भर्जिनियामा “बीपीको विचार र आजको सन्दर्भ” विचार गोष्ठी हुने
भर्जिनिया, अमेरिका / नेपाली जनसम्पर्क समिति अमेरिका, भर्जिनिया च्याप्टरको आयोजनामा नेपाली राजनीतिका शिखर पुरुष, प्रखर समाजवादी नेता एवम् विशिष्ट साहित्यकार विश्वेश्वर प्रसाद (बीपी) कोइरालाको ४४ औं स्मृति दिवसको अवसर पारेर एक विशेष विचार गोष्ठी आयोजना गरिने भएको छ।
च्याप्टरका सभापति याम कुमार सिटौलाको सभापतित्वमा जुलाई १७ का दिन बसेको कार्यसमितिको आकस्मिक बैठकले उक्त कार्यक्रम गर्ने निर्णय गरेको हो।
बैठकमा उपसभापति हरि प्रसाद लामिछाने, सचिव देवेन्द्र भट्टराई तथा कार्यसमिति सदस्यहरू गायत्री सिग्देल, मौसम राई, विश्व सिग्देल र हेमु घिमिरेको उपस्थिति रहेको थियो।
“बीपीको विचार र आजको सन्दर्भ” शीर्षक दिइएको उक्त सार्वजनिक विचार गोष्ठीमा बीपी कोइरालाको राजनीतिक दर्शन, प्रजातान्त्रिक समाजवाद र आजको समसामयिक परिस्थितिमा उनको विचारको सान्दर्भिकता बारे बृहत् छलफल हुने आयोजकले जनाएका छन्।
अमेरिकाका लागि नेपाली कार्यवाहक राजदूत शरद राज शरणको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने जनाइएको छ ।
बीपी कोइरालाका प्रसिद्ध भनाइहरू “देश भन्नुहोस् वा राष्ट्र त्यो भूगोल होइन, त्यो यथार्थमा जनता हो” र “लोकतन्त्रमा असहमति देशद्रोह होइन अधिकार हो” भन्ने मूल मर्मलाई आत्मसात गर्दै आजको सन्दर्भमा यसको महत्त्व बारे बहस गरिनेछ।
आयोजक भर्जिनिया च्याप्टरका सभापति याम कुमार सिटौलाले भर्जिनिया, मेरील्याण्ड, र डिसी क्षेत्रमा बसोबास गर्ने आम सचेत नेपाली नागरिकहरू, सामाजिक अभियन्ताहरू, विभिन्न सङ्घ-संस्थाका प्रमुख एवं प्रतिनिधिहरू लगायत सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेका छन् ।
कार्यक्रमको विवरण:
- मिति: आगामी जुलाई २५, २०२६ (शनिबार)
- समय: बिहान ९:०० बजेदेखि दिउँसो १२:०० बजेसम्म
- स्थान: 10306 Eaton Place, Fairfax, VA 22030
















