डा. हेमराज शर्माको ‘रिबाइन्डिङ्ग एनआरएनए’ : पैसा दिनुस्, नियुक्ति पत्र लिनुस् !
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को पछिल्लो चुनावमा अध्यक्षका उम्मेदवार डा. हेम राज शर्माले ‘रिबाइन्डिङ्ग एनआरएनए’ नारा बोकेका थिए ।
झण्डै दुई दशकको इतिहास बोकेको एनआरएनएमा त्यति नै समय कुनै न कुनै महत्त्वपूर्ण जिम्मेवारीमा रहेका शर्माले एनआरएनएमा कस्तो रूपान्तरण खोजेका हुन् ? धेरैको चासो थियो।
हुन त जुन दिन डा. शर्माले एनआरएनएको विधान लेखनको जिम्मेवारी पाए त्यसै दिन देखि विवादको बिउ रोपिएको थियो ।
‘पैसा खर्च नगरी पनि एनआरएनए अध्यक्ष हुनु पर्छ, व्यापारीहरूबाट एनआरएनलाई बौद्धिक क्षेत्रमा ल्याउन पर्छ।’ औपचारिक वा अनौपचारिक कुराकानीमा उनी भनिरहेका हुन्थे ।
विधानलाई आफू अनुकूल ढाल्ने डा. शर्माको ‘कला’ लाई चुनौती दिन अहिले सम्म एनआरएनएमा जन्मिएको छैन । नेपालमा एक समय निकै प्रख्यात रहेको ‘हरिबहादुर- मदनबहादुर’ टेलिचलचित्रको हरिबहादुर पात्र सँग कता कता मिल्ने डा. शर्माको स्वभाव । जसरी पनि आफू माथि हुनु पर्ने ।
नेपालमा बाग्लुङमा जन्मिएर लण्डनमा प्राध्यापनमा रहेका शर्मा चुनावै नलडी अध्यक्ष भए । खासमा अर्को समूहमा अध्यक्ष महेश श्रेष्ठले कार्यसमितिको बहुमत सदस्यको विरोध हुँदा हुँदै तत्कालिन समयका अध्यक्ष डा. बद्री केसी समक्ष ‘घुँडा’ टेके पछि डा. शर्माको भाग्य खुलेको थियो।
अरूलाई नैतिकताको पाठ पढाउने डा. शर्माले आफू अध्यक्ष हुने नाममा विधानको कति सम्म हुर्मत लिए की हलमा भए जति सबैलाई पुग्ने गरि ‘पद’ थपी दिए।
चाहिएका सबैलाई पद दिने डा. शर्माको ‘रिबाइन्डिङ्ग एनआरएनए’ नाराले हालै सम्पन्न ११५औँ आइसीसी बैठकमा पनि निरन्तरता पायो, ‘पैसा देऊ पद लेउ’ ।
बाचा ‘स्मार्ट एनआरएनए’ को, व्यवहार ‘टिका प्रथा’
डा. हेमराज शर्माले नेतृत्व सम्हाल्नु अगाडि विश्वभरका गैर-आवासीय नेपालीमाझ ठुला-ठूला आदर्शका बाचाहरू बाँडेका थिए। संस्थालाई प्रविधिमैत्री, पारदर्शी र ‘स्मार्ट एनआरएनए’ बनाउने, चुनावी विकृति रोक्ने र कार्यकर्तामुखी नभई श्रमजीवीमुखी बनाउने यस्तै यस्तै ।
तर, व्यवहारमा ठ्याक्कै उल्टो भयो। प्रविधिको लेपन त लगाइयो, तर भित्री संरचनामा ‘पैसा र पदको भागबन्डा’ झन् संस्थागत गरियो। हिजो चुनावी प्रणाली र आर्थिक चलखेलको चर्को विरोध गर्नेहरू नै आज विना चुनाव, ‘टिका प्रथा’ बाट पद हत्याउने र बाँड्ने खेलको मुख्य खेलाडी बनेका छन्।


‘पैसा लेउ पद देऊ मुखमा बुझो लगाउ’
हिजो किन विवाद भयो र आज कुन स्वार्थमा रातारात मिलन भयो? यसको जवाफ सर्वसाधारण डायस्पोराले खोज्नै पर्दैन; पद पाएपछि सबै नियम, कानुन र नैतिकता आफैँ ठिक ठाउँमा आउने रहेछन्।
नि:स्वार्थ सामाजिक सेवा र परोपकारको गफ दिने संस्थामा अब योग्यता र भावना होइन, पैसा नै पद बस्ने र टिक्ने मुख्य कडी बनेको छ।
अहिलेको आइसीसीका पदाधिकारीको अनुहार हेरेर मान्छेहरू जिब्रो टोक्न थालेका छन्। कहाँको उपेन्द्र महतो, शेर घलेहरूले चलाएको एनआरएनए । मनोनयन शुल्क पनि अरूले तिरिदिनु पर्ने अहिलेका पदाधिकारी ।
