नयाँ जीवनको पहिलो बर्ष,नेपालमा गरिब थिए, अमेरिकामा भिखारी भए
बिष्णु हरि घिमिरे
‘ह्याप्पी न्यूईयर, बिष्णु । बधाई छ नयाँ जीवनको लागी’ । शिर देखि पुछार सबै सेतो कपडा, त्यसमाथि प्लाष्टिकको कोटले ढाकिएको आकृती बाट आवाज आयो । ठिङग मेरो सामुन्ने उभिएको थियो त्यो आकृती ।
सपना होकि विपना ठम्मयाउन सकिरहेको थिइन मैले। अधनिन्द्राको अवस्थाले मलाइ बत्तिको उज्यालो साह्रै चहकिलो लागिरहेको थियो । हेर्न पनि अप्ठेरो । म अलमलमा थिए । को हुन उनी ? कहाँ छु म ? नयाँ जीवन ? के भन्छिन उनी ? केही ठम्याउनै सकेको थिइन । म सोध्न खोज्दै थिएँ यो सब के भइरहेको छ। उनी ढोकाबाट बाहिरिइन।
असमन्जताको अवस्थामा यसो चल्न खोज्छु चल्न सक्दीन त । हात, चल्दैन त । खुट्टा, त्यो पनि चल्दैन । आँखा तल पारेर हेरे नाक छोपिएको जस्तो देख्छु । शरिर सेतो कपडाले ढाकिएको छ । आँखा बाहेक शरिरका कुनै अङ्ग नै चल्दैन । बोल्न खोज्छु मुखमा के केले अल्झाएको छ । जिब्रो चलाए, हो त मुखमा केही छ ।
ध्यान मेशिनको जस्तो लाग्ने ट्याट्या…. टुटुरररर… ले तान्यो । कानले त काम गरिरहेको छ त। तर साह्रै नमिठा ध्वनीलाई सहनु परेको छ ।
शरिर अरठ्ठ छ । के गर्ने के । म अतालिरहेको थिए ।
फेरि एक हुल मान्छे भित्र आए । उनीहरु के के कुरा गर्दै थिए केही ठम्याउनै सकिरहेको थिइन । कुनै पनि व्यक्तिको शरिरको अंङ्ग देखिदैन थियो । कोरोना महामारी शुरु भए पछि टेलिभिजनका पर्दामा देखिएका ति मान्छे मेरै आगाडि थिए । म झन झस्किए । तर आँखा र कान बाहेक मेरा शरिरका कुनै पनि अंगले काम नै गरेका थिएनन् । शरिरले कुनै प्रतिक्रियानै दिएको छैन । शिलिङ्ग हेर्नुको विकल्प नै थिएन । के म जिउँदै हो ?
‘हयाप्पि न्यु इएर’ भित्तामा टाँसिएको टिभिमा नयाँ बर्षको प्रोमो सहित आताशवाजी देखियो। सन् २०२० ले विदा लिएको एकाध घण्टा भएको थियो कि । संसार नयाँ बर्षलाई स्वागत गर्दै थियो । त्यही समय मेरो घर परिवारमा पनि ठूलो खुसीको खवर पुगिसकेको रहेछ । सन् २०२१ ले पाइला टेक्दै गर्दा २२ रात पछि मैले आँखा खोलेको रहेछु । अमेरिकाको पेन्सिलभेनिया राज्यको हर्सी भन्ने ठाँउको पेन स्टेट हेल्थ सेन्टरमा । म नियमित बस्दै गरेको ल्यानक्यास्टर भन्दा ४५ मिनेटको दुरीमा छ सो अस्पताल ।
जनवरी १, २०२१ । बिहान मेरो मुखमा लगाएको पाइप झिकियो । ओठ सुक्का भएर अप्ठेरो भयो, चिसो कटनले पुछिदिए । नाकमा ठूलो बुझोको साटो मसिनो पाइप लगाइयो । घाँटीमा ६ र छातिमा चार वटा प्वाल पारिएको रहेछ । सासले बोल्न सक्ने भएछु । ‘म किन यहाँ छु ? मेरो परिवार खोइ ?’ त्यो भन्दा धेरै बोल्नै सकिन । जिब्रो नै चल्दैन । मात्र आँखाबाट एकोहोरो आँसु बगिरहन्छ । सायद शरिरको पिडा बोलेको होला । ‘तपाई गम्भिर विरामी भएर यहाँ ल्याइएको हो, तपाईको परिवार सुरक्षित छन्, चिन्ता नमान्नु ।’ नर्सको भनाई थियो ।
आतको बिमारीले दिएको दु:ख
सन् २०१९ को दशै-तिहार पछि नै पेटले निहुँ खोजे जस्तो गर्दै थियो । सानोमा काँचो आरु, आँप लुकेर खुव खाइन्थो । भोलिपल्ट आमाले थाहापाइहाल्ने । मैले त लुकेर खाएको आमाले कसरी थाहा पाउनु भयो होला भने जस्तो लाग्थो ।
बच्चामा काँचो आरु वा आँप खाए पछि रातो वा सेतो मासी देखिए जस्तै हुन थाल्यो यो पटक पनि । दशै तिहारमा अलि बढी नै खाइयो क्यार भन्ने भयो । तर होइन दुई तीन हप्ता सम्म पनि समस्या समाधान भएन । डाक्टरकोमा पुगे । भित्रि पायल्सको समस्या हुनुपर्छ कोलोनोस्पिकी गर्न भने। डिसेम्वरमा कोलोनोस्पिकी गरे रिपोर्टले सबै ठिक छ भन्छ । तर मेरो समस्या जहाँको त्यही छ ।
