संस्था हाम्रो साझा घर हो झगडा गर्ने अखाडा होइन
केशव बैरागी माइलो
समाजका लागि खडा गरिएका कुनै पनि संस्था कसैको निजी सम्पत्ति हुँदैनन्। ती समाजका साझा चौतारी हुन्। जहाँ दुःख बोकेर आएको मानिसले सहारा पाउँछन्। अन्यायमा परेकोले आवाज पाउँछन् र अप्ठ्यारोमा परेकोले हात समात्ने मान्छे भेट्छन्।
काम गर्दै जाँदा कहिलेकाहीँ संस्थाभित्रका केही व्यक्तिबाट कमजोरी हुन सक्छ। कर्मचारीले बाटो बिराउन सक्छन्, पदाधिकारीबाट निर्णयमा त्रुटि हुन सक्छ, नेतृत्वबाट पनि गल्ती हुन सक्छ तर एउटा व्यक्तिको कमजोरीलाई सिङ्गो संस्थाको चरित्रसँग जोड्नु कति बुद्धिमानी होला?
हरेक सामाजिक संस्थाको आफ्नै विधान हुन्छ। विधान नै संस्थालाई बाटो देखाउने उज्यालो हो। त्यही विधानको सीमाभित्र रहेर निर्णय गर्ने, असहमति राख्ने र समाधान खोज्ने व्यवस्था हुन्छ। संस्था चलाउनु भनेको एक जनाले मात्र हाँक्ने गाडी होइन; त्यसमा चालकसँगै सहचालक, यात्रु र बाटो देखाउने सबैको आआफ्नो भूमिका हुन्छ।त्यसैले पुरानो नेतृत्वको अनुभव र नयाँ नेतृत्वको ऊर्जा एक अर्काका प्रतिस्पर्धी होइन, परिपूरक बन्नुपर्छ। पुरानो अध्यक्षले नयाँ नेतृत्वलाई आफ्नो अनुभवको बाटो देखाउन सक्यो भने नयाँ नेतृत्वलाई यात्रा गर्न सहज हुन्छ तर अनुभव मार्गदर्शन बन्नुको सट्टा होडबाजीमा परिणत भयो भने संस्था गन्तव्यतर्फ अघि बढ्नुको साटो विवादको गोल चक्करमा घुमिरहन्छ।
यही प्रसङ्गमा भूटनीज कम्युनीटी अफ सेन्टर पेन्सिल्भेनिया (बीसीसीपीए) को पछिल्लो विवादतर्फ संकेत गर्दछु। सन् २०११ मा भूटनीज कम्युनीटी इन ह्यारिसबर्ग (बीसीएच) का रूपमा स्थापना भएको यस संस्थाले लामो समयदेखि समुदायका विविध आवश्यकता र समस्यामा काम गर्दै आएको छ।
गत जुलाईदेखि निवर्तमान अध्यक्षलाई गैरकानुनी रूपमा निष्कासन गरिएको भन्ने विषयलाई लिएर विवाद, भेला, उपभेला, अभिव्यक्ति र सामाजिक सञ्जालका बहसहरू चलिरहेका छन्। कसैले आफ्ना धारणा राखे, कसैले मिडियामार्फत आवाज उठाए। संस्थाको बोर्डले भने राजीनामा आएपछि स्वीकृत गरिएको तर निष्कासन नगरिएको कुरा स्पष्ट पार्दै आएको थियो।
अन्ततः संस्थाको बोर्डले आफ्नो विधानअनुसार निर्णय गरेको भन्दै प्रेस विज्ञप्तिसमेत सार्वजनिक गरिसकेको देखिन्छ। विज्ञप्तिमा निर्णय चित्त नबुझे कानुनी उपचारको बाटो रोज्न सकिने स्पष्ट सङ्केतसमेत दिइएको छ।
घाउ लागेको छ भने औषधि चाहिन्छ, नुनचुक होइन।घरमा विवाद छ भने बैठक चाहिन्छ, अनावश्यक भीड होइन। असहमति छ भने संवाद गरौँ, प्रदर्शन होइन।
सामाजिक संस्था समाजको अभिभावक सरह हो। आफ्नै घरभित्र समस्या आइपर्दा घरको आँगनमै बसेर समाधान खोज्न सक्नु नै परिपक्वता हो। मझेरीका कुरा सामाजिक सञ्जालमार्फत आँगन हुँदै बजारसम्म पुर्याउँदा अन्ततः लाज कसलाई हुन्छ व्यक्तिलाई मात्र कि सिङ्गो समुदायलाई?
