पेन्सिल्भेनिया ह्यारिसवर्गमा नयाँ शैक्षिक सत्रका लागि नेपाली भाषा कक्षाको भर्ना खुला
ह्यारिसवर्ग, पेन्सल्भेनिया / पेन्सल्भेनियाको ग्रेटर ह्यारिसवर्ग क्षेत्रमा बसोबास गर्ने नेपाली भाषी समुदायका बालबालिकाहरूका लागि नयाँ शैक्षिक सत्र २०२६/२०२७ को नेपाली भाषा पठनपाठन कक्षाको भर्ना खुला गरिएको छ।
अर्गनाइजेसन फर हिन्दु रिलिजन एन्ड कल्चर (ओएचआरसी) को नेपाली शिक्षा कार्यक्रम अन्तर्गत यो भर्ना अभियान सुरु गरिएको हो।
संस्थाका सञ्चार संयोजक सिएम निरौलाका अनुसार आगामी शनिबार, अगस्ट २९, २०२६ का दिन बिहान ९:०० बजेदेखि औपचारिक रूपमा भर्ना प्रक्रिया सुरु गरिनेछ।
ओएचआरसीले यस क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि निरन्तर रूपमा नेपाली भाषा र संस्कृतिको अध्यापन गराउँदै आएको छ।
भुटानी अमेरिकी नेपाली समुदायद्वारा सन् २०१३ मा स्थापित यस संस्थाले प्रवासमा रहेका नयाँ पुस्ताका बालबालिकाहरूलाई आफ्नो भाषा, लिपि र संस्कारसँग जोड्न यो कार्यक्रमलाई निरन्तरता दिँदै आएको सञ्चार संयोजक निरौलाले जानकारी दिए ।
यस शैक्षिक सत्रमा ५ वर्ष वा सोभन्दा माथि उमेरका स्कुल जाने नानीबाबुहरूलाई सहभागी गराइनेछ।
भर्ना कार्यक्रम आगामी शनिबार बिहान ठिक ९:०० बजेदेखि ओएचआरसीको आफ्नै भवन अर्थात् श्री लक्ष्मी नारायण हरिहर धाममा सञ्चालन (5650 Lancaster Street, Harrisburg, PA 17111) मा सञ्चालन हुने छ ।
ओएचआरसीले ह्यारिसवर्ग र आसपासका क्षेत्रमा रहनुहुने सम्पूर्ण नेपाली भाषा प्रेमी महानुभावहरूलाई आफ्ना बालबालिकाहरूको भर्ना फारम भराई बेलैमा सिट सुरक्षित गर्न आह्वान गरेको छ ।
ओएचआरसी अन्तर्गत शिक्षा विभागका निर्देशक महेन्द्र अधिकारीका अनुसार प्रत्येक विद्यार्थीले वर्षको एक पटक एक सय बीस डलर शुल्क तिर्नु पर्ने हुन्छ ।
‘यो शुल्क एक सिजनका लागि हो, अगस्त अन्तिम साताबाट शुरु मे अन्तिम सम्म कक्षा सञ्चालन हुन्छ।’ अधिकारीले भने, ‘एक पटक तिरे पछि पुग्छ त्यसै भित्रबाट किताब तथा शैक्षिक सामाग्री उपलब्ध हुन्छ ।
अधिकारीका अनुसार हरेक शनिवार बिहान दुई घटा कक्षा सञ्चालन हुन्छ । एक सय ५० विद्यार्थी धेरै विद्यार्थी भर्ना हुने अपेक्षा राखिएको छ । विद्यार्थीहरूका लागि दश जना भन्दा धेरै स्वयम सेवक शिक्षक शिक्षिकाले पढाउने छन् ।













