डीटी फेस्ट २०२६ मा समीक्षा अधिकारी र शिव परियारले प्रस्तुति दिने
भर्जिनिया / अमेरिकामा बस्ने नेपाली संगीतप्रेमीहरूका लागि दशैंको अवसरमा विशेष साङ्गीतिक प्रस्तुति हुने भएको छ।
चर्चित नेपाली गायिका समीक्षा अधिकारी र शिव परियारले आफ्नो बहुप्रतिक्षित “दशैं तिहार धमाका युएसए टुर २०२६” अन्तर्गत ‘डीटी फेस्ट २०२६’ मा आफ्नो प्रस्तुति दिने भएका छन्।
‘थ्रीइ इन्टरटेनमेन्ट एलएलसी’ द्वारा आयोजित यस राष्ट्रव्यापी साङ्गीतिक भ्रमणले अमेरिकाका विभिन्न प्रमुख सहरहरूमा प्रत्यक्ष संगीत, सांस्कृतिक प्रस्तुति, नेपाली खाना र पारिवारिक मनोरञ्जनसहितका कार्यक्रमहरू आयोजना गर्नेछ।
यसै क्रममा यो जोडी अमेरिकाको वासिङ्टन डिसी, मेरिल्यान्ड र भर्जिनिया (डिएमभी) क्षेत्रको एक प्रमुख नेपाली समुदायको उत्सव मानिने ‘डीटी फेस्ट २०२६’ मा विशेष रूपमा उपस्थित हुनेछ।
युवा पुस्तामाझ अत्यधिक लोकप्रिय स्वर र आकर्षक मञ्च प्रस्तुतिको लागि चिनिने गायिका समीक्षा अधिकारी तथा थुप्रै चर्चित गीतका धनी लोकप्रिय पार्श्वगायक शिव परियारको यस सहभागिताले उत्सवमा अझ रमाइलोपन थप्ने आयोजकहरूको विश्वास छ।
यो दशैं तिहार धमाका युएसए टुर २०२६ भर्जिनिया, न्यु योर्क, न्यु जर्सी, म्यासाचुसेट्स, टेक्सस, क्यालिफोर्निया र इलिनोइसलगायतका विभिन्न राज्यहरूमा सञ्चालन हुनेछ। यस साङ्गीतिक टुरसम्बन्धी थप मिति र टिकटको विवरण आगामी साताहरूमा सार्वजनिक गरिनेछ।














