाचनअघि र केहीको पछि गर्ने कुरा भएको छ ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकमा एमसीसीलाई कसरी ससद टेबुल गर्ने भन्ने विषयमा छलफल भएको छ ।
‘बैठकले एमसीसीको बारेमा छलफल गरेको छ । एमसीसी पारित गर्नुपर्छ भन्नेमा हामी प्रस्ट छौं । सभामुखको काम सरकारले पठाएका विधेयक सदनमा टेबुल गर्ने हो, त्यहाँ छलफल गराउने हो । एमसीसी पनि रोक्न पाउनुहुन्न,’ उनले भने ।
उनले कांग्रेसले एमसीसी बारेको भ्रम जनतामाझ गएर चिर्ने बताएका छन् । यसका साथै बैठकमा स्थानीय तह निर्वाचनमा कसरी जाने भन्ने विषयमा समेत छलफल भएको छ ।
पदावधि सकिएकाले भ्रातृ संगठनको महाधिवेशनका सम्बन्धनमा कुनै टुंगोमा पुग्न नसकिएको उनले बताए । प्रवक्ता महतले पुन: शुक्रबार दिउँसो २ बजे बैठकले निरन्तरता पाउने बताएका छन् ।
महतले बैठक भोलि पनि जारी रहने जानकारी दिए । महतका अनुसार बैठकमा नेताहरुले बोल्नेक्रम जार रहको छ ।
‘नेताहरुको बोल्ने क्रम सकिएको छैन। भोलि पनि नेताहरुले आफ्नो धारणा राख्नुहुन्छ,’ उनले भने । उनका अनुसार बैठक भोलि सक्ने तयारी छ ।
आजको बैठकमा अधिवेशन बाँकी रहेका १६ जिल्लामा छिटो अधिवेशन सक्नुपर्ने विषयमा नेताहरुले धारणा राखेका थिए । ३७ सदस्यीय कार्यसम्पादन समितिका १२ जनाभन्दा धेरै नेताले आज धारणा राखेका छन् ।