काठमाडौंमा २० बर्ष बस्दा डाक्टर ऋषि कोइराला पारिवारिक चिकित्सक हुनुहुन्थो । उहाँलाई सबै रिपोर्ट पठाए । ‘तिम्रो आन्द्रा अलि डराएका छन् म निको बनाउछु नआत्तिनु तर ६ महिना नियमित औषधी खानु पर्छ ।’ डाक्टर कोइरालाको भनाईले अलि राहत दियो । तर अहिले म ठिक हुदै छु उहाँ यो संसारमा हुनुहुन्न । राज्यले होनाहार चिकित्सक गुमायो ।
शुरुमा तीन महिनाको औषधी झिकाएर खाने सल्लाह भयो । औषधी शुरु गरेको एक सातामा नै सकारात्मक प्रभाव पार्यो । तर दुर्भाग्य, कोरोनाका कारण विश्वव्यापि लकडान त्यही बेला शुरु भयो । बाँकी तीन महिनाको औषधी काठमाडौमा नै रोकियो । औषधी सकिएको एक महिना पछि समस्या झन चर्कियो । दिनमा १०-१२ पटक सम्म ट्वाइलेट जानु पर्ने, रगत नै आउने । जुलाईमा दोस्रो पटक कोलोनोस्पकी भयो । यस पटक ‘अल्सरेटिभ कोलाइटिस’ (ठूलो आद्रामा हुने रोग) रिपोर्टमा बोल्ड अक्षरमा थियो । पाँचन प्रक्रियानै खलबलाउने, मान्छे रातारात दुब्लाउने, जीर्ण देखिने रहेछ यो रोगले ।
कोरोना महामारीको विगविगि नै छ । अस्पताल, डाक्टरको पहुँच नै सहज छैन । डाक्टर क्लिफर्ड लोम्बाइले खाने औषधी दिए । यस्तो कडा औषधी दिएछन की त्यो औषधीले एक रातमा सुगरको मात्र तेब्वर बनायो । विहाना उठ्दा चक्कर लागे जस्तो भयो । फोनमा डाक्टर कोइरालाको म्यासेज रहेछ,’पेटका लागि दिइएको जुन औषधी छ त्यसले सुगर बढाउछ तिमिलाई खतरा हुन्छ, तत्काल डाक्टरलाई सम्पर्क गर्नु ।’ सुत्नु अगाडि उहाँलाई अपडेट गराएर सुतेको थिए । तत्काल इमरजेन्सी गए । झण्डै ६ घण्टा पछि घर पठायो ।
सुईले सुतायो
सायद त्यो बेला मैले नयाँ डाक्टर खोज्नु पर्ने थियो की ? होस नै भएन । पेटको समस्या टसमस हुदैन । एक महिना औषधी खाए पछि डाक्टर लोम्बाइले सुई लगाउन सिफारिस गर्नु भो । ‘हुमेरा’ १५-१५ दिनमा लगाउनु पर्ने । पारिवारिक डाक्टरसँग सल्लाह गरे, डाक्टर कोइरालासँग पनि सम्पर्कमा थिए । कोइराला बाहेक अन्य दुई डाक्टरको राय सुई लगाउनेमा नै रह्यो ।
पहिलो डोज लगाएको चार पाँच दिन पछि नै पेटले आराम पायो । नित्यकर्म नियमित नै हुन थालेको थियो । एक महिना काम पनि गरे । तर चौथो डोज लिनु चार दिन अगाडि ज्वरो आयो । शुरुमा त सिजनल नै होला भन्ने भयो । ज्वरो नघटे पछि कोरोना टेष्ट गराए । रिपोट नेगेटिभ छ । हरेक ८-८ घण्टामा ज्वरो नियन्त्रण गर्ने औषधी खाएको छु । उता डाक्टर स्वास फेर्न मुस्किल नभए सम्म घरमै आराम गर भन्ने जवाफ दिन्छन् ।
१२ औ दिन पनि ज्वरो हटेन । शरिर शिथिल छ । इमर्जेन्सी गए । यो पटक भर्ना लियो । दशै पुरा अस्पतालमा विताए पछि आठौं दिन घर गएर आराम गर्नु भनेर डिस्चार्ज गर्यो । यूपिएमसी लिटिज अस्पतालको कमजोरी वा मेरो दुर्भाग्य । ज्वरो त हट्यो तर के कारणले ज्वरो आएको हो र कसरी हट्यो भन्ने निक्यौल नै नगरि घर पठाए ।
अक्टोबर २९ २०२० मा घर आए पछि बीचमा के के भयो यादै छैन । अस्पतालबाट डिस्चार्ज भएको थाहा छ । तर बीचमा के के भयो केही थाहा छैन । धेरै साथीहरु सँग कुराकानी पनि गरेको रहेछु । पछि कल रेकर्ड हेरे थापा पाए । बेथाले झन झन च्याप्दै गए छ । पारिवारिक डाक्टरले थेरापि गर्न रिफर गरेछन् ।
