पर्वत समाज अमेरिकाले बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने
बाल्टिमोर, मेरिल्याण्ड / नेपालमा हालै आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि पर्वत समाज अमेरिकाले बाढीपीडितको राहत तथा उद्धारका लागि १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
नेपालमा भएको प्राकृतिक विपत्तिलाई मध्यनजर गर्दै समाजले आयोजना गर्न लागेको तीज कार्यक्रमसमेत स्थगित गर्ने निर्णय गरेको छ। कार्यक्रमका लागि छुट्याइएको खर्चसमेत संस्थाको तर्फबाट थप गरी नेपाल सरकारमार्फत बाढीपीडितका लागि पठाउने निर्णय गरिएको समाजका अध्यक्ष रविन शर्माले जानकारी दिए।
अध्यक्ष शर्माका अनुसार समाजले तीज कार्यक्रमका लागि छुट्याएको रकम र संस्थाको तर्फबाट थप गरी कुल १० लाख रुपैयाँ नेपालका बाढीपीडितका लागि सहयोग गर्नेछ।
‘देशमा ठूलो विपत्ति परेको बेला उत्सवभन्दा पीडितको साथमा उभिनु हाम्रो प्राथमिकता हो,’ अध्यक्ष शर्माले भने।
उनले नेपालमा रहेका बाढीपीडित परिवारको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले तीज कार्यक्रम रोक्ने निर्णय गरिएको बताए।
पर्वत समाज अमेरिकाले उक्त रकम नेपाल सरकारको राहत तथा विपद् व्यवस्थापनसम्बन्धी कोषमा जम्मा गरी बाढीपीडितको राहतमा प्रयोग हुने गरी पठाउने जनाएको छ।
नेपालमा आएको बाढीका कारण विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको र हजारौँ परिवार प्रभावित बनेका बेला प्रवासमा रहेका नेपाली संघसंस्थाले राहत तथा उद्धारका लागि सहयोग जुटाउने क्रम बढेको छ।














