अगस्टमा अधिवेशन नभए मेरो राजीनामा : संयोजक केसी
ल्यानक्यास्टर पेन्सिल्भेनिया / नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन तोकिएकै मितिमा हुने संयोजक धनञ्जय नरसिंह केसीले बताएका छन् ।
‘नेपाली जनसम्पर्क समिति अधिवेशनमा फेरि खड्को? पैसाले ल्याउला अड्को!’ शीर्षकको समाचार शुक्रवार प्रकाशित भए पछि समाज टाइम्सको सम्पर्कमा आएका संयोजक केसीले निर्धारित मितिमा अधिवेशन नभए आफूले त्यही साँझ राजीनामा दिने बताए ।
‘म लामो समय पदमा रहन आएकै होइन, अब म नेतृत्वमा आउने पनि होइन, त्यसकारण तोकिएकै समयमै अधिवेशन हुन्छ ढुक्क हुनुस्।’ केसीले भने।
अगस्ट १४ देखि १६ तारिख सम्म भर्जिनियामा अधिवेशन हुने मिति तय भएको छ । नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन १२ वर्ष पछि पहिलो पटक हुन लागेको हो ।
सन् २०१४ मा टेक्ससमा सम्पन्न अधिवेशनबाट सभापतिमा निर्वाचित आनन्द विष्टको नेतृत्वमा रहेको समिति भङ्ग गर्दै नेपाली कांग्रेसले केसीलाई संयोजक तोकेको थियो । केसी विष्ट समितिका वरिष्ठ उपसभापति थिए ।
पार्टीले अहिलेसम्म लेबी नपाएको र त्यसैका कारण अधिवेशन हुनेमा अन्योल गरेको समाचार समाज टाइम्सले प्रकाशित गरेको थियो ।
केसीले संयोजकको जिम्मेवारी लिए पनि विष्टको नाममा रहेको बैंक खाता अहिलेसम्म नामसारी गरेका छैनन् । पार्टीलाई झण्डै चार हजार सदस्यको प्रतिव्यक्ति १५ डलरका दरले लेबी पठाउनु पर्ने हुन्छ। जुन अहिलेसम्म पठाइएको छैन ।
केसीले पार्टीलाई पठाउने लेबीका बारेमा कुनै जवाफ दिएनन् ।
समाज टाइम्सको पटक पटकको प्रश्नमा केसीले एउटै कुरा दोहोर्याए, ‘म अरू कुरा जान्दिनँ, अधिवेशन तोकिएकै मितिमा हुन्छ, नभए मेरो राजीनामा आउँछ।’
अनि लेबी कुन पैसाले तिर्नु हुन्छ भन्ने प्रश्नमा उनले फेरि भने, ‘अधिवेशन हुन्छ ।’
बैंक खाता पनि चलाउनु भएको छैन अनि अधिवेशनको खर्च कसरी गर्नु हुन्छ, अहिले होटल बुकिङ लगायतका खर्च कहाँबाट भइरहेको छ भन्ने प्रश्नमा केसीले त्यो ‘प्राइभेसी’ भएको बताए।
‘कसको क्रेडिट कार्ड प्रयोग भयो भन्ने कुरा सोध्न मिल्दैन यो प्राइभेसी हो अमेरिकाको कानुनले पनि त्यो दिन्छ ।’ केसीले भने।
यसरी कसरी पारदर्शी हुन्छ भन्ने प्रश्नमा उनले अहिलेसम्म आफूहरूले अधिवेशनको लागि कुनै पनि चन्दा सहयोग नउठाएको दाबी गरे।
‘हामी रजिस्ट्रेसन शुल्क र उम्मेदवारको मनोनयन शुल्क बाहेक एक डलर पनि लिँदैनौँ ।’
उनले कुनै व्यक्तिले सामग्री नै प्रायोजन गर्न चाहेमा त्यसलाई नरोकिने बताए । ‘कसैले झोला दिन्छौ भने त्यो लिन्छौ ।’ केसीले भने।
केसीले अडिट नगरी बैंक खाताको जिम्मा लिन नचाहेको बताए ।
‘तपाईँलाई थाहा छ १२ वर्षमा जनसम्पर्कमा के कति गतिविधि भए, आर्थिक विषयमा पनि पटक पटक कुरा उठेका छन्। म लामो समयका लागि यो जिम्मेवारीका लागि आएको होइन । अहिले अडिट गराउने समय मसँग छैन।’
उनले आफू वरिष्ठ उपसभापतिको रूपमा विगतका कमजोरीको जिम्मेवार भने हुने तर सबै आर्थिक गतिविधिको जिम्मा नलिने बताए।
