डिसेम्बर १० तारिक छोराले थेरापि सेन्टरमा लगेको फेरि ज्वरो बढेर त्यहीबाट मलाई एम्वुलेन्समा लिटिज अस्पताल लगिएछ । लिटिलले दुई रात राखेर उपचार गर्न नसक्ने भए पछि हर्सी अस्पताल पठाएको रहेछ । हुमेरा सुईको साइड इफेक्टले गर्दा मलाइ मिलिरिया नामक धातक टीवीले छोएछ । जसले गर्दा २२ रात कोमामा पुगे ।
रिपोर्ट भन्छ शरिरका कुनै अङ्ग काम गर्दैन
अहिले रिपोर्टहरु पल्टाउदा आफै झस्कन्छु । रिपोर्टमा भनिएको छ ‘मस्तिश्कमा गम्भिर प्रकृतिका घाउहरु छन्, कलेजो, फोक्सो र मृगौला संक्रमित छन्, नशामा समस्या छ, पक्षघात छ, आँखामा दाग देखिएको छ।’ भेन्टीलेटरमा राखेकै बेला १५ तारिक राति घरमा फोन आएछ । ‘आधा घण्टा भयो मुटु पनि चल्न छोडेको हामी जे पनि सन्देश दिन सक्छौ तयार रहनु होला ।’ पछि मलाई एक नर्सले भन्दै थिइन ‘इज मेडिकल मिराकल, तिमि अचम्म सँग बाँच्यौ’ । मैले सोधे कसरी? ‘१५ तारिकमा अब भो धेरै दुख नदिने भन्ने नै भइसकेको थियो, त्यति नै बेला मेशिनले संकेत गर्यो तिमि जीउदै छौं भनेर ।’ लामो शास लिएर मैले भने ‘यो त तिमिहरुको मेहेनत, धन्यवाद बाहेक के दिन सक्छु र ।’
डाक्टरका अनुसार हामी दक्षिण एशियालीहरुको शरिरमा टीवीका जिवाणु सदैव रहन्छ । हुमेरा सुइले मेरो रोग प्रतिरोधात्मक क्षमता निमिट्यान्न पारिदियो, त्यस पछि टीवीका जिवाणुले रजाइ गर्यो ।
नयाँ बर्षको पहिलो बिहान आँखा त खोले तर चहकिलो कोठामा अन्धाकार जस्तो मात्र देख्छु । मस्तिश्कले धेरै कुरा सम्झनै सक्दैन । शरिका अङ्ग चल्दैन । नर्स सँग याचना गरे मरिगए भने त परिवारको मुखै हेर्न पाउदिन । दिउँसो भिडियो कल मार्फत घरमा कुरा भयो । शुरुमा त मान्छे चिन्नै गाह्रो । के हो के हो ।
मलाई एम्बुलेन्समा अस्पताल लगे पछि छोरो घर फर्कियो । त्यो रात त्यसै भयो । भोलि पल्ट विहानै जाहान यमुना अस्पताल आइछन् । म छटपटाउने, बरबराउने गर्ने रहेछु । आमालाई बोलाउन जोड गरे रे । होस हराएको होला, नत्र १३ बर्ष अगाडि देहान्त हुनु भएको आमालाई म अस्पतालमा किन खोज्थे । दिनभर अन्यौल, धन्न सोही अस्पतालमा कार्यरत नेपाली नर्स रिन्कु रानाले ठूलो सहयोग गर्नु भएछ । दाई सन्जिव घिमिरे र भाउजु जोत्सनालाई अस्पताल भित्र प्रवेस गर्नै दिइएन छ । घरमा दुई नावालक छोरा । रिन्कु रानाले आफ्नो नियमित १२ घण्टाको डिउटी सकेर अर्को पाँच घण्टा मेरा लागि समय दिनु भएछ । जवकी विहान सात बजे पुन आफु डिउटिमा जानु पर्ने ।
मेरो अवस्था जटिल बन्दै गए पछि भेन्टीलेटरमा लगिएछ । रिक्कु दिदीकै सहयोगमा जाहान मध्यरात घर आइन । सन्जिवदाई र जोत्सना भाउजुले छोराहरुलाई सान्त्वना दिदै हुनुहुन्थो रे । सोही समय तीन घण्टा टाडा रहेका बहिनी कल्पना घिमिरे, ज्वाइ पारस भारद्वाज आइपुगेछन् ।
कही पढेको थिए.’मरिजानेलाई के थाहा यहाँ बाच्नेको पिडा ।’ म त बहोस भएर अस्पतालको बेडमा सुति रहे । घरको स्थिति कति कठिन र भयावह होला । त्यो अवस्थामा सन्जिव दाई र कल्पना बहिनीको परिवारले जीवनमा तिर्नै नसक्ने गुण लगाएका छन् ।
भिडियोमा सबैलाई एकै ठाँउमा देखेर म अकमक्क परे । मान्छे चिनेचिने जस्तो लाग्छ । यी सबै कसरी एकै ठाँउमा भए कहाँ छन भन्ने भयो । सबै भन्दा पहिला भान्जी प्रसिद्दिलाई चिने । त्यस पछि कान्छो छोरालाई देखेर रोएछु ।
बाँचेर बेकार भन्ने भयो
आफ्नो हालत सम्झेर बीचमा दिग्दारी लाग्यो । मलाई घर लैजाउ किन अस्पताल राखेको भनेर घर परिवारलाई गालि गर्दो रहेछु । नर्स डाक्टर सँग पनि मलाई घर पठाइदिउ भन्दै जिद्दि गर्न थालेछु । होस चै आएको तर पूर्णरुपमा काम नगरेको समयमा त्यस्तो हुने रहेछ । यो नचल्ने शरिरमा शास मात्र राख्नु भन्दा मर्नु ठिक भन्ने मनमा आयो । उठ्न खोजे के सक्नु । दाहिने हात चल्न थालेको थियो । छातिमा टासिएका तारहरु तान्न थालेछु । मेशिनले संकेत गर्योहोला सायद । नर्सहरु गुरुरुरु आए । हातमा बक्सरले गलाउने गोल्ब्स लगादिए ।
