भुटानी संयुक्त वार्षिक सम्मेलन सेप्टेम्बरमा ओमाहामा
अर्जुन प्रधान
ओमाहा, नेब्रास्का / अमेरिका तथा विश्वका विभिन्न स्थानमा रहेका भुटानी समुदायलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले भुटानी संयुक्त वार्षिक सम्मेलन २०२६ आगामी सेप्टेम्बर ११ देखि १३ सम्म ओमाहा, नेब्रास्कामा आयोजना हुने भएको छ।
‘भुटानी हृदयहरूलाई एकताबद्ध गर्दै, पुस्ताहरूलाई सशक्त बनाउँदै’ भन्ने नारासहित आयोजना हुन लागेको तीनदिने सम्मेलन ग्रेट इभेन्ट्स सेन्टर, ७४४० क्राउन पोइन्ट एभेन्यु, ओमाहामा हुनेछ।
सम्मेलनमा ग्लोबल भुटानीज अर्गनाइजेसन (जीबीओ), भुटानीज अमेरिकन म्युजिक एसोसिएसन (बामा), ग्लोबल फाउन्डेसन अफ अमेरिका (जीएफए), ग्लोबल भुटानीज लिटरेरी अर्गनाइजेसन (जीबीएलओ) र स्थानीय आयोजक भुटानीज कम्युनिटी इन नेब्रास्का (बीसीएन) सहभागी हुने आयोजक समितिले जनाएको छ।
आयोजकका अनुसार सम्मेलनको उद्देश्य भुटानी समुदायमा संस्थागत सहकार्य बढाउनुका साथै नेतृत्व विकास, शिक्षा, भाषा, साहित्य, संगीत, संस्कृति, स्वास्थ्य र सामुदायिक विकासका क्षेत्रमा साझा पहललाई अघि बढाउनु हो।
जीबीओका अध्यक्ष डीबी राईले शिक्षा, नेतृत्व विकास र सामुदायिक सहकार्यलाई सम्मेलनको प्रमुख प्राथमिकतामध्ये राखिएको बताए।
“शिक्षा, नेतृत्व विकास र सामुदायिक सहकार्यलाई केन्द्रमा राखेर संस्थाहरूबीचको सम्बन्ध अझ बलियो बनाउन यो सम्मेलन महत्वपूर्ण हुनेछ,” राईले भने।
जीबीएलओका अध्यक्ष पतालो अन्तरेले सम्मेलनलाई सामान्य जमघटभन्दा फरक रूपमा व्याख्या गरेका छन्। उनका अनुसार यो भुटानी समुदायको एकता, संस्कृति र पहिचानसँग जोडिएको अभियान हो।
भाषा र साहित्यलाई समुदायको पहिचानका महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै उनले नयाँ पुस्तालाई त्यससँग जोड्न यस्ता कार्यक्रम आवश्यक रहेको बताए।
बामाका अध्यक्ष विश्वाज गुरुङले संगीत र कलामार्फत सांस्कृतिक पहिचानलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्य रहेको बताए। विभिन्न पुस्ताका कलाकारलाई एउटै मञ्चमा ल्याउने योजना रहेको उनको भनाइ छ।
त्यस्तै, जीएफएका अध्यक्ष प्रजा ढकालले समुदायको विकासका लागि सांस्कृतिक गतिविधिसँगै स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षाका क्षेत्रमा समेत संस्थागत सहकार्य आवश्यक रहेको बताए।
तीन दिनका कार्यक्रम
सम्मेलनको पहिलो दिन, सेप्टेम्बर ११, विभिन्न स्थानबाट आउने अतिथि तथा प्रतिनिधिका लागि स्वागत समारोह र रात्रिभोज आयोजना गरिनेछ।
सेप्टेम्बर १२ मा संस्थागत बैठक, प्रस्तुति तथा अन्य सामुदायिक कार्यक्रम सञ्चालन हुनेछन्। सोही दिन साँझ संयुक्त बृहत् सांगीतिक कार्यक्रम आयोजना गरिने कार्यक्रम संयोजक भीम गुरुङले जनाएका छन्।
सम्मेलनको अन्तिम दिन सेप्टेम्बर १३ मा संयुक्त भुटानी मेला आयोजना हुनेछ। मेलामा खेलकुद, सांस्कृतिक प्रस्तुति, व्यवसाय तथा सामुदायिक स्टल र प्रतिभा प्रदर्शनलगायतका कार्यक्रम राखिएका छन्।
सोही दिन साँझ नेब्रास्कामा रहेका भुटानी महिलाहरूको सहभागितामा तीज उत्सव आयोजना गरिनेछ।
स्थानीय आयोजक बीसीएनले सम्मेलनमा सहभागी हुन विभिन्न स्थानबाट ओमाहा आउने प्रतिनिधि तथा अतिथिका लागि आवश्यक आतिथ्यको व्यवस्था गर्ने जनाएको छ।
आयोजक समितिले अमेरिका तथा विश्वका विभिन्न स्थानमा रहेका भुटानी समुदाय, संघ–संस्था, कलाकार, युवा तथा परिवारलाई सम्मेलनमा सहभागी हुन आह्वान गरेको छ।
सम्मेलनका आयोजना संयोजक पतालो अन्तरे र कार्यक्रम संयोजक भीम गुरुङ रहेका छन्।














