अवैध रुपमा अमेरिका प्रवेस गर्न खोज्ने २१ आप्रवासी बोकेको ढुङ्गा नियन्त्रणमा, एक जनाको मृत्यु
स्यान क्लेमेन्टी टापु, क्यालिफोर्निया / अवैध रुपमा अमेरिका प्रवेस गर्न खोज्ने २१ जना आप्रवासी बोकेको ढुङ्गा सीमा सुरक्षाकर्मीले नियन्त्रणमा लिएको जनाइएको छ । यस क्रममा एक जनाको निधन भएको छ ।
यूएस कस्टम्स एन्ड बोर्डर प्रोटेक्सन (सीबीपी) को एयर एन्ड मरिन अपरेसन एजेन्टहरूले जुलाई २९ मा स्यान क्लेमेन्टी टापु नजिकै २१ जना विदेशी नागरिक बोकेको एउटा डुङ्गालाई नियन्त्रणमा लिएका हुन् ।
सीबीपीद्वारा शुक्रवार जारी गरेको विज्ञप्तीमा जुलाई २९ दिउँसो २ बजे, स्यान क्लेमेन्टी टापुको पछाडिको भागमा एउटा डुङ्गा रहेको सूचना पाएपछि सुरक्षा टोलीले घेरा हाली रोक्नका लागि दुई राउन्ड चेतावनी स्वरूप गोली चलाइको उल्लेख छ ।
त्यस पछि सुरक्षाकर्मीले डुङ्गा र त्यसमा सवार एक महिला तथा एक नाबालक सहित २१ जना व्यक्तिहरूलाई आफ्नो नियन्त्रणमा लिए।
डुङ्गा नियन्त्रणमा लिने क्रममा एक वयस्क पुरुषमा तीव्र हृदयघातको लक्षण देखिएको उनलाई हेलिकप्टर मार्फत चिकित्सा उद्धारको समन्वय गरिएको जनाइएको छ ।
हेलिकप्टरले ती व्यक्तिलाई लस एन्जलसको यूसीएलए रोनाल्ड रेगन मेडिकल सेन्टरमा पुर्याउदा चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए ।
यूएस इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) को होमल्याण्ड सेक्युरिटी इन्भेष्टिगेसन (एचएससी) ले यस घटनाको अनुसन्धान गरिरहेको जनाइएको छ।
“विवेकहीन तस्करहरूले मानव जीवनभन्दा नाफालाई प्राथमिकता दिन्छन्, जसले गर्दा मानिसहरूलाई जोखिमपूर्ण समुद्री मार्गमा यात्राका लागि अयोग्य डुङ्गाहरूमा चढ्न बाध्य पार्छन्,” स्यान डिएगो एयर एन्ड मरिन ब्रान्चका सहायक निर्देशक लेभी आरेन्सले भने, “यी आपराधिक सञ्जालहरूले प्रायः अवैध रूपमा देश प्रवेश गर्न खोज्नेहरूसँगै खतरनाक अपराधीहरूलाई पनि मिसाउने गर्छन्, जसले गर्दा ती व्यक्तिहरू र हाम्रा एजेन्टहरू दुवैलाई ठूलो खतरामा पार्छ।”
रेकर्ड जाँच गर्दा उक्त समूहमा फरक-फरक आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरू रहेको खुलेको जनाइएको छ ।
‘बाह्र जनाको कुनै आपराधिक इतिहास थिएन वा केवल अघिल्लो प्रशासनिक अध्यागमन नियम उल्लंघन मात्र गरेका थिए। पाँच जना प्रतिबन्धित पदार्थ ओसारपसार, मादक पदार्थ सेवन गरी सवारी चलाएको र धोखाधडी जस्ता अपराधमा पहिले नै दोषी ठहर भइसकेका व्यक्तिहरू थिए।’ विज्ञप्तीमा भनिएको छ, ‘दुई जनाको भने गम्भीर आपराधिक इतिहास थियो, जसमा कुटपिट, घरेलु हिंसा, पक्राउ पर्न अस्वीकार गरेको र हत्या तथा नाबालिगमाथिको यौन दुर्व्यवहार जस्ता जघन्य अपराधहरू समावेश थिए।’
फोटो सीबीपी