अहिले रिपोर्टमा हेर्छु । धेरै डाक्टरहरुले मेहनत गरेका रहेछन । तर सबै भन्दा उल्लेख्य भूमिका नेपाली डाक्टर रश्मी बन्जाडेको रह्यो । उहाँ आफ्नो डिउटी अन्यत्रै परेको बेला लन्च ब्रेकको समयमा पनि मेरो क्याविनमा आएर सान्त्वना दिनुहुन्थो । ‘नआत्तिनुस विस्तारै सबै ठिक हुन्छ ।’ शुरु देखि नै मेरो केश उहाँले नै हेर्नु भएको रहेछ । मेरो परिवार सँग पनि उहाँको दैनीक सम्पर्क हुने रहेछ ।
अर्का दुई डाक्टर पाकिस्तानी मुलका मुनिमा नासिर र सायद बुकहरि । मुनिमा नासिर त पाकिस्तानबाट दुवइ हुदै अमेरिका आउनु भएको रहेछ । जव जव म हरेश खादै थिए । म बाच्न त बाचे तर झन बर्वाद भयो भन्ने अवस्थामा थिए । उहाँहरुले निकै राम्रो सल्लाह दिनु भयो । प्रेरणा दिनु भयो । परिवारबाट मेरो बारेमा सबै जानकारी डाक्टरलाई भइनै सकेको रहेछ । नासिरले भनेको त्यो शब्द जसले मलाई दिग्दारीबाट उद्दार गर्यो । आत्महत्याको सोचबाट अलग गरायो । अझ भनौ न मलाई ज्यानको माया लाग्न थाल्यो । अब हरेस खान हुदैन बिरामी आफैले बल गर्नु पर्छ भन्ने भयो ।
‘बिष्णु मान्छेले जीवन प्रायस एक पटक पाउछ, तर तिमिले दुई पटक पाएका छौ, के अब यो सुनौला अवसर तिमिले फुत्काउछौ ?’ हामीले गर्ने गरिरहेका छौ अब यो भन्दा बढी गर्न तिम्रो सहयोग चाहिन्छ, तिमिले आफुलाई हेरेर मात्र हुन्छ तिम्रा छोरा हेर, जहान हेर ।’
आँखा टिलपिल भयो । बोलि फुटेन । टाउको हल्लाए । त्यस पछि अब बाच्नु पर्छ भन्ने मनमा आउन थाल्यो । जीवन र संघर्षका बारेमा धेरै कुरा भने । दुबै जनाले हिन्दीमा कुराकानी गर्ने भएकाले पनि मलाई सजिलो भयो ।
विस्तारै औलाहरु चलाउने प्रयास गरे । शरिर सुनिने र घट्ने भइनै रहन्थ्यो । अहिले पनि रिपोर्टमा हेर्दा २४ घण्टामा नै शरिरको तौत ७-८ पाउण्ड घटीबढी देखिएको छ । फलोअपमा जादा डाक्टरलाई सोधेको थिए । पानीको मात्रले त्यस्तो भएको हो भन्ने जवाफ पाए ।
दिन दिनै शरिरमा केही न केही सुधार हुदै थियो । घरमा र अन्यसाथिहरु सँग पनि भिडियोमा कुरा हुन थाल्यो । सबै साथिहरुले हौसला दिनुहुन्थो । एक साथिले अनौठो प्रतिक्रिया दिए,’तपाईलाई त अस्पताल फापेछ कस्तो पुक्क मोटाउनु भएको ।’ म नाजवाफ भए ।
तेस्रो पटक आइसीयुमा नआउहै
म बाट अरुलाई टीवी सर्ने सम्भावना टरिसकेको थियो । आराम चै लामै समय गर्नु पर्ने । ‘६ महिना देखि दुई बर्ष सम्म लाग्छ शरिरका सबै अङ्ग पूर्ववत रुपमा काम गर्न नआत्तिनु अर्को साता रिह्याव सेन्टर पठाउछौ त्यहीबाट घर जानु ।’ जनवरीको तेस्रो सप्तान्त डाक्टर सायदले यसो भन्दै गर्दा मन चङ्गा भएको थियो । कहिले घर गएर जाहानको छोराहरुको काखमा लडिबुडि खेलौ भन्ने भएको थियो ।
बेलुका मलाई वार्डमा सारियो । कोठा साह्रै साँधुरो अत्यास लाग्ने मेशिनको अत्याधिक आवाज आउने थियो । यो कोठा मलाई हुदैन भन्दै थिए,कसैले सुनेन । राति देखि लगातार खोकि लाग्न थाल्यो । भोलि पल्ट दिउँसो त रगत नै देखियो । नर्सलाई बोलाए कोही आउदैन । साँझ छोराले फोन गर्दा बोल्न नसक्ने भइसकेको रहेछु । छोराले डाक्टरलाई फोन गरेर मेरो बाबुको अवस्था जटिल भएछ नर्सले केयर गरेको छैन भनेर गुनासो गरेछ ।
