अमेरिकामा अर्को जनसम्पर्क समिति औपचारिक रुपमा दर्ता
अमेरिका । नेपाली जनसम्पर्क समिति अमेरिकामा सुभाष घिमिरेको समुहले नेपलिज जनसम्पर्क समिति अमेरिका नामको संस्था औपचारिक रुपमा दर्ता गरेको छ ।
नेपाली कांग्रेसको विदेश स्थित भातृ संस्था नेपाली जनसम्पर्क समितिले आठ बर्ष देखि निर्वाचन गरेको छैन । सो जनसम्पर्क समितिको सभापति आनन्द विष्ट छन् । विधानले हरेक तीन बर्षमा जनसम्पर्क समितिको चुनाव हुनु पर्ने भनेको छ ।
यस्तै बिष्ट यस अगाडि नेपाली कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य समेत मनोनित भएका थिए । पार्टी सभापति शेरबहादुर देउवा निकट बिष्टले सो समयमा पनि चुनाव गराउन सकेनन । कांग्रेसको विधानमा उपल्लो पदमा निर्वाचित वा मनोनित भएमा तल्लो तहको पद स्वत मुक्त हुने व्यवस्था छ । तर पनि बिष्ट पद छोडेनन् ।
सोही कारण देखाउदै दुई बर्ष अगाडि बिष्ट सभापति रहेको जनसम्पर्क समितिका बरिष्ठ उपाध्यक्ष धनन्जयनरसिंह केसीको सभापतित्वमा नयाँ कार्यसमिति गठन भएको घोषणा गरिएको थियो । प्रजातान्त्रिक पार्टीको संस्थामा विधान अनुसार समयमा निर्वाचन नभएको, बिष्ट स्वत पद मुक्त भएको भन्दै सिंहको अध्यक्षतामा गठित समितिमा सुभाष घिमिरे महासचिव थिए । त्यो समुहलाई जनसम्पर्क समितिका पूर्व संयोजक बिष्णु सुवेदी लगायतको समर्थत थियो ।
सिंहको समितिलाई पार्टीले मान्यता दिएन । कांग्रेसको १४ औ महाधिवेशनमा प्रतिनिधि छनौटमा भागबण्डा मिले पछि केसी सहित उनलाई उकास्ने बिष्णु सुवेदीको समुह बिष्ट नेतृत्वको समितिमा विलय भएको थियो ।
सो समय केसी सँगै बिष्ट समुहमा फर्कन नमानेकाहरुलाई समेटेर मेरिल्याण्ड निवासी सुभाष घिमिरेले नेपाली जनसम्पर्क समितिको पूनर्गठन गरिएको जनाएका थिए । सोही समितलाई अहिले क्यालिफोर्नियामा दर्ता गरिएको हो । नेपाली भन्ने ठाँउमा नेपलीज राखिएको छ ।
समितिको महासचिवमा क्याल्फोर्नियाकी क्रान्ति अर्याल भण्डारी छिन् । अमेरिकाको कानून बमोजीम ५०१ सी ४ मा संस्था दर्ता गरिएको प्रमाण पत्र भण्डारीले समाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन् ।
आनन्द विष्टको नेतृत्वमा नेपाली जनसम्पर्क समिति न्युयोर्कमा दर्ता छ । ‘बिष्टको समिति ५०१ सी ३ मा दर्ता छ, त्यो भनेको सामाजिक संस्था हो हामीले ५०१ सी ४ अन्तर्गत दर्ता गरेका छौं यसले राजनीतिक गतिविधि पनि गर्न पाउछ । ‘ संस्था दर्ता पछि समाज टाइम्स सँगको कुराकानीमा घिमिरेले भने ।
घिमिरेले नेपाली कांग्रेस पार्टीले आफ्नो नाममा दर्ता भएको समितिलाई मान्यता दिने दाबी गरेका छन् । ‘बिष्टको समिति अवैधानिक हो त्यो कुरा पार्टीले बुझ्नु पर्छ र त्यो अब बुझ्छ पनि । बिष्टजीहरुले सबै काम अवैध रुपमा गर्नु भएकाले हामीले त पार्टीलाई संकटबाट जोगाएका छौ अब हामी पार्टीलाई बुझाउन लाग्छौ ।’
घिमिरेले अहिले दर्ता प्रक्रियाका लागि २८ सदस्य कार्य समिति र विभागहरु बनाइएको अब सदस्या विस्तार गर्ने र विधान बनाएर अधिवेशन गर्ने बताए । ‘ हामी च्याप्टर पनि गठन गर्छौं, लोगो पनि हामी नयाँ बनाउछौं ,पार्टीलाई सजिलो हुने गरिनै काम गर्ने हो, सबैलाई समेट्ने संस्था बनाउने हो पार्टीले सहयोग गर्छ ।’
कार्य समितिको उपसभापतिमा ईन्द्र सिटौला र सागर पन्थी छन् । सहमहासचिवमा बिष्णु बराल, सचिवमा सुमन आचार्य र कोषाध्यक्षमा बिनी पाण्डे रहेका छन ।
समितिका सदस्यहरुमा दिपक घिमिरे,चेतराज उपाध्याय, दीपेश लामा, कुशुम भण्डारी,दीप चटौत, डाक्टर सन्तोष घिमिरे, ज्योती बराल, कुशुम दाहाल, नवराज आचार्य, गोपिकृष्ण भट्टराई, प्रमोद गौतम, संजीव उप्रेती, रोमन श्रेष्ठ, स्वरुप ज्ञवाली, डाक्टर प्रकाश पराजुली, शुशील खत्री, राघव लामिछाने, रमेश लामा, प्रिती काफ्ले, शैलेश आचार्य, दिपक घिमिरे र कमला गुरुगं रहेका छन ।
गिरिजा प्रसाद कोइराला फाउनण्डेशनमा अध्यक्ष सोमनाथ घिमिरे, आशा वत्स दाहाल र गीता कंडेल दवाडी सल्लाहाकार छन ।