कुण्ठाग्रस्त नेपाली आप्रवासीहरू
लेखनाथ गौतम
सन् १५६५ मा युरोपियन आप्रवासीहरूको फ्लोरिडामा सेटलमेन्ट सुरु गरी पछि सुरु भएको अमेरिका बसाइ सर्नेहरूको लर्को घटेको छैन, झन्झन् बढेको बढ्यै छ। सन् १६२० देखि १६८० सम्मको अवधिमा युरोपबाट ठुलो सङ्ख्यामा आप्रवासी अमेरिका आए जसलाई “द फस्ट ग्रेट माइग्रेसन” भनिन्छ।
जति बेला करिब एक करोड आप्रवासी अमेरिका प्रवेश गरेका थिए। सन् १६१९ मा पहिलो पल्ट अफ्रिकाबाट २० जना अफ्रिकीहरूलाई दासको रूपमा अमेरिका ल्याइयो जुन क्रम सन् १८०७ मा दासको रूपमा अफ्रिकाबाट मान्छे ल्याउने कामलाई कांग्रेसले गैर कानुनी नबनाउन्जेल जारी रह्यो।
त्यसै गरी युरोप, अफ्रिका, एसिया र साउथ अमेरिकाबाट विभिन्न जातीय र धार्मिक युद्धले अमेरिका आउने क्रम बढ्दै गयो। अमेरिका संलग्न भएका युद्धहरूको समयमा बाहेक अन्य बेलामा यो क्रम रोकिएन। अमेरिकी प्रजातन्त्र, धार्मिक र आर्थिक स्वतन्त्रता, अवसरको व्यापकता प्राय सबै देशबाट अमेरिका आउनेहरूको लागि आकर्षणको कारण बन्यो। कम्युनिस्ट शासन भएका मुलुक देखि तानासाह भएका मुलुक मात्र होइन राम्रो प्रजातान्त्रिक व्यवस्था भएका देशहरूबाट पनि मानिसहरू अमेरिका सरे, अहिले पनि सरिरहेका छन्।
अमेरिकामा नेपाली आप्रवासीहरूको आगमन
विक्रम सम्वत् २०४६ साल अघि नेपालमा पञ्चायती शासन थियो। प्रत्यक्ष राजाको शासन हुनाले नेपाल बाहिरी विश्वबाट करिब अलग जस्तै थियो। पासपोर्ट सबैलाई सुलभ थिएन। राज खानदान, नेता र ठुला कर्मचारी वा पहुँचवालाहरूको लागि मात्र भारत बाहिरको देश जाने सुविधा थियो।
अमेरिकी दूतावासका अनुसार जनरल कृष्ण राणा जो सन् १९३९ मा लन्डनको भ्रमण गरेर नेपाल फर्किने क्रममा अमेरिकाको भ्रमण गरेका थिए। त्यस पछि पनि करिब ५० वर्ष अमेरिका आउने नेपालीहरूको संख्या निकै कम थियो। २०४६ को प्रजातान्त्रिक आन्दोलनले खुल्ला समाज निर्माण भए पछि मात्र अमेरिकामा नेपालीहरूको घनत्व बढ्दै गयो।
नेपाली बिदेसिने क्रम विक्रम सम्वत् २०४६ पछि बढ्न थाले पनि २०५२ सालबाट नेपालमा सुरु गरिएको कथित माओवादी विद्रोहले तीव्रता प्राप्त गर्यो। गाउँ घरमा बस्न नसकेका टाँठाबाठाहरु सहर पसे र शहरमा टिक्न नसके पछि बिदेसिने क्रम तीव्र बन्यो। पृथ्वीको पल्लो भागमा रहेको अमेरिका पुग्ने सपना भने सन् २००० पछि मात्र तीव्र रूपमा बढ्यो। डिभी चिट्ठाको माध्यमबाट धेरै नेपालीहरू अमेरिका प्रवेश गर्ने अवसर प्राप्त गरे। आम मान्छेलाई पनि अमेरिकी ढोका खोलिदियो। डिभी मार्फत मात्र अहिले सम्म हजारौँ नेपाली अमेरिका आइसकेका छन्।
