नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन: होस्ट च्याप्टर भर्जिनिया तात्यो
भर्जिनिया, अमेरिका / नेपाली जनसम्पर्क समिति अमेरिकाको ९ वर्षदेखि रोकिएको केन्द्रीय महाधिवेशन सम्पन्न गराउनका लागि आयोजक स्थल (होस्ट) च्याप्टर भर्जिनियाले आफ्नो आन्तरिक तयारी शुरु गरेको जनाएको छ ।
जनसम्पर्क समिति नेपाली कांग्रेसको विदेश स्थित भातृ संगठन हो । सन् २०१४ मा टेक्ससमा सम्पन्न महाधिवेशन पछि पहिलो पटक जनसम्पर्क समितिको अधिवेशन हुन लागेको हो ।
टेक्सस अधिवेशनबाट आनन्द विष्ट सभापतिमा निर्वाचित भएका थिए । विधानतः उनले सन् २०१७ मा अर्को निर्वाचन गराउन पर्ने थियो । तर उनले विभिन्न बहानामा १२ वर्ष सम्म अध्यक्षको पद छोडेनन् ।
पछिल्लो प्रतिनिधि सभा निर्वाचनमा विष्ट नेपालमा उम्मेदवार बनेपछि नेपाली कांग्रेस केन्द्रीय कार्यालयले विष्ट कमिटीका वरिष्ठ उपाध्यक्ष धनञ्जय नरसिंह केसीको संयोजकत्वमा तदर्थ समिति गठन गरेको थियो।
सोही तदर्थ समितिले कार्यकाल सकिएको ९ वर्षपछि यो प्रतीक्षित महाधिवेशन गर्न लागेको हो। अगस्ट १४, १५ र १६ गते डीसी मेट्रो क्षेत्रमा केन्द्रीय महाधिवेशन गर्ने भनिएको छ । आफ्नो क्षेत्रमा अधिवेशन हुने भए पछि भर्जिनिया च्याप्टरले विशेष सक्रियता देखाएको हो।
च्याप्टरको शनिवारको बैठकले आफ्नो आन्तरिक तयारी र साङ्गठनिक परिचालनलाई तीव्र पारेको जनाएको छ ।
च्याप्टरका सभापति याम कुमार सिटौलाको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनलाई सभ्य र भव्य रूपमा सफल पार्न सम्पूर्ण नेता, सदस्य तथा प्रजातन्त्रवादी शुभेच्छुकहरूमा सक्रिय सहभागिताका लागि हार्दिक अपिल गरेको छ ।
यस्तै बैठकले च्याप्टरलाई पूर्ण रूपमा गतिशील बनाउन र साङ्गठनिक सुदृढीकरणका निम्ति निवर्तमान सभापति रामशरण हुमागाईँको संयोजकत्वमा एक उच्चस्तरीय सल्लाहकार समिति गठन गरिएको जनाएको छ।
समितिका सदस्यहरूमा डा. देशराज संयोक, मुक्तिनाथ पन्त, राम मिश्र, अर्जुन सिग्देल, लक्ष्मीकान्त गौडेल, केदार प्रसाद तिम्सिना, भरत रेग्मी, याम प्रसाद कोइराला, पदम राज रेग्मी र माधव गौतम रहेका छन् ।
साथै, भर्जिनियामा बसोबास गर्ने आम नेपाली समुदायको हित रक्षा र आवश्यक समन्वयका लागि बैठकले चार वटा महत्त्वपूर्ण कार्यगत विभागहरू गठन गरेको छ ।
जसमा समुदाय सम्बन्ध एवं कल्याण विभाग, प्रशासन एवं सञ्चालन विभाग, सञ्चार एवं जनसम्पर्क विभाग र नीति एवं अन्तर्राष्ट्रिय सम्बन्ध विभाग रहेका छन् ।
बैठकमा महाधिवेशनका स्थानीय व्यवस्थापन समिति संयोजक राम मिश्रले हालसम्मको प्रगति विवरण र तयारीको अवस्थाबारे जानकारी गराउँदै महाधिवेशन सफल पार्न सबै प्रजातन्त्रवादी शक्तिहरूलाई हातेमालोका लागि अपिल गरे ।
नेता मुक्तिनाथ पन्तले कार्यकाल सकिएको लामो समयपछि हुन लागेको यो महाधिवेशनको औचित्य र आवश्यकतामाथि जोड दिँदै यसलाई सशक्त रूपमा सफल पार्न सबै एकजुट हुनुको विकल्प नभएको बताए ।
यस्तै अर्का नेता डा. देशराज संयोकले नवगठित विभागहरूको कार्य ढाँचा, महत्त्व र च्याप्टरलाई समयानुकूल बनाउनेबारे रचनात्मक सुझावहरू प्रस्तुत गरेका थिए ।
स्थानीय नेता एवं सामाजिक अभियन्ताहरू पदमराज रेग्मी, माधव गौतम, कृष्ण सादगी र प्रमोद पोखरेल लगायतले महाधिवेशन सफल पार्न र च्याप्टरको गरिमा उच्च राख्न आवश्यक सल्लाह-सुझाव दिँदै सफलताको शुभकामना व्यक्त गरेका थिए ।
च्याप्टरका उपसभापति हरि प्रसाद लामिछानेको स्वागत मन्तव्यबाट सुरु भएको उक्त विस्तारित बैठकमा नेपाली जनसम्पर्क समिति अमेरिकामा आबद्ध केन्द्रीय नेताहरू डा. देशराज संयोक, मुक्तिनाथ पन्त, राम मिश्र, लक्ष्मी प्रसाद गौडेल, पदमराज रेग्मी र गेहेन्द्र पोखरेलको उपस्थिति थियो।
साथै, गैर आवासीय नेपाली संघ (एनआरएनए) भर्जिनिया च्याप्टरका सभापति अभिजित राई, सचिव सुरेश अधिकारी, एनआरएनए बोर्ड सदस्य माधव गौतम, एनआरएनए भर्जिनियाका पूर्व सभापति कृष्ण सादगी, विक्रम आत्रेय, सुबोध रेग्मी, अजिप विश्वकर्मा, दीपक अधिकारी र विश्व सिग्देल लगायतका स्थानीय सामाजिक अगुवाहरूको व्यापक उपस्थिति रहेको थियो।

















