न्यु जर्सी नेपाली समाजद्वारा भोटेकोशी बाढीपीडितका लागि करिब ८५ लाख रुपैयाँ सहयोग
५४ हजार ९९८ अमेरिकी डलर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा
न्यु जर्सी, अमेरिका / नेपालको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा उद्धारका लागि न्यु जर्सी नेपाली समाजले करिब ८५ लाख रुपैयाँ सहयोग गरेको छ।
समाजले सञ्चालन गरेको राहत सङ्कलन अभियानबाट जुटेको कुल ५४ हजार ९९८ अमेरिकी डलर ४५ सेन्ट अर्थात् करिब ८५ लाख नेपाली रुपैयाँ नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
सोही रकम बराबरको डमी चेक अक्टोबर ८, २०२६ मा आयोजित कार्यक्रममा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत दधिराम भण्डारी र प्रतिनिधिसभा सदस्य लीमा अधिकारीलाई हस्तान्तरण गरिएको थियो।
न्यु जर्सी नेपाली समाजका अध्यक्ष कल्याण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा महावाणिज्यदूत भण्डारी प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य अधिकारी विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा महावाणिज्यदूत भण्डारी र वाणिज्यदूत बुद्धराम थापासहित न्यु जर्सी एसियन अमेरिकन प्यासिफिक आइल्यान्डर (एएपीआई) कमिस्नर तथा जर्सी सिटी विमेन्स एडभाइजरी बोर्डकी सदस्य डा. विष्णुमाया परियारको उपस्थिति थियो।

त्यसैगरी, नेपाल जनसम्पर्क समिति अमेरिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठ, प्रवासी नेपाली सम्पर्क समितिका उपाध्यक्ष सम्मरबहादुर बुढाथोकी, न्युयोर्कका वरिष्ठ सीपीए तथा व्यवसायी पशुपति श्रेष्ठ, एनआरएनए एनसीसीका सदस्य सूर्य तिवारी, आर्क फर नेपालका अध्यक्ष राजेन्द्र श्रेष्ठ, युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसनका प्रवक्ता प्रदीप परियार थापा र एनआरएनए न्यु जर्सी च्याप्टरका अध्यक्ष कृष्ण अधिकारी सहभागी थिए।
कार्यक्रममा एनआरएनए न्यु जर्सी च्याप्टरका पूर्वअध्यक्ष भक्त गुरुङ, एनआरएनए एनसीसीका सल्लाहकार तथा युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसनकी उपाध्यक्ष रेणु शर्मा सापकोटा, प्रवासी नेपाली सम्पर्क समिति न्यु जर्सी च्याप्टरका अध्यक्ष रणजित कार्की र विमेन फर कज न्यु जर्सी च्याप्टरकी अध्यक्ष करुणा शर्मालगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।
कार्यक्रममा न्यु जर्सी नेपाली समाजका उपाध्यक्ष कृष्ण लामिछानेले स्वागत मन्तव्य राखेका थिए भने समाजका सहसचिव कुमार जंग कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए।

भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालित अभियानमार्फत सङ्कलित रकम नेपाल सरकारको राहत कोषमा जम्मा गरी डमी चेक हस्तान्तरण गरिएको समाजले जनाएको छ।
तस्बिर : संस्थाका सह-कोषाध्यक्ष सुरज गुरुङ

