त्यसपछि पढ्नको लागि अमेरिका आउने नेपालीहरू बढ्न थाले। अमेरिकामा पढ्दै काम पनि गर्न पाइने र यतै सेटल हुन सजिलो आप्रवासी कानुनका कारण नेपाली विद्यार्थीहरूको लागि पनि अमेरिका आकर्षक गन्तव्य बन्यो। अहिले पनि हजारौँ नेपाली विद्यार्थी प्रत्येक वर्ष अमेरिका प्रवेश गर्छन्। नेपाली दूतावास काठमाडौँका अनुसार आर्थिक वर्ष २०२२/२३ मा मात्र १५ हजार भन्दा बढी नेपाली विद्यार्थीहरू अमेरिका आएका थिए।
कानुनी रूपमा विभिन्न तरिकाले अमेरिका आउने क्रमसँगै गैर कानुनी रूपमा अमेरिका प्रवेश गर्नेहरू बढ्न थाल्यो। विशेष गरी मेक्सिकोबाट टेक्सस, एरिजोना र क्यालिफोर्निया हुँदै अमेरिका प्रवेश गराउने मानव तस्करहरूको सञ्जालमा नेपालीहरू प्रवेश गरे पछि ठुलो सङ्ख्यामा नेपालीहरू अमेरिका प्रवेश गरिसकेका छन् र त्यो क्रम अझै जारी छ।
नेपालका रुकुम लगायतका गाउँहरू रित्तिएर अमेरिका आएका समाचारहरू प्रसारित भइरहेका छन्। कठिन बन्दै गएको अमेरिकी सपनाको बाबजुद पनि करोड रुपैयाँ सम्म तिरेर गैर कानुनी रूपमा अमेरिका प्रवेश रोकिएको छैन। सन् १९८६ पछि कुनै आप्रवासी कानुन नबनेको अमेरिकामा दरिलो कानुन नबनेसम्म यो क्रम रोकिने अवस्था छैन।
कुण्ठाग्रस्त नेपाली आप्रवासीहरू
अमेरिकामा नेपालीहरूको वृद्धि र यहाँ धेरै नेपालीहरूले उन्नति र प्रगति गर्दै स्थापित हुने क्रमसँगै कुण्ठाग्रस्त व्यक्तिहरूको संख्या पनि बढ्दै गएको छ। नेपालबाट आफै अवसरको खोजीमा कानुनी, गैर कानुनी वा हरेक तिकडम गरेर अमेरिका आएका र बसेका नेपालीहरू नयाँ आउनेहरू प्रति अनुदार बन्दै गएका छन्। आफू आउँदा अमेरिकालाई योगदान दिएको अर्थ लगाउने उनीहरू अरू आउँदा भने अमेरिकालाई बोझ भएको कुतर्क पेस गर्छन्। त्यही बोर्डर क्रस गरेर आएकाहरू समेत “डिजास्टर इन बोर्डर” भन्न लाज मान्दैनन्।
अमेरिकाले पक्कै सधैँ सीमा खुल्ला गर्न सक्दैन र हुँदैन। यसले आफ्नो सीमाको सुरक्षा र गैर कानुनी वा शरण माग्नेहरूको लागि समयानुकूल कानुन निर्माण गर्ने पर्छ। तर त्यसको लागि आउने, आउन चाहने वा आएका आप्रवासीहरूलाई “अपमानित” गर्न आवश्यक छैन। एउटा नेपालीले अर्को नेपाली अमेरिका आउँदा “आफ्नो भाग खोसेको” अनुभव गर्न जरुरी छैन। “म आइहालेँ, अब बोर्डर बन्द गर्नुपर्छ” भन्नु जायज होइन। हरेक वर्ष लाखौँको सङ्ख्यामा भारत र चीन जस्ता देशहरूबाट अमेरिका आइरहेको सन्दर्भमा नेपालबाट आउने दुई चार हजारमा आँखा लगाउन आवश्यक छैन।
पक्कै पनि यति बेला ठुलो रकम खर्च गरेर अमेरिका प्रवेश गर्नु मूर्खता हो। विशेष गरी करोड तिरेर सीमा नाघेर अमेरिका प्रवेश गरे पछिको चुनौतीको पहाड निकै ठुलो छ र यो नगर्नु नै श्रेयस्कर हुन्छ तर आउन चाहनेहरू माथि दुर्व्यवहार गर्नु वा उनीहरूलाई “अमानवियकरण” गर्नु गलत काम हो। आप्रवासीहरूले नै निर्माण गरेको अमेरिकामा प्रभावकारी कानुनद्वारा नियन्त्रण र नियमन गरेर समस्या समाधान नगर्ने तर आप्रवासीहरूलाई अपमानित गदै राजनीतिको रोटी सेक्नेहरूको पछि लाग्ने नेपालीहरूलाई दोहोरो चरित्र भएका किन नभन्ने ?