युके मिलाउन नसकेको आईसीसीले किन टार्गेट गर्दैछ एनआरएन अमेरिकालाई?
ल्यानक्यास्टर , पेन्सिल्भेनिया / गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) यति बेला विश्वकै सबैभन्दा ठूलो र शक्तिशाली मानिने राष्ट्रिय समन्वय परिषद् (एनसीसी) संयुक्त राज्य अमेरिकालाई आफ्नो नियन्त्रणमा लिने कसरतमा लागेको छ ।
केन्द्रमा भएको तथाकथित एकताको आडमा आईसीसीले अमेरिकाका दुई क्रियाशील समूहहरूलाई पत्र काट्दै उनीहरूको पूर्वघोषित साधारण सभा रोक्न हठात् उर्दी जारी गरेपछि एनआरएन अमेरिकाभित्र नयाँ तरङ्ग पैदा भएको छ ।
अमेरिकामा विकास उप्रेती र सतेन्द्र शाह नेतृत्वका दुई फरक-फरक एनसीसी समूहहरू क्रियाशील छन् । दुवै समूहले आगामी जुलाई १८-१९ मा टेक्ससका दुई फरक सहरहरूमा आ-आफ्नो वार्षिक साधारण सभाको तयारी तीव्र पारेका थिए ।
तर, आइतबार आईसीसीका महासचिव चिरञ्जीवी खड्काले दुवै पक्षलाई सम्बोधन गर्दै साधारण सभा रोक्न र विघटनको चेतावनी सहितको कडा अल्टिमेटम पत्र पठाए पछि उप्रेती पक्षले अधिवेशन रोक्ने जनाएको छ। तर शाह पक्षले भने अधिवेशन नरोक्ने र तोकिएको मितिमै गर्ने तयारी गरिरहेको शाह नेतृत्वको कार्यसमितिका एक पदाधिकारीले बताए।
आईसीसी महासचिव डा. चिरञ्जीवी खड्काद्वारा प्रेषित पत्रमा जुलाई १३ (सोमवार) अपराह्न ५:०० बजेभित्र लिखित जवाफ नदिए वा समानान्तर साधारण सभा नरोके कडा कानुनी कारबाही गर्ने चेतावनी दिइएको छ।
पत्रमा भनिएको छ: “दुवै एनसीसीबाट सन् २०२६ जुलाई १८-१९ मा फरक-फरक स्थानमा आयोजना गर्न आह्वान गरिएका वार्षिक साधारण सभा सम्बन्धी सम्पूर्ण कार्यक्रम तत्काल स्थगन गरी सोको लिखित जानकारी संघलाई उपलब्ध गराउनू।” साथै, आईसीसीले जुलाई १६ मा उपाध्यक्ष रोशन थापाको संयोजकत्वमा गठन गरिएको “एकता सहजीकरण तथा सुझाव समिति” मार्फत भर्चुअल वा निर्देशित रूपमा आयोजना हुन गइरहेको ‘एकता अधिवेशन’ मा सहभागी हुन निर्देशन दिएको छ।
यदि यो निर्देशन पालना नगरे विधानको दफा १७ (उपदफा १७.७ को खण्ड १७.७.२) बमोजिम एनसीसी अमेरिकाको मान्यता नै खारेज गर्ने वा विघटन गर्ने कठोर धम्की केन्द्रले दिएको छ।
एनआरएनएको केन्द्रमा १२ औँ महाधिवेशन (मार्च २०२६) मार्फत डा. हेमराज शर्माको नेतृत्वमा ‘बृहत् एकता’ को घोषणा त गरियो, तर यो एकता केन्द्रका केही सीमित नेताहरू मिल्ने दाउपेच मात्र बनेको आरोप छ।
विगतमा अमेरिकामा पनि केन्द्रको गुटबन्दीकै बाछिटा पुगेको थियो। तत्कालीन समयमा संघका उपाध्यक्ष रविन बज्राचार्य, सहजीकरण समितिका रोशन थापा र स्वयम् अध्यक्ष डा. हेमराज शर्माले दुवै समूहलाई मिलाउन दर्जनौँ पटक छलफल त गरे, तर फेसबुके सहजीकरण र चुनावी लेनदेनका कारण कुनै निकास निस्कन सकेन।
अहिले आएर पूर्ण तयारी भइसकेको साधारण सभा रोक्न दबाब दिनुले केन्द्रको ‘तानाशाही’ प्रवृत्तिका रूपमा कतिपयले व्याख्या गरेका छन्। आईसीसीले अमेरिकाका सम्पूर्ण पञ्जीकृत सदस्यहरूलाई बोधार्थ पठाउँदै कडा पत्र सार्वजनिक गरेपछि अमेरिकाका साधारण सदस्यहरू आक्रोशित छन्।
अध्यक्ष डा. शर्माले आफ्नै गृह देश युकेको विवाद मिलाउन नसकिरहेको अवस्थामा अमेरिकामाथि यसरी “बलजफती” निर्णय लाद्न खोज्नुले संस्थालाई एकता होइन, थप विभाजन र कानुनी लडाइँतर्फ धकेल्ने खतरा बढाएको छ।
एनआरएनए अमेरिका केवल एक एनसीसी मात्र होइन, यो संघकै सबैभन्दा धेरै पञ्जीकृत सदस्य, बलियो आर्थिक स्रोत र प्रभाव भएको शक्तिशाली च्याप्टर हो।
केन्द्रको राजनीति सधैँ अमेरिकाकै पकड र प्रभावको वरिपरि घुम्ने गर्दछ। पछिल्लो समय आईसीसीले सामाजिक सञ्जाल र जुम बैठकका भरमा ‘फेसबुके’ शैलीमा तदर्थ समितिहरूलाई मान्यता दिने र आम जनमतलाई बेवास्ता गर्दै निर्णयहरू लाद्ने कसरत गरिरहेको आरोप लाग्दै आएको छ।

















