सवारी साधनको नम्बर प्लेटको सूचना मात्रै पक्राउको आधार होइन : ह्यारिसबर्ग प्रहरी
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्गको प्रहरी विभागले सवारीसाधनका लाइसेन्स प्लेट पढ्ने स्वचालित प्रविधि (एएलपीआर) को प्रयोगबारे स्पष्ट पारेको छ। विभागले आफ्नो प्रणालीमा फ्लक नभई भीआईपीआर कम्पनीको प्रविधि प्रयोग भइरहेको जनाएको छ।
ह्यारिसबर्ग ब्युरो अफ पुलिसले सोमबार जारी गरेको वक्तव्यमा प्रविधिको प्रयोग, त्यसबाट संकलन हुने विवरण र दुरुपयोग रोक्न अपनाइएका सुरक्षा उपायबारे सार्वजनिक जानकारी दिएको हो।
विभागका अनुसार एएलपीआर प्रणालीले सडकमा गुडिरहेका सवारीसाधनका लाइसेन्स प्लेटका तस्बिर खिच्छ। यसले तस्बिरसँगै मिति, समय र सवारीसाधनको आधारभूत विवरण पनि अभिलेख गर्छ।
तर, यो प्रणालीले प्रत्यक्ष भिडियो प्रसारण नगर्ने र सवारीभित्र रहेका व्यक्तिहरू वा सामानको पहिचान नगर्ने विभागले स्पष्ट पारेको छ।
प्रहरीले अपराधका संदिग्ध व्यक्तिहरूको खोजी, बालबालिका अपहरण तथा जोखिममा परेका व्यक्तिसम्बन्धी घटनाको अनुसन्धान, हराएका वा चोरी भएका सवारीसाधन फेला पार्न तथा अन्य वैध कानुनी अनुसन्धानमा एएलपीआर प्रयोग गर्ने जनाएको छ।
प्रविधिको सम्भावित दुरुपयोग रोक्न विभागले विभिन्न सुरक्षा व्यवस्था लागू गरेको जनाएको छ। प्रणालीमा कुनै सवारीसाधनको नम्बर प्लेटसँग सम्बन्धित सूचना देखिनु मात्रै पक्राउ गर्न वा कानुनी कारबाही अघि बढाउन पर्याप्त आधार नहुने विभागको भनाइ छ।
प्रहरी अधिकारीले कारबाही अघि बढाउनुअघि सम्बन्धित कानुनी डेटाबेसमार्फत उक्त सूचना स्वतन्त्र रूपमा प्रमाणीकरण गर्नुपर्ने व्यवस्था रहेको वक्तव्यमा उल्लेख छ।
त्यस्तै, प्रणालीमा गरिने प्रत्येक खोजको अभिलेख राखिने र प्रहरी अधिकारीले खोज गर्नुअघि सम्बन्धित प्रतिवेदन नम्बर तथा खोजको स्पष्ट कारण उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ। प्रणालीको दुरुपयोग गरेमा विभागीय अनुशासनात्मक कारबाहीसँगै सम्भावित आपराधिक कारबाहीसमेत हुन सक्ने विभागले जनाएको छ।
विभागका अनुसार एएलपीआर प्रणालीको प्रयोगमा अनियमितता भए–नभएको निगरानी गर्न तोकिएका अपराध विश्लेषकले प्रत्येक महिना अडिट गर्ने व्यवस्था छ।
पेन्सिल्भेनिया ल इन्फोर्समेन्ट एक्रिडिटेसन कमिसन (पीएलईएसी) बाट मान्यता प्राप्त प्रहरी निकायका रूपमा विभागले आपराधिक न्यायसम्बन्धी सूचनाको प्रयोगमा लागू हुने मान्यता र उत्कृष्ट अभ्यासहरू पालना गर्दै आएको जनाएको छ।
प्रहरी विभागले सार्वजनिक सुरक्षासँगै नागरिक स्वतन्त्रताको संरक्षण पनि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै आफ्नो प्रविधि प्रयोगसम्बन्धी अभ्यासबारे समुदायलाई पारदर्शी जानकारी दिने उद्देश्यले वक्तव्य जारी गरेको जनाएको छ।
















