अमेरिकाको मुलधारको राजनीतिमा जाने नेपालीलाई सबैले सहयोग गर्नु पर्छ : डा.केशव पौडेल
अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रीय समन्वय परिषद् (एसीसी) अमेरिकाका पूर्व अध्यक्ष डाक्टर केशव पौडेलले अमेरिकी मुलधारको राजनीतिमा जान चाहाने नेपाली समुदायका व्यक्तिलाई सबैले सहयोग गर्नु पर्ने बताएका छन् ।
एनआरएनए अन्तर्राष्ट्रीय समन्वय परिषद् (आइसीसी) मा महासचिवका उमेदवार समेत रहेका डा.पौडेलले समुदाय भित्र रहदा आपसमा मतभिन्नता भए पनि त्यो भन्दा माथि नेपाली समुदायको मुलधारमा उपस्थिति हुनु पर्नेमा पनि जोड दिएका छन् ।
‘पक्कै पनि हामी बिचमा केही मतभिन्नता, मत मतान्तर हुनसक्दछ,तर ति सबै विषयहरु भन्दा माथि हाम्रो नेपाली समुदायको मेनस्ट्रिमको उम्मेद्वारी रहनुपर्दछ भन्ने पक्षलाई हामीले बुझ्न जरुरी छ ।’
सामाजिक सञ्जालमा पौडेलले लेखेका छन्,’हाम्रो नेपाली समुदायवाट कुनै पनि मेनस्ट्रिमको निकायहरुमा हाम्रो नेपाली समुदायको सदस्य उम्मेद्वार बनिरहँदा हामीले खुल्ला हृदयका साथ सहयोग गर्नुपर्दछ ।’
अमेरिका अहिले तीन जनाले विभिन्न स्थानबाट अमेरिकी मुलधारको राजनीतिमा यात्रा अगाडि बढाउदै छन् । नेपालीमुलका पहिलो अमेरिकन डेलिगेट ह्यारी भण्डारीले आफ्नो कार्यकाल पुन दोहोर्याउने घोषणा गरेका छन् । भण्डारी अहिले मेरिल्याण्ड स्टेट हाउसमा डेलिगेट्स (सांसद) छन् । तीन बर्ष अगाडिको निर्वाचनमा उनी बाल्टिमोर ८ बाट विजयी भएका थिए ।
यस्तै दिनेश शर्माले पनि टेक्सास राज्यको (हाउस डीस्ट्रीक) एचडी ९२ बाट राज्य सभाका लागि उमेदवारी दिदै छ । भण्डारी र दिनेश दुबै जनाले डेमेक्याटीभ पार्टीबाट उमेदवारी दिदै छन् । उनीहरु दुबैले शुरुमा प्राइमेरी (पार्टी भित्रको आन्तरिक निर्वाचन) चुनाव जित्नु पर्ने हुन्छ ।
लामो समय न्यूयोर्क कर्मथलो बनाएर केही बर्ष अगाडि टेक्सास बसाई सरेका मोहन ज्ञावलीले पनि टेक्ससको युलेस सिटी काउन्सील सदस्यमा उमेदवारी घोषणा गरेका छन् ।
डा.पौडेलको विज्ञप्तिको पूर्ण पाठ
गैर आवासीय नेपाली संघको एक पटकको नेपाली, सधैंको नेपाली भन्ने अभियान मुर्त रुप लिने दिशामा अगाडि बढेको छ । यो सँग सँगै नेपालीका लागि नेपाली, जुन देशमा बसेपनि त्यस देशको मेनस्ट्रिममा पनि अब नेपाली भन्ने अभियान पनि अघि बढिरहेको छ । अमेरिकाको हकमा कुरा गर्दा अमेरिकाको मेन स्ट्रिममा नेपालीको उपस्थिति बढाउनुपर्दछ भन्ने पक्षलाई गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्ले विशेष महत्व दिदैं आएको छ ।
मेनस्ट्रिममा जान चाहनुहुने नेपालीलाई सहयोग गर्ने मात्र होइन मेन स्ट्रिममा जानका लागि संघले उत्प्रेरित समेत गर्दै आएको छ । मेन स्ट्रिममा हाम्रो उपस्थिति जति बढ्न सक्दछ त्यसको लाभ पनि नेपाली समुदायले बढि लिन सक्दछ भन्ने कुरालाई संघले राम्ररी बुझेको छ ।
म अध्यक्ष रहँदा देखिनै मेन स्ट्रिममा नेपालीको सहभागिता बढाउनका लागि पहल सुरु गरेको थियौं । सबैको साथ सहयोगले गर्दा आज अमेरिकाका विभिन्न जनप्रतिनिधिमुलक निकायहरुमा हाम्रो उपस्थिति बढ्दै गएको छ । दिनानुदिन मेनस्ट्रिममा उपस्थिति जनाउन चाहनुहुनेहरुको संख्या पनि बढिरहेको छ । एनआरएनए अमेरिकाले मेनस्ट्रिमलाई महत्व दिई यस अभियानलाई सहयोग गर्नका लागि छुट्टै समितिनै बनाएर काम गरिरहेको छ । सबै नेपालीको एकतावध्द सहयोगका कारण बिस्तारै सुखद परिणामहरु पनि आईरहेका छन् । यो हामी सबै नेपालीहरुका लागि गौरवको बिषय हो।
हाउसअफ डेलिगेट्समा निर्वाचित हुनुहुने ह्यारी भण्डारी, इन्डियानाहेड सिटिमा उपप्रमुख बन्नुहुने किरण सिटौला,सिटी काउन्सीलमा निर्वाचित हुनुहुने प्रदिप ढकाल, मधु पन्थि, टिका पौडेल हुँदै विभिन्न सिटी अन्तर्गतका निकायहरु, सार्वजनिक महत्वका संघ संस्थाहरु लगायतमा नेपालीहरुको उपस्थित बढेर गएको छ । उम्मेद्वार बन्नेहरुको संख्या पनि थपिदैं गएको छ । यो हामी नेपालीका निम्ति सुखद् पक्ष हो ।
हाम्रो नेपाली समुदायवाट कुनै पनि मेनस्ट्रिमको निकायहरुमा हाम्रो नेपाली समुदायको सदस्य उम्मेद्वार बनिरहँदा हामीले खुल्ला हृदयका साथ सहयोग गर्नुपर्दछ । पक्कै पनि हामी बिचमा केही मतभिन्नता, मत मतान्तर हुनसक्दछ,तर ति सबै विषयहरु भन्दा माथि हाम्रो नेपाली समुदायको मेनस्ट्रिमको उम्मेद्वारी रहनुपर्दछ भन्ने पक्षलाई हामीले बुझ्न जरुरी छ ।
अन्त्यमा, मेरिल्याण्ड स्टेट हाउस अफ डेलिगेट्समा पुन: निर्वाचित बन्नका लागि ह्यारी भण्डारी, टेक्सस स्टेट हाउस अफ डेलिगेट्सको यात्रामा सफलताका लागि दिनेश शर्मा, युलेस(टेक्सस राज्यको) सिटी काउन्सीलमा निर्वाचित बन्नका लागि मोहन ज्ञवाली सहीत अमेरिकाभर विभिन्न मेनस्ट्रिमका निकायहरुमा उम्मेद्वार बन्नुभएका सबै एनआरएन साथीहरुलाई हार्दिक शुभकामना सहीत सहयोगका लागि नेपाली समुदायमा अपिल गर्दछु ।
धन्यवाद ।
डा. केशव पौडेल
पूर्व अध्यक्ष
गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद्,अमेरिका ।