पेन्सिल्भेनियाका स्कूलमा मोबाइल प्रतिबन्ध, गभर्नर शापिरोले गरे हस्ताक्षर
बक्स काउन्टी, पेन्सिल्भेनिया / अमेरिकाको पेन्सिल्भेनिया राज्यका स्कूलहरुमा अब मोबाइल फोन प्रयोग गर्न नपाइने भएको छ ।
गभर्नर जोस शापिरोले विद्यालय समयमा विद्यार्थीले मोबाइल फोन तथा अन्य मोबाइल उपकरण प्रयोग गर्न नपाउने व्यवस्था गर्ने विधेयकमा सोमबार हस्ताक्षर गरेका छन्।
बक्स काउन्टीको डोयल्सटाउनस्थित लेनाप मिडल स्कुलमा आयोजित कार्यक्रममा उनले सिनेट बिल १०१४ मा हस्ताक्षर गर्दै विधेयकलाई कानुन बनाएका हुन्।
नयाँ कानुनअनुसार पेन्सिल्भेनियाका विद्यालयहरूले नियमित विद्यालय समयभर मोबाइल फोन प्रयोग गर्न नपाउने व्यवस्था लागू गर्नुपर्नेछ।
यो प्रतिबन्ध कक्षाकोठामा मात्र सीमित हुने छैन। विद्यालय परिसरमा खाजा खाने समय, एउटा कक्षाबाट अर्को कक्षामा जाँदा तथा ब्रेकको समयमा पनि मोबाइल फोन प्रयोग गर्न पाइने छैन।
यो व्यवस्था सन् २०२७–२८ को शैक्षिक सत्रदेखि लागू हुनेछ। कानुन कार्यान्वयनका लागि विद्यालय जिल्ला तथा सम्बन्धित विद्यालयहरूले आफ्नै नीति र कार्ययोजना तयार गर्नुपर्नेछ।
नयाँ कानुन सार्वजनिक विद्यालयमा मात्र सीमित छैन। सार्वजनिक, निजी, चार्टर र साइबर विद्यालयले समेत मोबाइल प्रतिबन्ध कार्यान्वयन गर्ने योजना बनाउनुपर्नेछ।
केही विद्यार्थीलाई मोबाइल प्रयोग गर्न छुट
कानुनले सबै विद्यार्थीका लागि कुनै अपवादबिनाको प्रतिबन्ध लगाएको छैन। विशेष आवश्यकता भएका विद्यार्थीको अवस्था र विद्यालयका निश्चित गतिविधिलाई ध्यानमा राखेर छुटको व्यवस्था गरिएको छ।
कुनै रोग वा स्वास्थ्य अवस्थाका कारण मोबाइल फोन वा अन्य उपकरण प्रयोग गर्नुपर्ने विद्यार्थीलाई छुट दिइनेछ। व्यक्तिगत शैक्षिक योजना (आईईपी) मा कुनै उपकरण प्रयोग गर्नुपर्ने व्यवस्था भएका विद्यार्थीले आवश्यकताअनुसार प्रयोग गर्न पाउनेछन्।
अङ्ग्रेजी भाषा सिकिरहेका विद्यार्थीलाई अनुवादका लागि मोबाइल फोन आवश्यक पर्नेलाई छुट दिन सकिनेछ। उस्तै फिल्ड डे, विज्ञान मेला जस्ता निश्चित अवसरमा मोबाइल प्रयोग गर्न अनुमति दिन सकिनेछ।
मोबाइलले पढाइमा अवरोध पुर्याएको गभर्नरको भनाइ
विधेयकमा हस्ताक्षर गर्ने कार्यक्रममा गभर्नर शापिरोले शिक्षक तथा विद्यार्थीबाट विद्यालयमा मोबाइल फोनको प्रयोगले पढाइमा पारेको प्रभावबारे आफूले धेरै गुनासा सुनेको बताए।
उनका अनुसार मोबाइल फोनमा रहेका लत लाग्न सक्ने प्रकृतिका एल्गोरिदमले विद्यार्थीलाई लामो समयसम्म स्क्रिनमा अल्झाइराख्न सक्छन्। यसले उनीहरूको ध्यान पढाइबाट हटाउने, साथीहरूसँग प्रत्यक्ष सम्बन्ध विकास गर्ने अवसर घटाउने र विद्यालयको सिकाइ प्रक्रियामा अवरोध पुर्याउने समस्या देखिएको छ।