तर त्यो बेला सम्म धेरै ढिलो भइसकेको रहेछ । मलाई श्वास फेर्नै गाह्रो भइरहेको थियो । सानो कोठा मान्छे धेरै, झन आत्तिए अत्यन्त कठिन भयो, छाब्दी बराही सम्झिए ‘म यो भन्दा धेरै यातना सहन सक्दिन भयो पुग्यो जीवन’ । त्यसको दुई दिन पछि फेरि आइसीयुमा नै आफुलाई पाए । त्यो एक रातले मेरो अस्पताल बसाई अर्को एक महिना लम्बियो । त्यस पछि मलाई वार्डमा पनि विषेश निगरानीका साथ राखियो । दोस्रो पटक आइसीयुबाट निस्कै गर्दा नर्सहरु भन्दै थिए । ‘नो मोर थर्ड टाइम इन आइसीयु’
एउटी नर्सले झण्डै मारिदिइनन्
५४ औ दिन पछि जाहानलाई प्रत्यक्ष भेटन पाए । त्यसको एक दिन अगाडि पारसजीलाई भेट्न पाएको थिए । समग्रमा ७५ दिन पछि घर आए । त्यस अगाडि अर्को दुई घटना पनि अनौठो रह्यो । नर्सहरु प्राय सार्है सज्जन । उनीहरुको मेहनतलाई उच्च सम्मान गर्नु पर्ने हुन्छ । होसमा आए पछि पनि ६ हप्ता भन्दा बढी समय खाना देखि दिशापिशावका लागि म सक्षम भएको थिइन । ओछ्यानबाट उठ्नै सक्दैनथे । त्यस्तोमा नर्सहरुको सेवा लिदा आफुलाई ठूलै ग्लानी हुन्थो । लाज पनि । उनीहरु झर्को मान्दैन थिए ।
तर दुई जना नर्स अजिव भेटे । एकजना मध्यपूर्व एशियाली थिइन । उनी जवरजस्ती हिडाउन खोज्ने । जुन कुरा सम्भव नै थिएन । दैनिक रुपमा शरिरबाट रगत निकाल्न पर्थो । त्यसको लागि स्थायी ठाँउ नै बनाइएको थियो तर उनी सिरिजले नै रगत निकाल्ने । दुख्यो भनिस भने झन दुखाइदिन्छु भन्थिन ।
अर्को एक रात मलाई अचानक चिट्चिट पशिना आयो । ओड्ने कुरा न म आफै ओड्न सक्थे न त फाल्न नै । साथमा घण्टी थियो दुई तीन पटक बजाए पछि एक अधबैसे नर्स आइन । मलाई गाह्रो भयो पसिना आएको छ ज्यान पनि दुखेको छ भने उनले ओड्ने हटाइदिन र जाडोको समय थियो हिट बन्द गरिदिइछन् ।
एक छिन पछि थुरथुर जाडो हुन थाल्यो । गोडामुनि ओड्ने कुरा छ तान्न सक्दिन । नर्स बोलाउने घण्टी पनि छैन । सायद रातिमा बोलाइ रहन्छ भनेर होला घण्टी नै लुकाइदिइछन् । ल अब सकिए भन्ने भयो । केही उपाय नै छैन । बिहान नियमित औषधी खुवाउने नर्स आउदा ज्यान पुरै चिसो बोल्नै गाह्रो । उनले छिट्छिटो तातो कम्वल ल्याइदिइन । हटब्याग पनि ल्याइन ।
साथिहरुबाट अपार हौसला पाए
रिहाव अस्पतालमा १२ दिन बसे पछि वाकरको सहायताले बाथरुम सम्म जाने भए । अन्तत फ्रेब्रुअरी २३ तारिक घर आइपुगे । अस्पतालमा हुदै पनि धेरै नै साथिहरु सँग सम्पर्कमा आउन थालेको थिए । म अस्पाताल पुगेकै राति नेपाल पुगेका पत्रकार साथी विजय पौडेलले (सम्पादक विश्व सन्देश न्यूयोर्क) फोन गर्नु भएको रहेछ । तर मैले कुरा गर्न नसकेको रहेछु । त्यस पछि उहाँले विमल मोक्तान र विनोद मोक्तानलाई खवर गर्नु भएछ । आफै स्वास्थ लाभ गरिरहनु भएका मोक्तान दाजुभाई, डाक्टर केशव भण्डारी र राज कालखेतीले एक घण्टा भन्दा लामो दुरी छिचोल्दै पटक पटक मेरो घरमा आएर परिवारलाई सहयोग सहित ढाढस दिनु भयो । डाक्टर केशव पौडेलले पनि चिकित्साक्षेत्रमा मिलेसम्म सहयोग गर्नु भएछ । डाक्टर रश्मी बन्जाडे र पौडेल दुबै टीयुका विद्यार्थी भएर पनि मलाई सजिलो भयो ।
अमेरिका फर्केपछि विजयजीको परिवार, तारा भट्टराई, सुनिल जोशि, दर्जनौ पत्रकार साथीहरु घर आउनु भयो । कतिले फोन मार्फत कतिले समाजिक सञ्जाल मार्फत सुवेच्छा र प्राथना गरिदिनु भएको रहेछ । त्यस्ता कुराले रिकभरीका लागि ठूलो सहयोग पुग्ने रहेछ । बाच्नु पर्छ भन्ने हौसला आउने रहेछ ।
चन्दामा राजनीति र व्यापार
