पेन्सिल्भेनिया ल्यानक्यास्टर निवासी आकाश केसीको शब्दमा ‘भुरा माछा’ सार्वजनिक
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / अमेरिकाको व्यस्त व्यावसायिक जीवनसँगै नेपाली गीत–सङ्गीतमा निरन्तर शब्दको सुगन्ध छरिरहेका गीतकार आकाश केसीद्वारा लिखित नयाँ गीत ‘भुरा माछा’ सार्वजनिक भएको छ।
ओएसआर डिजिटल शुक्रवार सार्वजनिक गीतमा रामकृष्ण ढकाल र अञ्जु पन्तको स्वर रहेको छ । गीतले सार्वजनिक भएको १६ घण्टामै ५० हजारभन्दा बढी भ्युज प्राप्त गरेको छ।
झन्डै दुई दशकदेखि अमेरिकामा व्यवसाय गर्दै आएका पेन्सिल्भेनियाको ल्यानक्यास्टर निवासी केसीले प्रवासको व्यस्त जीवनबिच पनि नेपाली गीत–सङ्गीतलाई अर्थपूर्ण शब्द र भावनात्मक अभिव्यक्ति दिँदै आएका छन्।
केसीका शब्दमा यस अगाडि दुई दर्जन बढी गीत रेकर्ड भइसकेका छन् । उनका शब्दमा प्रेम, वियोग, सम्झना र सम्बन्धका संवेदना भेटिन्छन्।
‘भुरा माछा’ तीन वर्षअघि ल्यानक्यास्टरमै लेखिएको गीत हो। गायक रामकृष्ण ढकालले अलि नाच्न मिल्ने गीत लेख्न आग्रह गरेपछि आफूले गीत तयार पारेको केसी बताउँछन्।
‘घरमै थिएँ। लेख्न थालेँ। तयार पार्न एक हप्ता लाग्यो,’ केसीले समाज टाइम्ससँग भने।
रानी फिल्म्सको प्रस्तुतिमा सार्वजनिक भएको गीतमा दीपक शर्माको सङ्गीत, रिकीश गुरुङको सङ्गीत संयोजन तथा श्याम श्वेत रसाइलीको मिक्सिङ र मास्टरिङ रहेको छ।
गीतको भिडियोमा रोशन विश्वकर्मा, रिमा गुरुङ र प्रसन्न राईले अभिनय गरेका छन्। भिडियोको निर्देशन तथा कोरियोग्राफी रोशन विश्वकर्माले गरेका हुन्।
विद्यालयमा कविता
भोजपुरमा जन्मिएका र भक्तपुरको सूर्य विनायकमा हुर्किएका केसीले विद्यालय पढ्दादेखि नै कविता लेख्न थालेका थिए। विद्यालयका प्रतियोगितामा सहभागी भएर एक–दुई पटक पुरस्कारसमेत जितेको उनी सम्झन्छन्। व्यावसायिक रूपमा भने उनले सन् १९९८ देखि गीत लेख्न थालेका हुन्।
‘स्कुलमा कविता लेख्थेँ। प्रतियोगितामा भाग लिएँ, एक–दुई पटक जितेँ पनि,’ विगत सम्झँदै उनले भने, ‘लेख्दालेख्दै साहित्यमा रुचि बढ्यो। गीत सुन्दा आफूले पनि लेख्न सक्छु होला भन्ने लागेर लेख्न थालेँ।’
गीत लेख्नका लागि निश्चित समय नहुने केसीको अनुभव छ। कहिले बिहान ब्युँझँदा मनमा हरफहरू आउँछन्, कहिले गाडी चलाउँदा त कहिले साथीभाइसँगको भेटघाटमा गीतका शब्द फुर्छन्।
‘फुर्सदको बेलामा लेख्छु। यही लेख्छु भन्ने हुँदैन। गर्दै जाँदा बन्ने हो,’ उनले भने।
सम्झे पनि दुख्छ छाती, बिर्से पनि दुख्छ छाती
केसीका शब्दमा रामकृष्ण ढकाल, आनन्द कार्की, यम बराल, रिमा गुरुङ, देवीका प्रधान, सपना श्री, स्वरूपराज आचार्य र सत्यराज आचार्यलगायतका गायक–गायिकाले स्वर दिएका छन्।
उनको पहिलो रेकर्डेड गीत ‘बिर्सिजाने मायालु’ हो, जसमा रामकृष्ण ढकालले स्वर दिएका थिए। गीतका शब्दमा रहेको भावनात्मक गहिराइ यसको आकर्षण हो।
‘सम्झे पनि दुख्छ छाती, बिर्से पनि दुख्छ छाती’ जस्ता शब्दले प्रेम र वियोगको द्वन्द्वलाई सरल तर मार्मिक ढङ्गले व्यक्त गर्छन्।
सम्झन खोज्दा पीडा हुने र बिर्सन खोज्दा पनि मनले छुटकारा नपाउने मानवीय अवस्थालाई शब्दमा उतार्नु नै गीतको विशेषता हो। केसीका रचनामा यस्तै अनुभूति र भावनात्मक अभिव्यक्ति भेटिन्छन्।
उनले लेखेका गीतमध्ये ‘वचन तोडे’ विशेष चर्चित छ। सन् २००३ मा रेकर्ड भएको उक्त गीतमा पनि रामकृष्ण ढकालकै स्वर छ।
‘वचन तोडे’लाई युट्युबमा सात मिलियनभन्दा बढी पटक हेरिएको छ। लामो समयअघि रेकर्ड भएको गीतले आजसम्म पनि श्रोताको ध्यान खिचिरहनु उनका लागि सिर्जनाको निरन्तरतासँग जोडिएको उपलब्धि हो।
प्रवासमा रहेर पनि नेपाली सङ्गीतसँगको सम्बन्ध
अमेरिकामा व्यवसाय सञ्चालन गर्नु र गीत लेखनलाई निरन्तरता दिनु केसीका जीवनका दुई पाटा हुन्। व्यावसायिक जिम्मेवारीबिच पनि नेपाली गीत–सङ्गीतप्रतिको लगावले उनलाई सिर्जनामा जोडिराखेको छ।
गीत लेखनलाई निश्चित समय र स्थानमा सीमित गर्न नसकिने उनको अनुभवले प्रवासमा रहेर पनि सिर्जनात्मक यात्रा अघि बढाउन सकिने देखाउँछ।
‘भुरा माछा’ सार्वजनिक भएसँगै केसी फेरि नेपाली सङ्गीतको चर्चामा आएका छन्।

















