‘मेरो मनोनयन एनआरएनहरूको सम्मान हो’ : खगेन्द्र जीसी
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / नेपाली कांग्रेसका नवनियुक्त आमन्त्रित केन्द्रीय सदस्य खगेन्द्र जीसीले आफ्नो मनोनयन सम्पूर्ण गैरआवासीय नेपालीहरूको सम्मान भएको बताएका छन्।
दुई दशकभन्दा बढी समयदेखि अमेरिकाको न्युयोर्कमा वकालत पेसामा कार्यरत जीसीलाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आइतबार आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन्।
जीसी गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाका पूर्वअध्यक्ष तथा नेपाली जनसम्पर्क समिति अमेरिका संस्थापकमध्ये एक हुन्।
‘यो एनआरएनहरूका लागि सम्मान हो, पार्टीले अब सबै युनाइटेड भएर काम गर्नुपर्छ भन्ने कुरामा बढी जोड दिएको छ।’ मनोनयनपछि समाज टाइम्ससँगको कुराकानीमा जीसीले भने, ‘हामीले सिद्धान्त जुन छ, जहिले पनि दिगो र बलियो रहने त्यसलाई हामीले फलो गर्नुपर्छ।’
यस्तै, जीसीले सभापति थापालाई धन्यवाद पनि दिएका छन्।
‘नेपाली कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य मनोनयन गर्नुभएकोमा म हृदयदेखि हार्दिक धन्यवाद दिन चाहन्छु। मनोनयनले नेपाली कांग्रेस समर्थित सारा गैरआवासीय नेपालीको शिर उच्च भएको महसुस मैले गरेको छु।’ जीसीले भने।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सोसलिस्ट इन्टरनेसनलको उपाध्यक्ष भएकाले पार्टीले आमन्त्रित सदस्यमा मनोनयन गरेको बताए।
‘आमन्त्रित सदस्यलाई भोटिङ राइट्स हुँदैन। उहाँको विज्ञता पार्टीले प्रयोग गर्न सक्छ भनेर यो मनोनयन गरिएको हो।’ समाज टाइम्ससँगको कुराकानीमा महामन्त्री पौडेलले भने।
सोसलिस्ट इन्टरनेसनल विश्वभरका लोकतान्त्रिक समाजवादी, सामाजिक लोकतान्त्रिक र श्रमिक राजनीतिक दलहरूको एक प्रमुख अन्तर्राष्ट्रिय संगठन हो, जसको मुख्यालय लन्डनमा रहेको छ र हाल यसको नेतृत्व स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले गरिरहेका छन्।
सन् १९५१ मा जर्मनीको फ्र्याङ्कफर्टमा विधिवत् रूपमा पुनर्गठन गरिएको यस संगठनले स्वतन्त्रता, न्याय, समानता र विश्वशान्तिलाई आफ्नो मुख्य सिद्धान्त मानेको छ।
नेपालको राजनीतिसँग पनि यसको ऐतिहासिक र घनिष्ठ सम्बन्ध छ। जननायक बीपी कोइरालाको पहलमा नेपाली कांग्रेस यस संगठनको पूर्ण सदस्य हो।
हाल विश्वका १०० भन्दा बढी राजनीतिक दलहरू आबद्ध रहेको यस प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चले विश्वव्यापी रूपमा सामाजिक न्याय, लोकतन्त्रको रक्षा र वातावरणीय सन्तुलनका लागि निरन्तर आवाज उठाउँदै आएको छ।














