भरत अर्यालद्वारा नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा औपचारिक उम्मेदवारी घोषणा
टेक्सस / नेपाली कांग्रेस महासमिति सदस्य भरत अर्यालले नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।
जनसम्पर्क समिति अमेरिकाको तेस्रो महाधिवेशन अगस्ट १४ देखि १६ सम्म भर्जिनियामा हुँदै छ।
१२ वर्षपछि हुन लागेको महाधिवेशनमा नेतृत्वका आकांक्षी आधा दर्जन पुगेका छन्। अर्यालले बुधवार औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
‘परिवर्तनको संकल्प, जनमुखी नेतृत्वको अभियान’ नारासहित उनले संस्थालाई आफ्नो आवश्यकताको औचित्य औँल्याएका छन्।
‘करिब पाँच दशकदेखि नेपाली कांग्रेसको विचार, लोकतान्त्रिक मूल्य–मान्यता र सङ्गठनप्रति समर्पित रहँदै आएको एक कार्यकर्ताका रूपमा, परिवर्तन, पारदर्शिता र संस्थागत सुधारको सङ्कल्पसहित म नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दछु।’ अर्यालले सामाजिक सञ्जालमा लेखेका छन्।
नेपाली कांग्रेस जनसम्पर्क विभागका पूर्व केन्द्रीय सदस्य अर्यालले आफ्नो उम्मेदवारी कसैको विरुद्धमा नरहेको पनि स्पष्ट पारेका छन्।
‘मेरो उम्मेदवारी कसैको विरुद्ध होइन—बेथितिको विरुद्ध र परिवर्तनको पक्षमा हो।’ अर्यालले लेखेका छन्।
आफू कुनै गुटको नभई सिङ्गो कांग्रेसको कर्मठ कार्यकर्ता रहेको दाबी गर्दै आएका अर्यालले जनमुखी संस्था निर्माण गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन्।
‘अब संस्था गुट होइन, सबै सदस्यको साझा घर बन्नुपर्छ। युवालाई नेतृत्वमा अघि बढाउँदै, महिलाको सम्मानजनक सहभागिता सुनिश्चित गर्दै र अग्रजहरूको अनुभवलाई जोड्दै बलियो, पारदर्शी र जनमुखी संस्था निर्माण गर्ने मेरो प्रतिबद्धता छ।’ अर्यालले भनेका छन्।
अर्याल नेपाल देखि नै सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका व्यक्ति हुन् । उनी डेढ दशक देखि अमेरिकाको टेक्ससमा व्यवसाय गर्दै आएका छन्।














