कथा: ‘जसलाई तिमी बचाउन खोज्छौ त्यसले पोल्न सक्छ’
नत्र बन्धु पोखरेल
हरिश घर भित्र छिर्दा नै उसको आमाले अनुमान गर्नु भएको थियो, आज केही भएको हुनु पर्छ। उसको चेहरामा देखिएको मलिनता । कोट खोल्दै भित्र पस्ने उ सरासर गएर सोफामा बस्यो ।
टिभी खोल्यो नारायण गोपालको गीत बजिरहेको थियो ‘झरेको पात झैँ भयो उदास …..’ टिभी बन्द गर्यो र सोच मग्न भयो । आमाले यो सब चियाई रहनु भएको थियो ।
सोध्नु भयो के भयो बाबु? सुन्नु न आमा त्यो रमनेले मेरो विरुद्ध कुरा गर्दै हिँडेको थाहा त पाइ रहेको थिएँ आज मेरै अगाडि मलाई गाली गर्यो । हिजो उसको छोराको उपचारको लागि सुरुमा आफै रगत दिएँ । अनि दश हजार दिएर उपचार सुरु गराएँ । पुगेन चिने जानेकालाई भनेर रकम जम्मा गरेर उपचार चल्दै गयो । त्यतिले पुगेन विदेशमा बस्ने साथीहरूलाई अनुरोध गरेर अभियान नै चलाएर कोष जम्मा गरी उसको छोराको उपचार सम्भव भयो । त्यही रमनेले आज त मेरो विरुद्ध कुरा गर्यो ।
उसले के गरेको हो र, मेरो छोराको फोटो देखाएर पैसा उठाएको हो । मेरो छोरो भनेर सबैले पैसा दिएका हुन । उसले २,४ जनालाई भने होला त्यति त हो । त्यो मान्छे ठिक छैन । यस्तै भनेको त सुनेको थिएँ । आज रक्तदान कार्यक्रम थियो उसलाई पनि बोलाएको थिएँ ।
उ आयो पनि । उसलाई देखेर मैले रमन तिमी पनि रक्तदान गर्छौ मात्र के भनेको थिएँ उ त म काम गरेर खाने मान्छे मलाई कमजोर बनाउन खोजेका हौ ? मैले किन रक्तदान गर्ने भनेर चिच्यायो मैले हेर तिमीले रगत दान गरेर तिमी कमजोर हुँदैनौ तर अरू कसैको जीवन बँचाउन सकिन्छ भन्नासाथ उ कड्केर मलाई कसैलाई बँचाउनु छैन । के मैले अरूलाई बँचाउने ठेक्का लिएको छु र भनेर तथानाम गाली गर्दै हिँड्यो । यसैले मलाई ज्यादै पिँडा भएको छ ।
छोराको कुरा सुनिसके पछि आमाले तेरो पिँडा म बुझेँ र यसलाई कम गर्ने उपाय गर्नु पर्छ भन्दै एउटा दियोमा बात्ती राख्नु भयो तेल राख्नु भयो अनि लाइटर दिँदै भन्नु भयो । बाबु यो दियो बाल ।
हरिशले लाइटरको मद्दतले दियो बाल्यो । आमाले भन्नु भयो । अब दियो लिएर बाहिर जानु पर्छ तर दियोलाई निभ्न दिनु हुँदैन नि ।
हरिशले दियो लिएर बाहिर गयो आमा पनि सँगै जानु भयो ।
बाहिर त हावा लागिरहेको थियो । हावाले दियो निभाउन लाग्यो । आमा यो दियो त निभ्न लाग्यो हरिश चिच्यायो । निभ्न दिनु हुँदैन बँचाऊ बाबु जसरी पनि बँचाऊ आमाको आदेश थियो । हरिशले दुवै हातले छोपेर दियो निभ्न दिएन । पाँच मिनेट जति पछि आमाले भन्नु भयो ल दियो लिएर भित्र हिँड ।
भित्र पुगेर दियो राखेर हरिशले भन्यो । आमा मेरो दुवै हातमा पोलेछ दुख्यो । आमाले भन्नु भयो हो यही कुरा तिमीलाई बुझाउन खोजेकी । जसलाई तिमी बचाउन खोज्छौ त्यसले पोल्न सक्छ । त्यो पोलाई बिर्सेर बँचाउन सकेकोमा सन्तुष्ट हुनु पर्छ ।
तिमीलाई पोलेको छ दुखेको छ तर तिमी दियोलाई त बँचायौ नि हो त्यो रमनेलाई गरेको सहयोग पनि त्यस्तै हो । रमनेको छोरालाई बँचाउन अझै केही सहयोग गर्नु पर्छ भने पनि गर र उसलाई बचाउन सकेकोमा खुसी बन । अनि आमाको कुराले सायद हरिशको आँखा खुल्यो र हरिशको चेहरामा उज्यालो छायो ।