भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि पाँच लाखभन्दा बढी सहयोग
भर्जिनिया, अमेरिका / अमेरिकाको भर्जिनिया राज्यमा विगत तीन वर्षदेखि धार्मिक, सामाजिक तथा सांस्कृतिक उद्देश्यका साथ सक्रिय रहँदै आएको ‘हाम्रो भजन समूह’ले नेपालमा आएको विनाशकारी बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावितहरूका लागि पाँच लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ।
समूहले आफ्नो कोषबाट अमेरिकी डलर १ हजार (करिब नेपाली रु. १ लाख ५२ हजार) सहयोग गर्ने निर्णय गरी उक्त रकम नेपाल पठाइसकेको जनाएको छ।
यसका साथै समूहमा आबद्ध सदस्य तथा साथीहरूले व्यक्तिगत रूपमा समेत बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावितहरूको सहयोगका लागि नेपाली रु. ३ लाख ५० हजारभन्दा बढी रकम पठाएका छन्। समूहगत तथा व्यक्तिगत सहयोग गरी कुल पाँच लाख रुपैयाँभन्दा बढी सहयोग गरिएको समूहका अध्यक्ष भरत सुबेदीले जानकारी दिएका छन्।
भर्जिनियामा विगत तीन वर्षदेखि सक्रिय समूहले नियमित रूपमा मासिक भजन–कीर्तन गर्नुका साथै देउसी–भैलो लगायत विभिन्न धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरूमा सहभागिता जनाउँदै आएको छ।
अध्यक्ष सुबेदीले धर्म र संस्कृति केवल भजन–कीर्तन तथा चाडपर्वमा मात्र सीमित नभई दुःखमा परेकालाई साथ दिनु र सकेको सहयोग गर्नु पनि आफ्नो कर्तव्य भएको बताए। समूहले यही भावनालाई आत्मसात् गर्दै मानवीय सेवामा सहयोग गरेको उनको भनाइ छ।
यस मानवीय कार्यमा हौसला, प्रेरणा र उत्साह प्रदान गर्ने समूहका वरिष्ठ संरक्षक हरिप्रसाद तिमिल्सिना लगायत सम्पूर्ण सदस्य तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति अध्यक्ष सुबेदीले धन्यवाद तथा आभार व्यक्त गरेका छन्।
हाम्रो भजन समूहका सदस्यहरू :
भरत सुबेदी, राजु अधिकारी, आकाश अधिकारी, राजेन्द्र तिमिल्सिना, शंकर तिमिल्सिना, बृहस्पति लम्साल, संसार पौडेल, सोमराज घिमिरे, प्रकाश आचार्य, बिश्व सिग्देल, गणेश शिवाकोटी, नव अधिकारी, केशव सिग्देल, रमेश बाबु चापागाईं, सन्दीप बास्तोला र शोभाकान्त अधिकारी।
समूहले आगामी दिनमा पनि दुःख र आवश्यकताको समयमा एकअर्काको साथमा उभिँदै सेवाभाव र सहयोगको भावना कायम राख्ने जनाएको छ।
नेपालमा बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित सम्पूर्ण परिवारप्रति समूहले गहिरो सहानुभूति व्यक्त गर्दै दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।














