नेपाली कांग्रेस १५ औं महाधिवेशन : अमेरिकाबाट दुई जना केन्द्रिय सदस्यमा उम्मेदवार
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा अमेरिकाबाट दुई जनाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। कांग्रेसको १५ औ महाधिवेशन आइतवार देखि काठमाडौंमा शुरु हुदै छ ।
मेरिल्यान्ड निवासी रामजीवी पन्थले अमेरिका, क्यानाडा, अस्ट्रेलिया र न्युजिल्यान्ड क्षेत्रबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् भने रविना थापाले केन्द्रीय सदस्य (महिला) पदमा उम्मेदवारी घोषणा गरेकी छन्।
दुवै उम्मेदवार लामो समयदेखि प्रवासी नेपाली समुदाय र नेपाली कांग्रेससँग सम्बन्धित संगठनमा सक्रिय रहँदै आएका छन्।
पन्थले युरोप र अमेरिकामा नेपाली जनसम्पर्क समितिमार्फत काम गरेको अनुभवलाई उम्मेदवारीको आधार बनाएका छन् । थापाले गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्व, सामाजिक सेवा, महिला सशक्तीकरण र अन्तर्राष्ट्रिय नेपाली समुदायसँगको अनुभवलाई पार्टीको नीति निर्माण तहमा उपयोग गर्ने उद्देश्य राखेकी छन्।
नेपाली जनसम्पर्क समिति इटालीका संस्थापक पन्थ जर्मनीमा रहँदा नेपाली जनसम्पर्क समितिबाट नेपाली कांग्रेसको १४औँ महाधिवेशनका महासमिति सदस्य बनेका थिए। पछि अमेरिका सरेका उनी नेपाली जनसम्पर्क समिति अमेरिकाबाट १५औँ महाधिवेशनका प्रतिनिधि बनेका छन्।
उनले दोहोरो नागरिकताको अधिकार कार्यान्वयन, विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार, दोहोरो करसम्बन्धी समस्या समाधान र प्रवासी नेपालीका मुद्दालाई पार्टीको केन्द्रीय नीति निर्माण तहसम्म पुर्याउने विषयलाई आफ्नो उम्मेदवारीका प्रमुख एजेन्डा बनाएका छन्।
त्यसैगरी, विश्वभरका नेपाली जनसम्पर्क समितिलाई पार्टीसँग थप सशक्त रूपमा जोड्ने र वैदेशिक रोजगारीमा रहेका नेपालीले भोग्दै आएका श्रम, पारिश्रमिक, सुरक्षा तथा कानुनी समस्याको समाधानका लागि नीतिगत पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
‘प्रवासको अनुभव, प्रवासकै आवाज — कांग्रेसको नीति निर्माण तहसम्म’ पन्तले आफ्नो चुनावी नारा बनाएका छन्।
रविना थापा लामो समयदेखि गैरआवासीय नेपाली संघको अभियानमा सक्रिय रहँदै आएकी छन्। उनी एनआरएनएको नेतृत्वमा रहेर काम गर्ने क्रममा संघका तीन अध्यक्षमध्ये एकका रूपमा समेत जिम्मेवारीमा थिइन्। विश्वभरका नेपाली समुदायसँगको सहकार्य र संस्थागत नेतृत्वको अनुभवलाई उनले नेपाली कांग्रेसको केन्द्रीय तहमा पुर्याउने लक्ष्यसहित उम्मेदवारी घोषणा गरेकी हुन्।
थापाले आफ्नो उम्मेदवारीका प्राथमिकतामा लोकतन्त्र, समावेशिता, महिला तथा युवाको अर्थपूर्ण सहभागिता, प्रवासी नेपालीको हकहित, स्वदेशमा रोजगारी तथा उद्यमशीलता र आर्थिक विकासलाई राखेकी छन्।
विदेशमा रहेका नेपालीले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई नेपालको विकाससँग जोड्ने तथा दोस्रो पुस्ताका नेपाली युवालाई मातृभूमिसँग जोड्ने विषयमा नीतिगत पहल गर्ने उनको प्रतिबद्धता छ। गैरआवासीय नेपाली संघमा नेतृत्व गर्दाको अनुभवलाई पार्टीको नीतिनिर्माण तहमा उपयोग गर्दै प्रवासी नेपाली, महिला र युवाको आवाजलाई प्रतिनिधित्व गर्ने उनले उल्लेख गरेकी छन्।
थापाले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिको प्रयासमा मात्र सीमित नराखी महिला तथा युवा नेतृत्वको सशक्तीकरण, डायस्पोराको ज्ञान र सीपको उपयोग तथा समावेशी र लोकतान्त्रिक नेपाल निर्माणमा योगदान पुर्याउने अभियानका रूपमा प्रस्तुत गरेकी छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा प्रवासमा रहेका नेपालीको प्रतिनिधित्व र उनीहरूका मुद्दा पार्टीको नीति निर्माण तहमा समेट्ने विषय दुवै उम्मेदवारका घोषणामा साझा रूपमा देखिएको छ।
पन्थले विशेषगरी नागरिकता, मतदान र वैदेशिक रोजगारीका मुद्दा उठाएका छन् भने थापाले महिला तथा युवा सहभागिता, आर्थिक विकास र प्रवासी नेपालीको ज्ञान, सीप तथा पुँजीलाई नेपालको विकासमा जोड्ने विषयमा जोड दिएकी छन्।

