जब जुलाई अन्तिम साता भर्जिनिया पुगे । म छाँगाबाट खसे जस्तो भए । जीवन सब बेकार लाग्न थाल्यो । मलाई सामाजिक सञ्जालमा दुख बाड्न मन पर्दैन । विरामी परे, मान्छे मरे यस्ता कुरा किन सामाजिक सञ्जालमा राख्नु भन्ने लाग्छ । अझ कति त लासकै फोटो राख्छन् । कुन मान्छे कुन मुडमा हुन्छ त्यस्ता कुराले उसका नातागोतालाई कस्तो असर पर्छ भन्ने लाग्छ । जिउँदो छउल्जेल गाली गर्ने मरे पछि महान भन्ने चलन नै छ ।
अर्को पाटो नेपालमा त विकल्प नै छैन तर अमेरिकामा पनि केही घटना भयो कि चन्दा उठाउने चलन छ । भर्खर आएकाहरुलाई समस्या पर्न सक्छ तर बर्षौ अमेरिका बसेकाहरु पनि चन्दा उठाइहाल्ने गर्छन । त्यो पनि मलाई अप्ठेरो लाग्ने विषय हो । सरकारी सुविधा के कसरी पाइन्छ भन्ने तर्फ नेपालीका संघ संस्था पनि लाग्दैनन । व्यक्तिगत रुपमा पनि अधिकांशले बीमा खरिद गर्न लोभ गर्छन् । अनि केही अप्ठेरो पर्यो कि हात पसार्यो । रुपैयाँ सहयोग गर्यो लाखको प्रचार । नेपालमा चाउचाउको एक पोका दिएर दर्जनौंले राहत बाड्यो भनेर फोटो खिचाए जस्तो ।
त्यस्तो नहोस भनेर नै मैले अमेरिका टेकेको केही पछिबाटनै जीवन र स्वास्थ बीमा खरिद गरेको थिए । तर जे नहोस भनेको थिए त्यही भयो । एउटा खराव समयबाट गुज्रिएँ भनेको अर्को शुरु भयो ।
म अस्पताल भर्ना भए पछि डाक्टर अविन ओझा, नेपालमा हुँदा कान्तिपुर टेलिभिजनका सहकर्मी बद्री गौतम, राजु तिमिल्सिना लगायतले केही त गरौ भनेर लाग्नु भएछ । गुणराज लुइटेलजी र उहाँको टीम पनि साथिलाई पर्दा गर्न पर्छ भनेर लाग्नु भएछ। ‘कोर टिमका साथी साथीले सकेको सहयोग गर्ने ।’
अमेरिकामा पत्रकारहरुको दुई वटा संस्था छ । नेपाल अमेरिका पत्रकार संघ (नेजा) र अन्तर्राष्ट्रीय नेपाली पत्रकार संघ (इन्जा) । गुणराजजी इन्जामा, म नेजाको सदस्य । ‘व्यक्तिगत रुपमा एउटा साथीलाई पर्दा अर्को साथीले सहयोग किन नगर्ने भोलि हामीलाई पर्दा पनि बिष्णुजीले सहयोग गर्नु हुन्छ’ बहिनी कल्पनालाई मैले अस्पतालकै बेडबाट के भएको हो भनेर सोध्दा पाएको जवाफ । पछि डाक्टर ओझा, गुणराज, बद्री, राजु सबै बाट एउटै जवाफ पाए । चन्दा भनेर गरिएकै होइन ।
पैसाले कहिले पुग्छ र तैपनि गुजारा चलेको थियो र चल्थ्यो पनि। साथिहरुले मनले दिएको सहयोग ठिकै छ भन्ने भयो । त्यो समय धेरै कुरा सोच्ने अवस्था नै थिएन । फेरि एचो पैँचो भार पर्म चलाएरै आएको मान्छे न परे । कोही कसैकहाँ जाँदा पनि त खालि हात गइदैन भन्ने पनि पर्यो मलाई ।
तर साथीहरुले व्यक्तिगत सहयोग भनेको ठाँउमा बीचमा नेजा मिसिएछ, नेजा सँगै नाफा, घाटा, व्यापार र राजनीति सबै मिसिएछ ।
म अस्पतालमा नै हुँदा एक दर्जन भन्दा बढी पत्रकार साथीहरु मेरो अपार्टमेन्टमा आउनु भएको थियो । मेरो स्वर राम्रो सँग पनि खुलेको थिएन । लामो गफ गर्न सक्ने अवस्थामा थिइन । ‘तपाईहरु आइदिनु भयो यसले मलाई त उत्साह बनाएको छ,त्यो भन्दा ठूलो कम्तिमा मेरो जाहान र छोराहरुलाई यसले ठूलो महत्व राख्छ ।’ संयोग नेजाका कार्यवहाक अध्यक्ष विकासराज न्यौपाने र इन्जाका अध्यक्ष गुणराज लुईटेल पनि एकै पटकमा आउनु भएको थियो । मेरो अर्को भनाइ थियो दुई संस्थाका साथीहरु एकै पटक यसरी आउदा अमेरिकामा रहेका नेपाली पत्रकार चाहिएको बेलामा एक हुन सक्छन भन्ने सन्देश पनि जान्छ ।
