ट्रम्प प्रशासनद्वारा मेरिल्यान्डमा जहाज निर्माण परियोजना
वासिङ्टन / राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले स्टिल उत्पादन, ऊर्जा, जहाज निर्माण तथा चिकित्सा सामग्री उत्पादनलगायतका क्षेत्रमा अर्बौँ डलरको लगानी अघि बढाएको जनाएको छ।
ह्वाइट हाउसका अनुसार यी परियोजनाबाट अमेरिकामा नयाँ रोजगारी सिर्जना हुने, घरेलु उत्पादन विस्तार हुने र देशको औद्योगिक तथा रक्षा क्षमता सुदृढ हुने अपेक्षा गरिएको छ।
ह्वाइट हाउसले बिहिबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्ला साताहरूमा स्टिल उद्योग, आणविक ऊर्जा, प्राकृतिक ग्यास, जहाज निर्माण, विद्युत् प्रसारण तथा औषधि र स्वास्थ्य सामग्री उत्पादनका क्षेत्रमा लगानीसम्बन्धी विभिन्न घोषणा भएका छन्।
मेरिल्यान्डमा जहाज निर्माण परियोजना
मेरिल्यान्डमा आर्सेनल–२ नामक जहाज निर्माण परियोजना अघि बढाउने घोषणा गरिएको छ । दोस्रो विश्वयुद्धयताकै सबैभन्दा ठूलो नयाँ अमेरिकी जहाज निर्माण विस्तारका रूपमा ह्वाइट हाउसले यसलाई प्रस्तुत गरेको छ।
परियोजनाले भर्जिनियामा महत्त्वपूर्ण पुर्जा तथा ठुला संरचना उत्पादन गर्नेछ। यसबाट करिब तीन हजार एक सय प्रत्यक्ष रोजगारी सिर्जना हुने र अप्रत्यक्ष रूपमा ११ हजारभन्दा बढी रोजगारीलाई सहयोग पुग्ने अनुमान छ।
एन्डुरिलले परियोजनामा ३ अर्ब ७० करोड डलर निजी पुँजी लगानी गर्नेछ भने अमेरिकी नौसेनाले २ अर्ब ९० करोड डलरसम्मको सहयोग उपलब्ध गराउने योजना रहेको ह्वाइट हाउसले जनाएको छ।
एन्डुरिल अमेरिकाको एउटा अत्याधुनिक रक्षा प्रविधि कम्पनी हो। यसले आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्स र सफ्टवेयरको प्रयोग गरेर आधुनिक सैन्य हतियार, ड्रोन र निगरानी प्रणालीहरू निर्माण गर्दछ।
आयोवामा १५ अर्ब डलरको स्टिल उद्योग
मेसाबी मेटालिक्सले आयोवामा १५ अर्ब डलरको स्टिल उत्पादन परिसर निर्माण गर्ने घोषणा गरेको ह्वाइट हाउसले जनाएको छ। उक्त परियोजनालाई अमेरिकामा निर्माण हुन लागेको सबैभन्दा ठूलो स्टिल उद्योगका रूपमा प्रस्तुत गरिएको छ।
अमेरिकी फलाम अयस्कमा आधारित यस परियोजनाबाट एक हजार ७५० स्थायी रोजगारी सिर्जना हुने र निर्माण चरणमा छ हजारसम्म रोजगारीलाई सहयोग पुग्ने अनुमान गरिएको छ।
परियोजनाले समग्रमा ९५ अर्ब डलर बराबरको आर्थिक उत्पादनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
दक्षिण कोरियाबाट दुई सय अर्ब डलरसम्मको ऊर्जा लगानी
ट्रम्पले अमेरिकामा दक्षिण कोरियासँग सम्बन्धित दुई सय अर्ब डलरसम्मको ऊर्जा लगानी प्याकेज सार्वजनिक गरेका छन्। यसमा आठवटा ठुला आणविक ऊर्जा केन्द्र निर्माणका लागि एक सय २० अर्ब डलरसम्म, अलास्का एलएनजी पाइपलाइनका लागि ५४ अर्ब डलर तथा टेक्सासमा छ गिगावाट क्षमताको प्राकृतिक ग्यास विद्युत् उत्पादन केन्द्रका लागि २२ अर्ब ३० करोड डलर समावेश रहेको ह्वाइट हाउसले जनाएको छ।
यसैबीच, उपराष्ट्रपति जेडी भान्सले अलास्कामा नयाँ विद्युत् प्रसारण लाइन निर्माण अघि बढाउन ऊर्जा विभागले १५ करोड डलर लगानी गर्ने घोषणा गरेका छन्।
उक्त परियोजना अन्तर्गत दक्षिणी तटीय क्षेत्रमा रहेको बेलुगा विद्युत् केन्द्रदेखि अलास्काको भित्री भूभागस्थित हिली क्षेत्रसम्म २२३ माइल लामो प्रसारण लाइन निर्माण गर्ने योजना छ।
यसले राज्यको जनसंख्याको करिब तीनचौथाइ हिस्सालाई सेवा दिने क्षेत्रसँग सम्बन्धित पूर्वाधारलाई जोड्ने अपेक्षा गरिएको छ।
स्वास्थ्य सामग्री र औषधि उत्पादनमा लगानी
स्वास्थ्य सामग्री उत्पादक कम्पनी बेक्टन डिकिन्सन (बीडी) ले ट्रम्प प्रशासनसँगको साझेदारीअन्तर्गत अमेरिकामा १९ अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ। यसमध्ये ३ अर्ब डलर अमेरिकी उत्पादन क्षमता विस्तारमा खर्च गरिने कम्पनीले जनाएको छ।
कम्पनीले अमेरिकामा बिक्री गर्ने सुई शतप्रतिशत अमेरिकी स्टिलबाट उत्पादन गर्ने तथा अत्यावश्यक स्वास्थ्य सामग्रीको घरेलु उत्पादन बढाउने योजना बनाएको छ।
त्यस्तै, औषधि कम्पनी एस्ट्राजेनेकाले म्यासाचुसेट्समा एक अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ। यो लगानी ट्रम्प प्रशासनसँग कम्पनीले गरेको ५० अर्ब डलरको लगानी प्रतिबद्धताअन्तर्गत रहेको ह्वाइट हाउसले जनाएको छ।
कम्पनीले अमेरिकामा अनुसन्धान तथा विकास केन्द्र र उत्पादनसम्बन्धी गतिविधि विस्तार गर्नुका साथै घरेलु जनशक्ति वृद्धि गर्ने योजना बनाएको छ।
ह्वाइट हाउसका अनुसार यी परियोजनाहरू अमेरिकी उत्पादन क्षमता विस्तार, औद्योगिक आपूर्ति शृङ्खलालाई देशभित्रै बलियो बनाउने र रोजगारी सिर्जना गर्ने प्रशासनको नीतिसँग सम्बन्धित छन्।
यद्यपि, घोषित लगानी र रोजगारीका अनुमानको वास्तविक उपलब्धि परियोजनाहरू कार्यान्वयन हुँदै जाँदा स्पष्ट हुनेछ।

















