अमेरिकामा यस वर्ष घटस्थापना तथा दशैँको टीका साइत
पं ज्यो. कमलनाथ सापकोटा
बाल्टिमोर मेरिल्याण्ड / विश्वभर छरिएर रहेका नेपालीहरूका लागि महान् चाड बडादशैँ को रौनक सुरु भइसकेको छ।
यसै सन्दर्भमा, नेपाली समय र स्थानीय सूर्योदयको समय भिन्न हुने भएकाले संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूका लागि यस वर्षको घटस्थापना तथा विजयादशमीको टीकाको शुभ साइत यस्तो छ ।
घटस्थापना र जमरा राख्ने साइत
यस वर्ष अमेरिकामा अक्टोबर ११ आइतबारका दिन घटस्थापना परेको छ। यस दिन घर-घरमा पूजा कोठा शुद्ध गरी जमरा राख्ने उत्तम समय बिहान १०:२३ देखि ११:४८ सम्म रहेको छ।
यसै शुभ साइत भित्र कलश स्थापना गरी भगवती दुर्गाको आराधना सुरु गर्न सकिनेछ।
दशैँ का मुख्य तिथिहरू
पञ्चाङ्ग गणना र स्थानीय समयअनुसार अमेरिकामा यस वर्षको दशैँका मुख्य दिनहरू यस प्रकार रहनेछन्:
फूलपाती : अक्टोबर १७ शनिवार
महाअष्टमी: अक्टोबर १८ आइतबार
महानवमी: अक्टोबर २० मंगलबार
विजयादशमी (दशैँको टीका): अक्टोबर २१ बुधबार
१९ तारिख सोमबार किन खाली?
अक्टोबर १७ मा फूलपाती, १८ मा महाअष्टमी र सिधै अक्टोबर २० मा महानवमी उल्लेख हुनु र बीचको दिन अर्थात् अक्टोबर १९ तारिख सोमबारको दिन खाली देखिनुमा पञ्चाङ्ग गणनाको विशेष प्राविधिक कारण रहेको छ।
ज्योतिषीय गणना अनुसार, अक्टोबर १९ सोमबारका दिन अष्टमी तिथि बिहान साढे सात बजेसम्म मात्र रहेको र सूर्योदयको समयमा नवमी तिथि स्थापित नभएकाले उक्त दिन दसैँको मुख्य सूचीमा खाली रहन गएको हो।
शास्त्र र पञ्चाङ्गको नियम अनुसार जुन दिन सूर्योदयको समयमा जुन तिथि रहन्छ, सामान्यतया सोही दिनको पर्व मान्य हुने परम्परा रहिआएको छ।
अक्टोबर १९ को सूर्योदयमा अष्टमी तिथि नै बाँकी रहेको र त्यो बिहानै सकिने तर नवमी तिथिले सूर्योदयलाई नभेट्ने भएकाले, उदय तिथिको सिद्धान्तका आधारमा महानवमी पर्व अक्टोबर २० (मंगलबार) का दिन सर्न पुगेको हो। यही शास्त्रीय नियम र प्राविधिक कारणवश अक्टोबर १९ सोमबारको दिन दसैँका मुख्य पाँच दिनहरूको सूचीमा खाली देखिन गएको पञ्चाङ्गकारले स्पष्ट पारेका छन्।
टीकाको उत्तम साइत र दिशा
विजयादशमी अर्थात् अक्टोबर २१ बुधबारका दिन मान्यजनको हातबाट प्रसाद, टीका र जमरा ग्रहण गर्ने उत्तम साइत बिहान १०:२३ देखि ११:४८ सम्म रहेको छ।
विशेष ध्यान दिनुपर्ने कुरा के छ भने, यस दिन चन्द्रमा पश्चिम दिशामा रहने भएकाले टीका थाप्ने व्यक्तिहरू पश्चिम मुख फर्केर बस्नु उत्तम र शास्त्रसम्मत हुनेछ।
यसरी विधिपूर्वक टीका र आशीर्वाद थाप्दा धार्मिक र आध्यात्मिक लाभ मिल्ने विश्वास गरिन्छ।
पं ज्यो. कमलनाथ सापकोटा
हिन्दुगुरु सापकोटा एलएलसी अमेरिका
फोन : + 1 4436520726

















