तेक्वान्दो प्रशिक्षक आर बी खड्काको ‘फर्केर हेर्दा’ गीतसङ्ग्रह दार्जिलिङमा लोकार्पण
सहयात्री ढकाल
ओहायो कोलम्बस । तेक्वान्दो खेल सहित गीतसङ्गीत तथा साहित्यका क्षेत्रमा सक्रिय स्रष्टा आरबी खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ दार्जिलिङमा लोकार्पण गरिएको छ।
लभ एण्ड सपोर्ट फाउन्डेसन, दार्जिलिङ शाखाको आयोजनामा प्लान्टर्स हेरिटेज होटलमा आयोजित समारोहमा कृति सार्वजनिक गरिएको हो।
कार्यक्रमको सभापतित्व दार्जिलिङ नगरपालिकाकी उपसभापति प्रतिभा राईले गरेकी थिइन् भने पब्लिक प्रोसिक्युटर योगेश दियाली प्रमुख अतिथि थिए। कार्यक्रममा फाउन्डेसनका सभापति मनोज राई, शाखा अध्यक्ष ईजाज अली, सचिव अनिल विश्वकर्मा र कोषाध्यक्ष सुरेन बर्मेलगायतको उपस्थिति थियो।
समारोहमा वरिष्ठ गायक–गायिकाहरू पेमा लामा, उदय सोताङ, गोविन्दराज घताने, महेश शेवा, कर्म ग्याल्छेन बोम्जन, उत्तममणि बम्जन, हिरा रसाइली, डेजी बराइली र मनिला सोताङलगायत सहभागी थिए।
कार्यक्रममा अमेरिकाबाट मनोज राई, सिक्किमबाट मनोज याक्खा र रेमन्ती राई, तिनधारेबाट महेश शेवा तथा मिरिकबाट कर्म ग्याल्छेन बोम्जनले साङ्गीतिक प्रस्तुति दिएका थिए।
लामो समयदेखि तेक्वान्दो खेल, गीतसङ्गीत तथा साहित्य सिर्जनामा सक्रिय खड्का हाल परिवारसहित अमेरिकामा बस्दै आएका छन्। उनका विभिन्न गीत, रचना तथा साहित्यिक कृति यसअघि प्रकाशित भइसकेका छन्। ‘फर्केर हेर्दा’ उनको पछिल्लो कृति हो। गीत सङ्ग्रहमा जीवनका सुख–दुःख, प्रेम–बिछोड, संघर्ष, आशा र सम्झनाका अनुभूति समेटिएका छन्।
खड्काले ‘फर्केर हेर्दा’ आफ्नो सिर्जनात्मक यात्राको महत्त्वपूर्ण र भावनात्मक अध्याय भएको बताए। जीवनमा भोगेका सुख–दुःख, प्रेम–बिछोड, संघर्ष, आशा र सम्झनालाई गीतमार्फत प्रस्तुत गर्ने प्रयास गरेको उनले बताए।
“स्रष्टाका लागि आफ्नो सिर्जना पाठक र श्रोतासम्म पुग्नु ठूलो खुसी हो। मेरा सिर्जनाले पाठक तथा श्रोताको मनमा भावना, स्मृति वा जीवनसँग संवाद गर्ने ठाउँ बनाउन सके त्यसलाई नै सबैभन्दा ठूलो उपलब्धि ठान्नेछु,” उनले भने।
खड्काले कृति प्रकाशन तथा लोकार्पणमा सहयोग गर्ने लभ एण्ड सपोर्ट फाउन्डेसन, मनोज राई, कलाकार, स्रष्टा, शुभेच्छुक तथा सहभागीप्रति आभार व्यक्त गरेका छन्। पाठक–श्रोताको माया, सुझाव र स्वस्थ आलोचनाले आगामी सिर्जनाका लागि थप ऊर्जा प्रदान गर्ने उनले बताए।

