एनसीसीमा हारेकाहरू आइसीसीमा पद किन्न पाउँदा मुर्छित छन् ।
हिजोका दिनमा एनआरएनएको नेतृत्वमा पुग्न विश्वभरका डेलिगेट्सको मन जित्नुपर्थ्यो, एजेन्डा चाहिन्थ्यो, र चुनाव लड्नुपर्थ्यो। तर डाक्टर साबको यो नयाँ आइडियाले चुनाव लड्ने झन्झटलाई सदाका लागि अन्त्य गरिदिएको छ। अब तपाइँ समाजमा कति लोकप्रिय हुनुहुन्छ वा प्रवासी नेपालीका लागि कति पसिना बगाउनुभयो भन्ने कुराको कुनै अर्थ छैन। केवल केन्द्रले तोकेको ‘मनोनयन शुल्क र लेभी’ को बिटो खल्तीमा बोकेर बालुवाटार छिर्नुस्, गोजीबाट पैसा झिक्नुस् र घाँटीमा खादा र हातमा ‘आईसीसी पदाधिकारी’ को प्रमाणपत्र भिरेर निस्कनुस्।
संस्थाको विधान भनेको त्यसको मूल कानुन हो, जुन संस्थाको हित र दूरगामी सुधारका लागि संशोधन गरिनुपर्ने हो। तर, एनआरएनएमा विधानलाई एउटा यस्तो लचिलो रबर बनाइयो, जसलाई शक्तिशाली व्यक्ति र असन्तुष्ट गुटहरूको स्वार्थ अनुकूल जति पनि तन्काउन सकिन्छ।
यो संशोधन संस्था बलियो बनाउन होइन, बरु संस्थाबाट भाग्न खोजेका, रिसाएका वा अलग्गै पसल थाप्न खोजेका ‘पदका भोका अभियन्ताहरू’ लाई साइजमा ल्याउन र पदको ललिपप बाँडेर मुख थुनिदिनका लागि मात्र गरिएको प्रष्ट देखिन्छ।
हालैका बैठकद्वारा मनोनितहरुको लिष्ट



पदका भोका अभियन्ता र सामाजिक सञ्जालको ‘तमासा’
सबैभन्दा अचम्मको र रमाइलो दृश्य त सामाजिक सञ्जालमा देखिएको छ। पैसा तिरेर, टिका लगाएर र भागबन्डाबाट पाएको यो ‘कागजी पद’ को पनि अचम्मको रवाफ र तडकभडक छ।
सामाजिक सञ्जालका भित्ताहरू ‘मनोनीत हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना’ का थरथरीका डिजिटल पोस्टरहरूले भरिएका छन्।
विना चुनाव, कसैको भोट नै नपाई, केवल केन्द्रको चाकडी र गोजीको बलमा पाएको पदको यो बधाई साटासाट देख्दा लाग्छ– यिनीहरूले प्रवासी नेपालीका लागि कुनै ठूलो युद्ध नै जितेर आएका हुन्। पैसा खर्च गरेर किनेको पदको यो ‘फेसबुकिया उत्सव’ परिणत भएको छ ।
जे होस , डा. शर्माको आइडिया चैँ गज्ज्बै हो: सबै मख्ख, बैंक ब्यालेन्स पनि टन्न
जानकारीमा आए अनुसार एनआरएनको बैक खाता ओरालो गतिमा छ । अब कुनै पनि बेला कर्मचारीलाई तलब खुवाउन सकिएन भन्ने खबर बाहिरियो भने आश्चर्य नमाने हुने देखिएको छ ।
हुन पनि काठमाडौँको आलिसान सचिवालय चलाउन र कर्मचारीलाई महँगो तलब खुवाउन जुन करोडौँको वार्षिक बजेट (एनेक्स २ मा उल्लेख भए अनुसार रु. ५ करोड ३७ लाखभन्दा चाहिन्छ ।
आउने ठाउँ ठप्प खर्च मात्र ह्वारह्वारती भएको बेलमा पद बेच्ने डा. शर्माको ‘रिबाइन्डिङ्ग एनआरएनए’ अन्तर्गत पैसा देऊ पद लेउ नारालाई राम्रै मान्ने पनि छन्।
संसारभरिका पदका भोका आकाङ्क्षीहरूले विना चुनाव, विना मिहिनेत खुरुखुरु पद पाए। कसैको चित्त दुख्ने ठाउँ नै रहेन। र संस्थाको खातामा पैसो पनि जम्मा भयो ।
हुन पनि एनआरएनए अब केहीका लागि रत्यौली खेल्ने ठाउँ नै भएको छ । नत्र हिजो एनआरएनए अमेरिकामा बिकास उप्रेती र सतेन्द्र साह किन दुई ठाउँमा चुनाव उठे र आज किन घुँडा टेके ?

