हामीले एउटा कुरा कहिल्यै बिर्सनु हुँदैन। संस्था विवादको रणमैदान होइन, समस्याको उपचार केन्द्र हो। हालचालै कसैलाई ड्राइभिङ लाइसेन्सको समस्या परेको हुन सक्छ। कसैलाई कानुनी झमेलामा सहयोग चाहिएको हुन सक्छ। कसैलाई रोजगारी खोज्न सहारा आवश्यक परेको हुन सक्छ। कुनै परिवार घरेलु हिंसाको पीडामा परेको हुन सक्छ। कुनै व्यक्ति मानसिक तनावबाट गुज्रिरहेको हुन सक्छ। समुदायको कुनै सदस्य जीवनकै कठिन मोडमा पुगेको हुन सक्छ।
यस्ता समस्यामा संस्थाको ढोका सधैँ खुला हुनुपर्छ। तर नेतृत्वबिचको विवादका कारण संस्था नै निष्क्रिय भयो, कर्मचारी र स्वयंसेवकको मनोबल खस्कियो र सेवाका कामहरू रोकिए भने त्यसको मूल्य कसले चुकाउँछ? विवाद गर्नेहरू केही समयपछि घर फर्किन्छन्; तर समस्यामा परेको समुदाय भने त्यहीँ रहन्छ। त्यसैले प्रश्न यो होइन,आज कसले हार्यो वा जित्यो? प्रश्न यो हो ,समाजले के गुमाउँदै छ?
राजनीति गर्नका लागि राजनीति गर्ने थलो धेरै छन्। सामाजिक संस्था भने समाजसेवा गर्ने थलो हो। यहाँ पद र प्रतिष्ठाभन्दा जिम्मेवारी ठूलो हुनुपर्छ। व्यक्तिगत अहङ्कार भन्दा संस्थाको गरिमा ठूलो हुनुपर्छ। आफू सही छु भन्ने प्रमाणित गर्नुभन्दा समुदायलाई सही दिशातर्फ डोर्याउनु महत्त्वपूर्ण हुनुपर्छ।
अहङ्कारले मानिसलाई आफू ठुलो भएको भ्रम दिन सक्छ तर समयले सबै पद, प्रतिष्ठा र शक्ति अस्थायी हुन् भन्ने प्रमाणित गरिदिन्छ। आज हामी अध्यक्ष हौँला, भोलि निवर्तमान हुनेछौँ। आज हामी बोर्डमा हौँला, भोलि साधारण सदस्य हुनेछौँ। तर संस्था हामीभन्दा लामो समय बाँच्न सक्छ। त्यसैले हामीले संस्थालाई आफ्नो पदको उचाइबाट होइन, आगामी पुस्ताको आँखाबाट हेर्नुपर्छ।
हामी सबैले आफैँलाई प्रश्न गरौँ,मेरो आजको कदमले संस्था बलियो बनाउँदै छ कि कमजोर? मेरो अभिव्यक्तिले समाधान खोज्दै छ कि विवाद बढाउँदै छ?
मेरो विरोधले समुदायलाई फाइदा पुर्याउँदै छ कि पीडा ?यदि गल्ती भएको छ भने विधानको बाटो खुला छ। यदि अन्याय भएको छ भने कानुनी बाटो खुला छ। यदि असहमति छ भने संवादको ढोका खुला छ। त्यसैले सामाजिक सञ्जाललाई अदालत, मिडियालाई फैसला र व्यक्तिगत धारणालाई अन्तिम सत्य बनाइरहनु आवश्यक छैन।
हामी यति मात्र बुझौँ। संस्था व्यक्ति होइन, पद स्थायी हुँदैन र शक्ति पनि चिरस्थायी हुँदैन। समाज भने हामी सबैको साझा जिम्मेवारी हो।आउनुहोस्, हामी एक अर्कालाई हराउने होइन, समस्या हराउने अभियानमा लागौँ।
व्यक्तिलाई होइन, विकृतिलाई चुनौती दिऔँ।
पदलाई होइन, जिम्मेवारीलाई सम्मान गरौँ।
विरोधलाई होइन, संवादलाई बलियो बनाऔँ। विभाजनलाई होइन, एकतालाई रोजौँ।भाँडभैलोलाई होइन, भाइचारालाई रोजौँ।
अहंकारलाई होइन, सहकार्यलाई रोजौँ।
किनकि अन्ततः संस्था हाम्रो साझा घर हो।
घर बलियो भए मात्र हामी सबै सुरक्षित हुन्छौँ।














