नागार्जुन नगरपालिकामा सुविधा घट्दो, झन्झट बढ्दो
काठमाडौँ / घरजग्गा र व्यवसाय करको दायरा बर्सेनि बढ्दो छ, तर नागरिकले पाउने न्यूनतम सुविधा भने झन्झन् खस्कँदो। नागार्जुन नगरपालिकाका बासिन्दा एकातिर पूर्वाधारको बेहालबाट प्रताडित छन् भने अर्कातिर वडा कार्यालयमा प्रशासनिक सास्ती खेप्न बाध्य छन्।
नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित ॐकारेश्वर टोलमा ढल बिग्रिएको महिनाौँ बितिसक्यो। बाटोमा बगिरहेको ढलको दुर्गन्ध र फोहर पानीका कारण स्थानीयवासीमा संक्रमणको गम्भीर जोखिम बढेको छ। टोल विकास समितिका अध्यक्ष मोहन धितालका अनुसार समस्या समाधानका लागि वडा पुग्दा नगरपालिका देखाउने र नगरपालिका पुग्दा वडाकै जिम्मा भन्दै जिम्मेवारी पन्छाउने काम मात्र भइरहेको छ। “टोल विकास समिति आफैँ अग्रसर भएर काम गरौँ भने रकम अभाव छ, निकायहरू जिम्मेवारी लिन तयार छैनन्,” धितालले भने।
स्थानीय लक्ष्मण पौडेलको आक्रोश पनि उस्तै छ। नगर र वडा कार्यालय कर बढाउन सधैँ अगाडि सर्ने तर नागरिकका दैनिक समस्या सुन्न भने कसैले चासो नदिने उनको गुनासो छ।
नयाँ ‘सूत्र’को झन्झट, घण्टौँ सास्ती
वार्षिक घरजग्गा कर बुझाउन पुगेका सेवाग्राहीलाई वडा कार्यालयले अनेक कागजात नपुगेको भन्दै फर्काउने गरेको छ। नागार्जुन नगरपालिका वडा नम्बर ६ का कार्यवाहक वडा अध्यक्ष झलक बहादुर तामाङद्वारा जारी सूचना अनुसार नेपाल सरकारले लागू गरेको नयाँ ‘सूत्र प्रणाली’ (२०८३ जेठ १ गतेदेखि अनिवार्य) का नाममा पहिलो पटकका लागि जग्गा र घरको सम्पूर्ण विवरण मागिएको छ।
कर बुझाउन जाँदा सेवाग्राहीले निम्न कागजातको फोटोकपी अनिवार्य बुझाउनुपर्ने झन्झट थपिएको छ:
जग्गाधनी नागरिकताको फोटोकपी (१ थान)
जग्गाधनी प्रमाण पुर्जाको फोटोकपी (१ थान)
घरको नक्सा पास भएको नक्साको फोटोकपी (१ थान)
भवन निर्माण सम्पन्न प्रमाणपत्रको फोटोकपी (१ थान)
अघिल्लो वर्ष तिरेको रसिदको फोटोकपी (१ थान)
सूचनामा “यसबाट सेवाग्राहीमा पर्न गएको असरप्रति क्षमा चाहन्छौँ” लेखिए पनि व्यवहारमा भने घण्टौँ लाइन बस्नुपर्ने र सानो कागजात नपुग्दा फर्किनुपर्ने बाध्यता छ।
कर्मचारीको गैरजिम्मेवार व्यवहार
सरकारी संयन्त्रमा व्याप्त अनुदार शैलीले सेवाग्राहीको सास्ती झनै थपेको छ। वडा नम्बर ६ कि सूचना अधिकारी धनकुमारी क्षेत्री सूचना माग्न पुग्ने सेवाग्राहीप्रति निरन्तर अनुदार र असहयोगी देखिन्छिन्। यसबारे ‘घटना र विचार’ले राखेको जिज्ञासामा सूचना अधिकारी क्षेत्रीले गैरजिम्मेवार बन्दै छोटो जवाफ दिइन्— “यहाँ यस्तै हो।”
करको दर बढाउँदै जाने तर पूर्वाधार निर्माण र दैनिक प्रशासनिक सेवामा भने ढिलासुस्ती तथा गैरजिम्मेवारीपन देखाउने नागार्जुन नगरपालिकाको शैलीप्रति स्थानीयवासी चरम रुष्ट बनेका छन्।