साथीहरु गए पछि जाहानलाई मैले भनेको थिए त्यो पैसा नचलाउनु बैकको लकरमा राख्नु । म मरिगए भने पनि ४-५ बर्ष जीवन निर्वाह हुने व्यवस्था हुने गरि जीवन बीमा गरिदिएको छु । नियमित स्वास्थ बीमा लिएकै थिए । शारीरिक असक्षमता भए भने सामाजिक सुरक्षा भत्ता दावी गर्न पाइन्छ । छोराहरु हुर्कदै छन्, पैसाले पुग्ने होइन गुजरा चलाउने हो । अप्ठेरो परेको बेला साथिहरुले सहयोग गरे त्यो पैसाको पछि कुनै न कुनै व्यव्स्था गरौला ।
म मेरो बाको २२ औ सन्तान, मेरी आमापट्टीको दशौ । मेरो बालाई अन्तिम समय सम्म पनि मुख्य पिर भनेकै सन्ततीले मागेर खान नपरोस भन्ने थियो रे । आमा बाराम्वार त्यो कुरा दोहोराउनु हुन्यो । म आफैलाई पनि बाले सित्तैको कुरा लिन हुदैन भन्नु हुन्थो । मलाई पनि जीवनमा अरु त्यस्तै हो हात पसारेर खान नपरोस नै भन्ने थियो । त्यही डरले नै हुदाँखादाको पेशा जोडेर विदेशिएको हुँ ।
तर भर्जिनियामा नेजाको अधिवेशनमा रातरात सबै कुरा उल्टो भयो । व्यक्तिगत सहयोगलाई चन्दामा रुपान्तरण गरेर दस्तावेज बनाइयो । मलाई ‘बिचरा’ पात्र बनाएर नेजाको इतिहासमा नै हामीले ठूलो काम गर्यौ भनियो । बन्दशत्रमा तालि पिटियो ।
एउटा अपराधिलाई त तेरो अन्तीम इच्छा के छ भन्ने गरिन्छ तर त्यहाँ मलाई पूर्वजानकारी केही पनि दिइएन । मेरो नाममा चन्दा उठाउने अधिकार कस्ले दियो त्यो अनुत्तरित नै भयो । गिफ्ट र डोनेशन फरक कुरा हुन । पहिला गिफ्ट भन्ने पछि डोनेशन भनेर दस्तावेज गर्ने काम गरियो ।
दोस्रो कुरा पत्रकार साथीहरु बीचमा मात्र सिमित गरिएको भनिएको थियो । पछि लिष्ट हेर्दा आधा भन्दा धेरै जो मैले चिन्दै नचिकेकाहरु सँग पनि २०-२५ डलर उठाइएको रहेछ । अमेरिकी समाजमा निकै नै विवादित कतिपय पात्रहरुको नाम पनि त्यो लिष्टमा देखिन्छ ।
तेस्रो कुरा मोइमाग्ने ढुङ्ग्रो लुकाउने भने किन गर्या ? माग्ने नै भए पछि खुलै मागेको भए त धेरै पैसा त उठ्थो होला । यसै माग्ने उसै माग्ने । म बसेको क्षेत्रमा रहेका नेपाली, मेरो जाहानको कार्यस्थलका सहकर्मीहरुले पनि गरेको सहयोग जोडेर २५ हजार डलर उठाइएको देखाइएको छ । अमेरिकामा गोफण्डमा उठाइएका चन्दामा लाख भन्दा बढी उठेका उदाहरण धेरै छन् । मेरा नजिकका साथीभाइले सहृद्तामा जम्मा गरिएको रकम समेत हाइज्याक गरेर आफै रहेको संस्थाले मलाई मेरो विमा रकमबाट बन्चित हुने अवस्थामा पुर्यायो ।
चन्दाले झन् समस्या पार्यो
बाहिर सतहमा हेर्दा धेरैलाई परेको छ । ‘हो त नेजाका साथीहरुले गरेका हुन त जस पनि नदिने’ भन्ने छ । मेरै नजिकका साथिभाइलाई पनि त्यो परेको छ । २० बर्ष भन्दा बढी समय देखि निकट रहेका एक साथिले भने पनि ‘त नेगेटिभ मान्छे सँग बहस गर्नु भनेको समय खेर फाल्नु हो।’ भर्जिनियाँमा मेरो अपमान र पिडा पछि मैले दुई वटा स्टाटस लेखेको थिए । त्यस पछि ति साथीको प्रतिक्रिया आएको थियो ।
तर म के खुलाउन चाहन्छु भने २५ हजार चन्दाका कारण मैले केही सरकारी सुविधा गुमाए । जस्तै मेरो निशुल्क स्वास्थ बीमा थियो । पछि को पेमा शुल्क तिर्ने भयो । म शुन्य आम्दानीमा थिए र सोही अनुसार मैले स्वास्थमा सबै कुरा निशुल्क पाएको थिए । तर आम्दानी देखिए पछि निशुल्क नहुने रहेछ । त्यो भन्दा ठूलो मैले माशिक भत्ता पनि गुमाए ।
सध्ये हुँदा कर तिर्नेभएकाले असक्त हुँदा राज्यबाट कम्तिमा दुई बर्ष सम्ममा पाइने झण्डै ३६ हजार डलरबाट बन्चीत भए । त्यो २५ हजार चन्दा सहयोग आर्थीक रूपमा बोझिलो भएको छ मलाई अहिले ।
