ओहायोका व्यक्तिको फिलाडेल्फिया विमानस्थलमा २१ हजार डलर बरामद
फिलाडेल्फिया, पेन्सिल्भेनिया / पेन्सिल्भेनियाको फिलाडेल्फिया स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा एक अमेरिकी नागरिकको साथबाट घोषणा नगरिएको २१ हजार डलरभन्दा बढी नगद बरामद गरिएको छ ।
यूएस कस्टम्स एन्ड बोर्डर प्रोटेक्सन (सीबीपी) ले मंगलवार जारी गरेको विज्ञप्तिमा ती व्यक्तिले संघीय नगद घोषणा कानुन उल्लङ्घन गरेको आरोपमा अधिकारीहरूले उक्त रकम जफत गरेको जनाइएको छ ।
साथै ती व्यक्तिको ग्लोबल इन्ट्री ट्रस्टेड ट्राभलरको विशेषाधिकार खारेज गरिदिएका छन्।
झुटो बोल्दा सास्ती
विज्ञप्ति अनुसार कोलम्बस, ओहायोका ती नागरिक सान्टियागो, डोमिनिकन रिपब्लिकतर्फ प्रस्थान गर्न लागेका थिए । विमानस्थलको प्रस्थान गेटमा जाँचका क्रममा उनले सुरुमा आफूसँग ७ देखि ८ हजार डलर मात्र रहेको दाबी गरे । अधिकारीहरूले उनलाई नगद घोषणा सम्बन्धी कानुनी फारम उपलब्ध गराएपछि उनले लिखित रूपमा आफूसँग १० हजार डलर रहेको विवरण बुझाए ।
त्यस पछि शंका लागेर उनको क्यारी अन ब्याग खानतलासी गर्दा विभिन्न ठाउँमा लुकाएर राखिएको कुल २२ हजार पाँच सय १६ डलर फेला परेको थियो।
‘अधिकारीहरूले २१ हजार ५१६ जफत गरे, यात्रीलाई पाँच सय डलर मानवीय सहायता स्वरूप फिर्ता दिए, र उनलाई कुनै अभियोग बिना नै छोडिदिए।’ विज्ञप्तिमा भनिएको छ,’ यी यात्रीले आफूसँग भएको नगदको परिमाण जानाजानी कम घोषणा गरेर आफ्नो ट्रस्टेड ट्राभलर सम्झौताका सर्तहरूको घोर उल्लङ्घन गरेका छन्, र परिणामस्वरूप उनले आफ्नो ट्रस्टेड ट्राभलर विशेषाधिकारहरू गुमाउनेछन् ।’
फिलाडेल्फियाका सीबीपीका कार्यवाहक क्षेत्र बन्दरगाह निर्देशक इलियट ओर्टिजले आगमन वा प्रस्थान निरीक्षणको क्रममा भन्सार तथा सीमा सुरक्षा अधिकारीहरूलाई आफ्नो सबै नगदको सत्य विवरण घोषणा गरेर नगद घोषणा सम्बन्धी कानुनहरूको पालना गर्न हुने बताएका छन् ।
‘अधिकांश यात्रीहरूले संघीय नगद घोषणा कानुनको पालना गर्छन्, तर केहीले अझै पनि पालना गर्नबाट उम्किने प्रयास गर्छन्। मे महिनामा, फिलाडेल्फियाका सीबीपी अधिकारीहरूले एउटा नगद पत्ता लगाउने कुकुरले संकेत गरेपछि ती व्यक्तिको हाते झोलामा र उनको शरीरमा लुकाइएको घोषणा नगरिएको ४४ हजार जफत गरेका थिए।’ ओर्टिजले भने ।
उनले यात्रीहरूले आफूले चाहे जति नगद र अन्य मौद्रिक उपकरणहरू बोक्न सक्ने तर दश हजार भन्दा बढीको कुनै पनि रकम अमेरिकी ट्रेजरीको फारममा घोषणा गर्नु बताए ।
‘नगद घोषणा फारम भर्न केही मिनेट मात्र लाग्छ। सीबीपीले प्रक्रियालाई झन् सरल बनाएको छ ताकि यात्रीहरूले विमानस्थलको प्रस्थान गेटमा पुग्नु अघि नै fincen105.cbp.dhs.gov मा अनलाइन फारम भरेर बुझाउन सकुन्। यात्रीहरूले फारम भर्नका लागि आफ्नो प्रस्थान गेटमा रहेका सीबीपी अधिकारीहरूसँग सहयोग पनि माग्न सक्छन्।’ उनले भने ।
सीबीपी अधिकारीले आर्थिक वर्ष २०२५ मा करिब एक लाख ८० हजार अमेरिकी डलर घोषणा नगरिएको वा अवैध नगद जफत गरेको विज्ञप्तिमा उल्लेख छ ।















