अमेरिकामा स्टेट सांसदको तलब वार्षिक तलब कति ?
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / अमेरिकामा मध्यावधि चुनाव नोभेम्बर ३ तारिखमा हुँदै छन् । अमेरिकाको मूलधारको राजनीतिमा नेपालीमूलका अमेरिकीहरूको आकर्षण बढ्दै गएको छ।
सन् २०१८ मा मेरील्यान्डबाट ह्यारी भण्डारी हाउस अफ रिप्रेजेन्टेटिभ्सका डेलिगेट्समा निर्वाचित भएपछि सुरु भएको प्रतिनिधित्वको यात्रामा अहिले थप नेपालीमूलका व्यक्तिहरू अघि बढिरहेका छन्।
यस पटक तीन राज्यको हाउस अफ रिप्रेजेन्टेटिभ्सका लागि चार जना नेपालीमुलका उम्मेदवार प्रतिस्पर्धामा छन्।
मेरील्यान्डबाट डा. ह्यारी भण्डारी र सतीश चापागाईँ, न्यु योर्कबाट सराहना श्रेष्ठ तथा न्यु ह्याम्पसायरबाट विश्वबहादुर शाह चुनावी मैदानमा छन्।
राज्य व्यवस्थापिकामा निर्वाचित भएपछि सांसदले कति तलब पाउँछन्? उनीहरूको काम पूर्णकालीन हुन्छ कि आंशिक? र राज्यअनुसार पारिश्रमिकमा किन यति ठूलो अन्तर छ ।
अमेरिकाका राज्य सांसदको पारिश्रमिक हेर्दा कतै वार्षिक एक सय डलर मात्रै छ भने कतै वार्षिक १ लाख ४२ हजार डलर पुग्छ।
राष्ट्रिय राज्य व्यवस्थापिका सम्मेलन (एनसीएसएल) का अनुसार सन् २०२५ मा न्यु ह्याम्पसायरका सांसदको वार्षिक आधारभूत पारिश्रमिक एक सय डलर थियो भने न्यु योर्कका सांसदको वार्षिक तलब १ लाख ४२ हजार डलर थियो।
न्यु ह्याम्पसायरमा दुई वर्षको दुई सय डलर
विश्वबहादुर शाह चुनाव लडिरहेको न्यु ह्याम्पसायरमा राज्यको हाउस अफ रिप्रेजेन्टेटिभ्सका सदस्यले दुई वर्षको कार्यकालमा जम्मा दुई डलर पारिश्रमिक पाउँछन्।
यो व्यवस्था सन् १८८९ देखि कायम छ। सांसदले नियमानुसार यात्रा खर्च पनि पाउन सक्छन्।
न्यु ह्याम्पसायरमा चार सय सदस्यीय हाउस अफ रिप्रेजेन्टेटिभ्स र २४ सदस्यीय सिनेट गरी राज्य व्यवस्थापिकामा ४ सय २४ सदस्य छन्।
“यहाँ त तलब पनि साह्रै थोरै हुन्छ। न्यु ह्याम्पसायरमा तलब नै हुँदैन भन्दा पनि हुन्छ, स्वयंसेवकजस्तै हो। दुई वर्षको २०० डलर हो।” शाहले भने।
उनले राज्यअनुसार पेन्सन र स्वास्थ्य सुविधामा पनि भिन्नता रहेको उल्लेख गरे। “यो वर्षदेखि स्वास्थ्य सेवाका लागि केही व्यवस्था गर्ने कुरा राखेको छ भन्ने सुनेको छु,” उनले भने।
न्यु योर्कमा वार्षिक १ लाख ४२ हजार डलर
न्यु ह्याम्पसायरका राज्यका संसदले वार्षिक एक सय डलर तलब पाउँदा न्यु योर्कमा राज्य व्यवस्थापिकाका सदस्यले वार्षिक १ लाख ४२ हजार डलर आधारभूत तलब पाउँछन्। यो व्यवस्था सन् २०२३ जनवरी १ देखि लागू भएको हो। योग्य अवस्थामा उनीहरूले यात्रा खर्च र दैनिक भत्तासमेत पाउन सक्छन्।
न्यु योर्कको उच्च तलबले राज्य व्यवस्थापिकाको कामलाई पूर्णकालीन राजनीतिक जिम्मेवारीका रूपमा सञ्चालन गर्ने संरचनालाई पनि प्रतिबिम्बित गर्छ।
मेरील्यान्डमा वार्षिक ५६ हजार ६३६ डलर
मेरील्यान्डमा राज्य व्यवस्थापिकाका सदस्यको सन् २०२६ को वार्षिक तलब ५६ हजार ६३६ डलर छ। राज्यको जनरल एसेम्ब्ली कम्पेन्सेसन कमिसनले निर्धारण गरेको यो रकम आधारभूत तलब हो।
मेरील्यान्डका सांसदले तलबबाहेक कार्यालय सञ्चालन, कर्मचारी र अन्य विधायिकी कामका लागि छुट्टै बजेट तथा सुविधाहरू पाउन सक्छन्। तर ती रकम व्यक्तिगत तलब होइनन्। कार्यालय खर्च वा छात्रवृत्तिका लागि छुट्याइएको रकमलाई सांसदको व्यक्तिगत आम्दानीसँग जोडेर हिसाब गर्नु उपयुक्त हुँदैन।
मेरील्यान्डमा तलबसँगै पेन्सन र कार्यालय खर्चको व्यवस्था
मेरील्यान्डमा राज्यका डेलिगेट र सिनेटरले तलबबाहेक पेन्सनको व्यवस्था पनि छ। उनीहरू राज्यको लेजिस्लेटिभ पेन्सन प्लानमा सहभागी हुन्छन्।
आठ वर्ष सेवा गरेपछि पेन्सन योजनामा अधिकार सुनिश्चित हुन्छ। पूर्ण सेवा निवृत्तिभरण पाउने उमेर भने सेवासम्बन्धी नियममा निर्भर हुन्छ; सन् २०१५ जनवरी १४ पछि मात्र सेवा अवधि गणना भएका सदस्यका लागि सामान्यतः ६२ वर्षको उमेरमा पूर्ण सेवा निवृत्तिभरणको व्यवस्था छ।
त्यस्तै, सांसदको कार्यालय सञ्चालन र कर्मचारी व्यवस्थापनका लागि छुट्टै बजेटको व्यवस्था हुन्छ। उपलब्ध विवरणअनुसार डेलिगेटका लागि करिब ८३ हजार डलर कार्यालय तथा कर्मचारी खर्च र ५० हजार डलर विद्यार्थी छात्रवृत्तिका लागि छुट्याइएको बताइएको छ।
यी रकम सांसदको व्यक्तिगत तलब होइनन्; सम्बन्धित कार्यालय तथा छात्रवृत्ति प्रयोजनका लागि छुट्याइएको बजेट हुन्।
र यो पनि …
अमेरिकी निर्वाचनमा चार नेपालीमूलका उम्मेदवारको परीक्षा, सम्भावना कस्तो छ?
















