अमेरिकामा मानव बेचबिखनका पीडितहरूको लागि ‘निलो अभियान’
अमेरिका । मानव बेचबिखनका पीडितहरूका लागि ऐक्यबद्धता जनाउन अमेरिकामा ‘निलो अभियान’ शुरु गरिएको छ । यही अभियानलाई सार्थक बनाउन जनवरी ११ तारिकलाई निलो दिनको रुपमा मनाइने भएको छ ।
होमल्याण्ड सेक्युरिटी विभाग (डीएचएस) ले निलो अभियानमा सहभागी हुन आह्वान समेत गरेको छ । विभागले सहभागिलाई निलो पोशाक लगाएको फोटो #WearBlueDay ह्यासट्याग प्रयोग गरेर सामाजिक सञ्जालमा पोष्ट गर्ने समेत आग्रह गरेको छ ।
‘तस्करी पीडितहरूलाई समर्थन देखाउन, सचेतना जगाउन तस्बिरहरू पोस्ट गर्न प्रोत्साहित गर्न निलो दिनको आयोजना गर्दछ।’ विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अमेरिकाको अध्यागमन र भन्सार प्रवर्तन (आईसीई), होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन (एचएसआई) का अधिकारीहरुले पनि सो अभियानमा सहभागिता जनाउने भएका छन् ।
मानव बेचबिखन एक अपराध हो जसमा निर्दोष र कमजोर पीडितहरूलाई जबरजस्ती श्रम वा व्यावसायिक यौन शोषणमा फसाउन बल, ठगी वा जबरजस्ती प्रयोग गरिन्छ
विभागले यस अभियानले भयानक अपराध बारे रोकथामका लागि जानकारी प्रदान गर्ने अपेक्षा गरेको छ । ‘मानव बेचबिखनका लक्षणहरू पहिचान गर्न र संदिग्ध घटनाहरू रिपोर्टिङ गर्न,हामी सबै मिलेर तस्करी रोक्ने प्रयासमा फरक पार्न सक्छौं।’ विभागको विज्ञप्तिमा भनिएको छ ।
मानव बेचबिखन एक अपराध हो जसमा निर्दोष र कमजोर पीडितहरूलाई जबरजस्ती श्रम वा व्यावसायिक यौन शोषणमा फसाउन बल, ठगी वा जबरजस्ती प्रयोग गरिन्छ भन्दै विभागले हरेक वर्ष यी घटनाहरु बढिरहेको जनाएको छ ।
होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशनले मानव बेचबिखनको आरोपमा पक्राउ पर्ने घटना सन् २०२१ मा अघिल्लो बर्षको तुलनामा बढेको पनि जनाएको छ ।
आर्थिक वर्ष २०२१ मा दुई हजार तीन सय ६० केश दर्ता गरिएको विभागको जनाएको छ । सन् २०२० मा एक हजार सात सय ४६ पीडितको पहिचान र सहयोग भएको विभागको भनाइ छ ।
तस्करहरूबाट डर-धम्की, भाषामा समस्या र कहिलेकाहीं कानूनको बारेमा जानकारी नहुँदा धेरै पीडितहरूले सार्वजनिक स्थानमा समेत मद्दत माग्न नखोज्ने
विभागले यस्ता अपराधको कुनै उमेर, लिङ्ग, जातीय वा आर्थिक सीमा नहुने उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ,’ अपराधीहरूले सबै आर्थिक वर्गका वयस्क, बालबालिका, पुरुष, महिला, विदेशी नागरिक र अमेरिकी नागरिकहरूलाई लक्षित गर्न सक्छन् भन्ने कुरालाई ध्यान दिनु पनि जनताको लागि महत्त्वपूर्ण छ।’
तस्करहरूले मनोवैज्ञानिक वा भावनात्मक कमजोरी, आर्थिक कठिनाइ, सामाजिक सुरक्षा जालको अभाव, प्राकृतिक प्रकोप वा राजनीतिक अस्थिरता सहित धेरै कारणहरूले व्यक्तिहरूलाई लक्षित गर्न सक्ने बारेमा पनि विभागले सचेतना जगाउन आवश्यक गरेको भनेको छ ।
तस्करहरूबाट डर-धम्की, भाषामा समस्या र कहिलेकाहीं कानूनको बारेमा जानकारी नहुँदा धेरै पीडितहरूले सार्वजनिक स्थानमा समेत मद्दत माग्न नखोज्ने गरेको पनि विभागले भनेको छ ।