रसुवा बाढीले एनआरएनएभित्र एक्लिँदै अध्यक्ष शर्मा, आर्थिक अवस्था उदाङ्गियो
ल्यानक्यास्टर, पेन्सिल्भेनिया । कुनै समय यस्तो थियो, नेपालमा आपत् पर्दा गैर आवासीय नेपाली संघ (एनआरएनए) ले चुड्कीको भरमा विश्वभरबाट करोडौँ रकम सजिलै उठाउँथ्यो।
तर, अगस्ट २६ तारिख रसुवा, भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले त्यस क्षेत्रमा सखाप पारेजस्तै अब एनआरएनएको विश्वास र आर्थिक अवस्था पनि उदाङ्गो पारेको छ।
हुन पनि ती दिनमा जसले आर्थिक सहयोगको आह्वान गर्थे, उनीहरूले सुरुमा नै आफूले मगन्ने रकम कोषमा जम्मा गर्ने र अरूलाई प्रेरित गर्थे । अहिले उल्टो छ । आफू लाख हाल्ने, अरूलाई करोड हाल्न दबाब दिने । अनि जस चैँ आफैँ मात्र । अरूको पैसामा समाज सेवी बन्न खोज्ने प्रवृत्ति एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का अध्यक्ष डा. हेमराज शर्मामा देखिएको भन्दै अरूले बाल नदिएपछि शर्मा एक्लिँदै गएको देखिएको छ।
पछिल्लो एक दशक संस्थामा विधानको पासो थाप्दै, दिल खोलेर एनआरएनएमा लागेकाहरूलाई पाखा लगाएको आरोप लाग्दै आएका शर्माको अनुरोधलाई अहिले धन हुने एनआरएनहरूले सुनेको नसुन्या गरिदिएका छन्।
रसुवा र भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि ‘सहानुभूति र राहत’ को नाममा सस्तो लोकप्रियता हासिल गर्न खोज्दा शर्मा नराम्रोसँग चेपिएका छन्। स्रोतको कुनै सुनिश्चितताबिनै हतार–हतार ५ करोड रुपैयाँ राहत उपलब्ध गराउने महत्त्वाकाङ्क्षी घोषणा गरेर सामाजिक सञ्जालमा वाहवाही पाएका शर्मालाई अहिले रकम जुटाउन निकै सकस परेको बुझिएको छ।
विगतमा उनी व्यापारी विनाको एनआरएनए बनाउने भन्दै हिँड्थे । नेतृत्व पैसा भन्दा पनि बुद्धिले चल्ने र प्रोजेक्ट ल्याउने हुने पर्ने बत्ताउँथे । ‘यी व्यापारीहरू नभए पनि संस्था चल्छ ।’ शेष घले लगायतलाई धारे हात लगाउँदै शर्माले भन्ने गरेका थिए ।
तर अहिले बुद्धि हुनेले नेतृत्व गर्दा, एनआरएनएलाई पाँच करोडको कोष पनि फलामको चिउरा हुने देखिएको छ ।
केन्द्रले ५ करोडको स्वाङ पारिरहँदा एनआरएनए अष्ट्रेलियाले भने केन्द्रीय खातालाई पूर्णतः बाइपास गर्दै सिधै ४५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिएको छ। त्यसै गरी, संघका पूर्व अध्यक्ष आरके शर्माले पनि व्यक्तिगत रूपमा २५ लाख रुपैयाँ सिधै प्रधानमन्त्री राहत कोषमै जम्मा गरेर केन्द्रीय नेतृत्वलाई बलियो झापड हानेका छन्।
कोरिया र जापानजस्ता शक्तिशाली एनसीसीहरूले समेत अध्यक्षको केन्द्रीय खातामा पैसा हाल्नुको साटो आफ्नै क्यूआर कोड र संयन्त्रमार्फत सोझै सरकारी कोषमा रकम पठाउने तयारी तीव्रताका साथ अघि बढाएका छन्।
आफ्नै मातहतका एनसीसी र पूर्वअध्यक्षहरूले पत्याउन छाडेपछि र रकम छुट्टै बाटोबाट जान थालेपछि अध्यक्ष शर्मा चरम दबाबमा परेको उनीनिकट स्रोत बताउँछ।
उनले हतार–हतार पदाधिकारीहरूलाई अर्को सन्देश पठाउँदै ‘व्यक्तिगत वा अन्य माध्यमबाट होइन, सङ्घमार्फत नै रकम जम्मा गर्न’ दबाब दिएका छन्।
जसलाई उनले ‘एकता र सामूहिक शक्ति’ को आवरण दिएका छन्। तर, पीडितलाई तत्काल राहत पुग्नु मुख्य कुरा हो कि संस्था वा नेतृत्वको अनुहार चम्काउनु ? भन्ने प्रश्न अहिले गैर आवासीय नेपाली वृत्तमा चर्को रूपमा उठेको छ।
