‘जेनेलको साहस प्रति मलाई गर्व छ’: प्याटी किम
हर्सी , पेन्सिल्भेनिया / पेन्सिल्भेनिया स्टेट सिनेटर प्याटी किमले नवनिर्वाचित कांग्रेसवोमन (संघीय सांसद) जेनेल स्टेल्सन प्रति आफुलाई गर्व रहेको बताएकी छिन् ।
मंगलवारको मतदान पछि हर्सीमा आयोजित वाच पार्टीलाई सम्बोधन गर्दै स्टेट सिनेटर किमले स्टेल्सनको प्रशंसा गर्दै निर्वाचन अभियानका क्रममा उनले सामना गरेका आक्रमण र चुनौतीको चर्चा गरिन्।
‘चारैतिरबाट आक्रमण भए पनि उनले देखाएको साहसप्रति मलाई गर्व छ।’ किमले भनीन ।
कंग्रेसनल डिस्ट्रिक्ट १० बाट डेमोक्रेटिक उम्मेदवार जेनेल स्टेल्सन विजयी भएकी हुन् । स्टेल्सनले वहालवाला कांग्रेसम्यान स्कट पेरीलाई हराएकी हुन् ।
किमका अनुसार जेनेलले चुनावी अभियानमा विभिन्न दिशाबाट आलोचना र व्यक्तिगत आक्रमण सामना गर्नुपरेको थियो। तर उनले प्रतिवाद गर्दै आफ्ना एजेन्डा र कामलाई प्राथमिकतामा राखिन्।
किमले स्टेल्सनको एउटा अभिव्यक्ति स्मरण गर्दै भनिन्, ‘यदि म १४ वर्षदेखि कंग्रेसमा भएको भए मैले के–के काम गरेँ भनेर तपाईंहरूलाई बताइरहेकी हुन्थेँ। तर मेरो प्रतिस्पर्धी भने मेरो कामको कुरा गर्नुको सट्टा मलाई आक्रमण गरिरहेका छन्।’
किमले आफ्नो मोबाइलमा स्टेल्सनको फोन नम्बर रहेको उल्लेख गर्दै यसअघि आफूले आफ्नो क्षेत्रको कंग्रेस सदस्यसँग समेत यस्तो व्यक्तिगत सम्पर्क नराखेको बताइन्। स्टेल्सनसँगको सम्बन्ध र आगामी सहकार्यप्रति खुसी व्यक्त गर्दै उनले स्थानीय काउन्टीहरूका लागि संघीय स्रोत र बजेट ल्याउन मिलेर काम गर्ने बताइन्।
‘हामी जेनेल स्टेल्सनसँग हातेमालो गरेर काम गर्नेछौँ। हाम्रा काउन्टीहरूका लागि स्रोत र बजेट ल्याउन उहाँले सहयोग गर्नुहुनेछ,’ किमले भनिन्।
उनले निर्वाचन अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै स्टेल्सनलाई भावी कंग्रेस सदस्यका रूपमा स्वागत गरिन्।
१३ वर्षपछि स्कट पेरीको संसदीय यात्रा टुंगियो
स्टेल्सनले रिपब्लिकन उम्मेदवार तथा निवर्तमान सांसद स्कट पेरीलाई पराजित गरेकी हुन्। पेरी सन् २०१३ देखि अमेरिकी प्रतिनिधिसभामा निर्वाचित हुँदै आएका थिए। सुरुमा चौथो कंग्रेसनल डिस्ट्रिक्टबाट प्रतिनिधित्व गरेका उनी निर्वाचन क्षेत्र पुनर्संरचनापछि दशौँ जिल्लाबाट निर्वाचित हुँदै आएका थिए। यसपटकको पराजयसँगै उनको १३ वर्ष लामो संसदीय यात्रा समाप्त भएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी मानिने पेरीलाई यसपटक स्टेल्सनले फराकिलो मतान्तरले पराजित गरेकी हुन्। सन् २०२४ को निर्वाचनमा स्टेल्सन पेरीसँग करिब १.२ प्रतिशत अंकको अन्तरले पराजित भएकी थिइन्। तर यसपटकको निर्वाचनमा उनले उल्लेख्य मतान्तरले जित हासिल गरिन्।
पूर्व टेलिभिजन समाचार प्रस्तोता स्टेल्सनले यसपटक स्वास्थ्य सेवा, मध्यमवर्गीय परिवारका लागि कर सहुलियत र वासिङ्टनको राजनीतिक भ्रष्टाचार नियन्त्रणलगायतका विषयलाई चुनावी एजेन्डा बनाएकी थिइन्। पेरीले भने कर कटौती, सरकारी नियमन घटाउने र सामाजिक सुरक्षा तथा मेडिकेयरको संरक्षणलाई प्राथमिकतामा राखेका थिए।
संसद्मा शक्ति सन्तुलन परिवर्तन
अमेरिकाभर भएको मध्यावधि निर्वाचनले संघीय संसद्को शक्ति सन्तुलनमा पनि परिवर्तन ल्याएको छ। प्रतिनिधिसभाका सबै ४३५ सिट र सिनेटका ३५ सिटका लागि भएको निर्वाचनमा डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभामा बहुमत हासिल गरेको छ। सिनेटको नतिजाले पनि राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण प्रभाव पार्ने देखिएको छ।
मध्यावधि निर्वाचनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको राजनीतिक मूल्यांकनका रूपमा समेत हेरिएको छ। संसद्मा बहुमत गुमाएपछि ट्रम्प प्रशासनलाई आगामी दुई वर्ष विधेयक पारित गराउन र आफ्नो नीतिगत कार्यक्रम अघि बढाउन थप राजनीतिक चुनौती सामना गर्नुपर्नेछ।



















