पेन्सिलभेनिया मेकानिक्सबर्गमा अक्टोबर १० तारिख ५ किलो दौड हुँदै
ह्यारिसबर्ग, पेन्सिलभेनिया / अमेरिकाको पेन्सिलभेनियास्थित मेकानिक्सबर्गमा आगामी अक्टोबर १०, २०२६ मा ‘इन्स्पायर्ड टु रन/वाक पाँच किलो मिटर दौड’ आयोजना हुने भएको छ।
‘इन्स्पायर्ड टु एक्सप्लोर’ को आयोजनामा हुने उक्त कार्यक्रममा दौड, हिँडाइ, स्वास्थ्य र सामुदायिक सहभागितालाई प्रोत्साहन गरिने आयोजकले जनाएका छन्।
ह्याम्पडेन टाउनसिपस्थित एड्भेन्चर पार्क, १७७५ ल्याम्ब्स ग्याप रोडमा आयोजना हुने कार्यक्रम बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।
इन्स्पायर्ड टु एक्सप्लोरका संस्थापक नीलहरि भण्डारीका अनुसार अनुभवी धावकदेखि पहिलो पटक ५ किलोमिटर दौडमा सहभागी हुने व्यक्तिसम्म सबैलाई लक्षित गरी कार्यक्रम आयोजना गर्न लागिएको हो।
सहभागीले व्यावसायिक दौडेर, हल्का दौडन वा हिँडेर पनि किलोमिटर पूरा गर्न सक्नेछन्।
कार्यक्रममा प्रत्यक्ष संगीत, मनोरञ्जनात्मक खेल, पुरस्कार तथा अन्य गतिविधि समावेश गरिने आयोजकले बताएका छन्।
सहभागी हुन प्रतिव्यक्ति ४० अमेरिकी डलर दर्ता शुल्क तोकिएको छ। समूहमा पनि दर्ता गर्न सकिने व्यवस्था रहेको छ। अक्टोबर १ भित्र दर्ता गर्ने सहभागीलाई कार्यक्रमको विशेष टी-सर्ट उपलब्ध गराउने सुनिश्चितता गरिएको थियो।

कार्यक्रमका लागि अन्नपूर्ण इन्स्योरेन्स एजेन्सी, सिम्पल होम सेटलमेन्ट्स एलएलसी, पार्टनरसिप फर बेटर हेल्थ, टपआइटम्स डिजाइन एन्ड प्रिन्ट, प्राइम रियल्टी सर्भिसेज तथा च्याम्बरलिन एन्ड राइनहाइमर इन्स्योरेन्स इंक. ले प्रायोजन तथा सहकार्य गरेका छन्।
यस्तै समाज टाइम्स र पिजन फेदर स्टुडियो मिडिया पाटनर रहेका छन् ।
प्रकृतिको माध्यमबाट व्यक्ति र समुदायको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित सक्रिय ‘इन्स्पायर्ड टु एक्सप्लोर’ ले प्रकृतिको अन्वेषण, स्वास्थ्य प्रवर्द्धन र सामुदायिक सम्बन्ध विस्तारलाई आफ्नो अभियानको मुख्य लक्ष्य बनाएको छ।
कार्यक्रममा सहभागी हुन इच्छुकले अनलाइनमार्फत दर्ता गर्न यहाँ क्लिक गर्न सक्नु हुने छ ।

