विगतका आर्थिक अपारदर्शिता र नेतृत्व विवादबाट आजित बनेका अभियन्ताहरू केन्द्रको फन्दामा पर्न तयार देखिएका छैनन्।
संघले जारी गरेको लामो सूचीमा धेरै पूर्व अध्यक्ष, उपाध्यक्ष, महासचिवलगायतका प्रभावशाली नेताहरूको नाम त छ, तर उनीहरूको सहयोग रकमको ठाउँ भने खाली नै छ।
नुवाकोटमा केही थान चाउचाउ र राहत बाँडेको अनि स्वास्थ्य शिविर चलाएको ढोङ गरेर बाँकी रकम सरकारी कोषमा दिने भन्दै पन्छिन खोजेका शर्माका लागि अभियान न निल्नु न ओकल्नु भएको छ।
स्रोत नै सुनिश्चित नगरी प्रचारमुखी घोषणा गर्ने अनि त्यसलाई ढाकछोप गर्न पदाधिकारीहरूलाई फोन र इमेलबाट दबाब दिने अध्यक्ष हेमराज शर्माको ‘स्टन्ट’ ले संघको साख बढाउनुको साटो उनलाई एनआरएनएभित्रै पूर्ण रूपमा एकाकी र एक्लो बनाएको छ।
५ करोडको धाक धम्की दिएर प्रचारबाजी गरिए पनि हालसम्म संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष र केही सीमित पदाधिकारीबाट जम्मा ५३ लाख ५० हजार रुपैयाँको मात्रै प्रतिबद्धता आएपछि संघको आन्तरिक हैसियत र शर्माको सङ्गठनात्मक पकडमाथि सिधै प्रश्न चिह्न खडा भएको छ।
घोषित रकम र वास्तविक प्रतिबद्धताबिच आकाश–पातालको फरक परेपछि अध्यक्ष शर्मा यतिबेला अन्तर्राष्ट्रिय परिषद्का पदाधिकारीहरू, एनसीसी र सल्लाहकारलाई दबाब दिने र ‘गुहार’ माग्ने विन्दुमा आइपुगेका छन्।
उनले आईईएसका पदाधिकारीलाई कम्तीमा १ लाख र अफिस बेयररहरूलाई कम्तीमा ५० हजार रुपैयाँ अनिवार्य बुझाउन तोकेरै इमेल र उर्दी जारी गरेका छन्।
‘सबै सँग सरसल्लाह गरेर घोषणा गर्नु पर्ने थियो । बृहत् बैठक बोलाउनु पर्ने थियो । त्यस पछि पो पैसा उठ्थ्यो । कोठे मान्छेलाई राखेर गरेको घोषणाले अहिले उनी एक्लिएका हुन् ‘ एक पदाधिकारीले समाज टाइम्स सँग भने, ‘त्यति पैसा उठ्दैन, मलाइ पनि इमेल आएको छ, म दिन्न, पदाधिकारीले अपनत्व गर्न नसकेका कारण यस्तो भएको हो ।’
यति मात्र होइन, आफ्ना पछाडि–पछाडि हिँड्ने र निकट मानिएका अभियन्ताहरूलाई व्यक्तिगत रूपमा फोन घुमाउँदै ‘जसरी पनि चन्दा दिनुपर्यो’ भन्दै गुहार मागिरहेको खबर बाहिरिएको छ। तर, नेतृत्वको यो अपरिपक्व र हतास शैलीबाट संघभित्रै व्यापक असन्तोष चुलिएको मात्र होइन संस्थाको आर्थिक अवस्था पनि उदाङ्गिएको छ ।
यसअघिका अध्यक्ष डा. बद्री केसी र शर्मा मिलेर एनआरएनएको कोष रित्तो बनाएको गुनासा सार्वजनिक भएका थिए। अनधिकृत बिलमा हस्ताक्षर गर्न दबाब दिएको भन्दै कर्मचारीले विरोध जनाउँदा उनलाई कारबाहीको डण्डा बर्साइएको थियो।
शर्मा अध्यक्ष भएपछि सचिवालयका कर्मचारीलाई तलब खुवाउन हम्मे हम्मे पर्दा उनले ‘पैसा लेऊ, पद लैजाऊ’ भन्ने स्किम चलाउनुपरेको थियो। त्यसो त त्यसरी बाँडिएको पदमा पनि अझै कति उधारो रहेको बताइएको छ।
समाज टाइम्सको सम्पर्कमा आएका एक पदाधिकारीले आफूले शुल्क तिरेकोमा अहिले थकथक लागेको बताएका थिए।
‘मलाई मनोनयन पत्र दिइहाले, म पनि इमान्दार भएर पैसा बुझाएँ। अहिले बुझ्दा अझै उधारो बाँकी राख्नेहरू पनि रहेछन्,’ समाचारमा नाम उल्लेख नगर्ने सर्तमा ती पदाधिकारीले भने।
र यो पनि ….
एनआरएनए आइसीसीमा रुवाबासी : सकारकारलाई दिन पाँच करोड जुटाउनै मुस्किल
डा. हेमराज शर्माको ‘रिब्रान्डिङ एनआरएनए’ : पैसा दिनुस्, नियुक्ति पत्र लिनुस् !