शापिरोले प्रविधि शिक्षकहरूका लागि विद्यार्थीलाई सिकाउन उपयोगी साधन भए पनि मोबाइल फोन विद्यार्थीको ध्यान विचलित गर्ने ठूलो माध्यम बन्न सक्ने बताए। विद्यार्थीले फोनमा कम समय बिताएर पढाइ, साथीहरूसँगको प्रत्यक्ष संवाद र सामाजिक सीप विकासमा बढी ध्यान दिनुपर्ने उनको भनाइ थियो।
गभर्नरले गत फेब्रुअरीमा प्रस्तुत गरेको आफ्नो वार्षिक बजेट सम्बोधनका क्रममा पनि विद्यालयमा मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगाउने प्रस्ताव अघि सारेका थिए।
उनले आफ्ना दुई कान्छा सन्तान पनि अझै विद्यालयमै अध्ययनरत रहेको उल्लेख गर्दै उनीहरूलाई समेत नयाँ व्यवस्थाबारे आफूले जानकारी गराएको बताए। उनका अनुसार प्रतिबन्धको विषयमा घरमा छोराछोरीबाट असन्तुष्टि पनि सुन्नुपरेको थियो। तर, पछि उनीहरूले विद्यालयमा मोबाइल प्रयोग सीमित गर्दा पढाइ र विद्यालय जीवनमा सकारात्मक प्रभाव परेको अनुभव सुनाएको शापिरोले बताए।
मोबाइल प्रतिबन्धसम्बन्धी विधेयकको आलोचना गर्नेहरूले विद्यालयमा गोलीकाण्ड वा अन्य आकस्मिक घटना भएमा अभिभावकले आफ्ना छोराछोरीसँग तत्काल सम्पर्क कसरी गर्ने भन्ने प्रश्न उठाएका छन्।
विशेषगरी विद्यालयमा गोली चल्ने घटना भएमा विद्यार्थीले आफ्नो फोन प्रयोग गर्न नपाउँदा परिवारसँग सम्पर्क गर्न कठिन हुन सक्ने आलोचकहरूको चिन्ता छ।
यसको जवाफमा शापिरोले विद्यार्थीको हातमा मोबाइल फोन हुनु मात्रै विद्यालयलाई सुरक्षित बनाउने आधार नभएको बताए। विद्यालयहरूमा सुरक्षा योजना रहेको उल्लेख गर्दै उनले विद्यालय सुरक्षाको विषयलाई मोबाइल फोनको उपलब्धतासँग मात्र जोडेर हेर्न नहुने धारणा राखे।
उनले विद्यालय तथा सार्वजनिक सुरक्षाका लागि बन्दुकसम्बन्धी व्यापक कानुनी सुधार आवश्यक रहेको पनि बताए।
सिनेट बिल १०१४ लाई पेन्सिल्भेनियाको राज्य सिनेटले अक्टोबर २२ मा पारित गरेको थियो। त्यसअघि राज्यको प्रतिनिधिसभाले पनि विधेयक पारित गरेको थियो।
उपलब्ध विवरणअनुसार राज्य सिनेटमा विधेयकको पक्षमा ४७ मत र विपक्षमा तीन मत परेको थियो। प्रतिनिधिसभामा भने १४१ मत पक्षमा र ६२ मत विपक्षमा परेको थियो। दुवै सदनबाट पारित भएपछि विधेयक गभर्नरसमक्ष पुगेको थियो।
पेन्सिल्भेनिया स्टेट एजुकेसन एसोसिएसनले नयाँ कानुनको समर्थन गरेको छ। संस्थाका अध्यक्ष आरोन चापिनले विद्यालय समयमा मोबाइल फोन तथा अन्य उपकरणका कारण हुने अवरोध घटाउन विधेयकले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
उनका अनुसार मोबाइल फोनको प्रयोग सीमित गर्दा विद्यार्थीको व्यवहार, शैक्षिक उपलब्धि र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्ने अपेक्षा गरिएको छ। यसले शिक्षकलाई पढाइमा ध्यान केन्द्रित गर्न र कक्षाकोठाको सिकाइ प्रक्रिया व्यवस्थित बनाउन सहयोग पुग्ने संस्थाको धारणा छ।
