अधिवेशनमा मलाई बिचरा, बैगुनी र धोकेवाज तीन वटै पगरी दिइयो । ‘हो त त्यस्तो अप्ठेरो परेको बेलामा त्यति टाडाबाट गएर सहयोग गरेको पनि नदेख्ने कस्तो बैगुनी ?’ कोरोनाका कारण अधिवेशन स्थगित हुनु भन्दा अगाडि म नेजाको नेतृत्वका लागि मैदानमा थिए । महामारीले अधिवेशन सर्यो । पछि म पनि विरामी भए । एक बर्ष पछि अधिवेशन हुने भयो । म पनि लौरी बिना हिड्ने भएको थिए । पहिला मेरो नेतृत्वमा टिम नै बनेको थियो ।
साथिहरु सम्पर्कमा थिए । तर मैले म यो पटक सक्दिन नै भनिरहेको थिए । दुई जना पूर्व अध्यक्षले सार्है कर गरे । ‘भारी बोक्नु पर्ने होइन, भोलि कसलाई के हुन्छ के था छ र ? स्वास्थले फेरि साथ दिएन भने अर्कोलाई कार्यवहाक दिदा पनि हुन्छ । निर्विरोध गराउने जिम्मा हाम्रो भो ।’ मैले उमेदवारी दिए तर जसले मलाई उचाले उनीहरु मौन बसे । अनि मैले उमेदवारी फिर्ला लिए ।
त्यो फिर्तालाई गतल प्रचार गरिएछ । मैले कसैको विरोध वा समर्थनमा फिर्ला लिएको थिइन । सामाजिक सञ्जालमा स्टाटसनै लेखिदिए । म साथीहरुको बीचमा धोकेवाज भए ।
मैले फेसबुकमा लेखेको स्टाटसमा परिवारलाई नमुछेको भए हुने भन्ने सल्लाह पनि दिए केहिले। हामी नेपालीहरुको विषेश गरि सामुहिक समस्या नै भनौ यौन र मृत्युका बारेमा हामी परिवारमा छलफल गर्नै चाहादैनौ । यो दुबै कुरा सत्य हुन् । १८ बर्ष भन्दा लामो पत्रकारिताको अवधीमा धेरैलाई सूचना दिए भन्ने भ्रम म सँग थियो तर आफ्नै परिवारलाई जीवनबारे बुझाउन सकिन रहेछु भन्ने थियो ।
अर्को तर्फ त्यो पैसाका कारण मैले बीमाबाट पाउने सुविधा कटौति भयो । शुन्य आम्दानीमा पाएको सुविधा थियो तर दश हजार भन्दा बढी आम्दानी देखिए पछि स्वास्थ बीमामा पाउने सुविधा पाइन । म जस्तो लामो समय आराम गर्नु पर्ने विरामीका लागि राज्यले विषेश हेरचाह रकम दिने रहेछ त्यो पनि मेरो परिवारको आम्दानी माशिक तीन हजार भन्दा कम भएमा । त्यो पैसाको चेक मलाई नभिराएको भए दुई बर्ष जति मासिक करिव १५ सय अमेरिकी डलरका दरले पाउने रहेछु ।
किनकी अमेरिकी राज्य जनताप्रति जिम्मेवार छ । मैले काम गरेको समयमा कर तिरेको छु । नसक्दा मलाई राज्यले दिन्छ । पूँजीवाद र साम्राज्यवादको नारा सुनेर आएको मलाई ति नारा अहिले झुठो हो भन्ने प्रमाणित भएको छ । मलाई घोकाइएको समाजवाद मैले अमेरिका आए पछि अनुभुत गरेको छु । अमेरिकामा हाताहाती पैसा नभएकै कारण खान, बस्न, पढ्न र स्वास्थ उपचारमा बन्चित नै हुनु पर्छ जस्तो मलाई लाग्दैन ।
चन्दा उठाउने भनेको म डुबे सकिए अब केही लागेन भनेर समर्पण गर्नु हो । म गरिव चै हो तर भिखारी होइन । बाहिर हेर्दा नेजाले ठूलो सहयोग गर्यो भन्ने देखियो तर त्यो पैसाले गर्दा मानसिक र आर्थिक दुबै तर्फ मैले झन ठूलो क्षति बेहोर्नु पर्यो । मेरो उपचारमा चार लाख डलर भन्दा बढी खर्च भएको छ । यो एक बर्ष माशिक तीन हजार डलर भन्दा बढीको औषधी खादै आएको छु । त्यो चन्दाले मलाई कसरी फाइदा भयो ?
जीवनमा प्रश्नका चाङ्ग नै छन् । तर सन् २०२१ मा उठेका यी प्रश्नले मलाई घचेटि रहने छ । म छाब्दी बराही माताको भक्त हुँ । हरेक सुख दु:खमा सम्झने उनैलाई हो । भर्जिनियाबाट फर्क पछि कयौं हप्ता निदाउन सकिन । सन् २०१९ मा नेपाल जादा मेरा गुरु डाक्टर दुर्गा प्रसाद ढुङ्गानाले चिना हेर्दै भन्नु भएको थियो दुई बर्ष तेरो ठूलो खड्को छ । मैले सोधे के म मर्छु ? उहाँले भन्नु मर्न त मर्दैनस तर समय खराव चल्छ ।
आज नयाँ जीवन पाए पछिको नयाँ बर्षको पहिलो दिन । स्वास्थमा अहिले धेरै सुधार भएको छ । आशा छ त्यो खराब समय अब सकिने छ र मेरा ति प्रश्नको जवाफ कुनै दिन त्यही समयले दिने छ । नयाँ बर्ष २०२२ को शुभ कामना ।