एनआरएनएको मुद्दामा नेपाल सरकार सँग लभिङ्ग गर्ने जिम्मा सोनाम लामा र डा.केशव पौडेललाई
अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाले विदेशमा बस्ने नेपालीका बारेमा नेपाल सरकारसँग लभिङ्ग गर्ने जिम्मा सोनाम लामा र डा.केशव पौडैललाई दिने निर्णय गरेको छ ।
फ्लोरिडाको ओर्लाण्डोमा शनिवार सम्पन्न हाइब्रिड बैठकले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् आइसीसीका उपाध्यक्ष समेत रहेका लामालाई दोहोरो नागरिकताका बारेमा नेपाल सरकार सँग लभिङ्ग गर्ने जिम्मा दिने निर्णय गरेको हो ।
एनआरएनए अमेरिकाका महासचिव अन्जन चौलागाइका अनुसार बैठकले नेपालमा दोहोरो कर फुकुवा सम्वन्धमा लभिङ्ग गर्न डाक्टर केशव पौडैललाई जिम्मा दिने निर्णय गरेको छ । पौडेल एनआरएनए आइसीसीको आगामि अधिवेशनमा महासचिवका उमेदवार पनि छन् ।
दोहोरो नागरिकता र दोहोरो कर सम्वन्धी एजेण्डा आइसीसीकै मुख्य एजेण्डा हो ।
एनआरएनए अमेरिकाले अहिले प्रयोग गरिरहेको वेवसाइड र आइटी सुविधाका बारेमा बैठकमा सबै भन्दा लामो छलफल भएको जनाइएको छ । सचिव अनुप खनालले वेवसाइड र इन्टरनेट प्रविधिका अवरोधका बारेमा बैठकमा जानकारी गराएका थिए ।
‘वेवसाइड बनाउने संस्थाले पैसा लिए अनुसारको सुविधा नदिएको, काम गर्न अप्ठेरो भएको, सदस्यहरुलाई इमेल पठाउन असुविधा भएको, वेवसाइडमा केही अपडेट गर्न पर्दा सेवा प्रदायक (भेण्डर) कै सहयोग लिनु पर्ने तर उनीहरु सँग सम्पर्क गर्न अप्ठेरो छ ।’
‘वेव साइड साँचो लगाएर दिएको घर जस्तो भयो । त्यहाँ केही गर्नै नसकिने । केही अपडेट गर्न परे पनि भेण्डरलाई नै भन्नु पर्ने तर उनीहरु सम्पर्कमा नै नआउने । यसलाई नै राख्ने कि नयाँ लिने भन्ने कुराका लागि सचिवालय र आइटी समितिलाई जिम्मा दिने निर्णय भएको छ ।’ महासचिव चौलागाईले समाज टाइम्ससँग भने ।
महासचिव चौलागाईका अनुसार बैठकले सन् २०२२ सम्ममा भवन खरिद गर्ने निर्णय गरेको छ । त्यसका लागि आर्थिक संकलन गर्न कोषाध्यक्ष राजिव श्रेष्ठको संयोजकत्वमा कमिटी गठन गरेको छ । यस्तै यसै बर्ष एनआरएनए प्रेसिडेण्टल कप आयोजना गर्ने निर्णय पनि भएको छ । विभिन्न खेल समावेस प्रतियोगिताका लागि खेलकुद विभागलाई जिम्मा दिइएको छ । प्रेसिडेण्टल कप रुपज्योतिसँगको सहकार्यमा हुने छ ।
संस्थाको आगामि साधरण सभा जुलाई २३ र २४ मा गर्ने निर्णय भएको छ । महासचिव चौलागाईका अनुसार सभास्थल पछि तोक्ने सहमति भएको छ । यस्तै महासचिवको संयोजकत्वमा विधान मस्यौदा समिति गठन भएको छ । कानुनी सल्लाहाकार समितिमा पिताम्वर भुषाल, बासु फुलरा लगाएत छन् । लेखा समितिमा केशव बरालको नेतृत्वमा समिति गठन भएको छ ।