लस एन्जलसमा यौन बेचबिखन गिरोहका १० सदस्य पक्राउ, ५१ पीडितको उद्धार
वासिङ्टन / यु.एस. डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डिएचएस) अन्तर्गतको विशेष कार्यदलले लस एन्जलस शहरमा संगठित गिरोहद्वारा सञ्चालित यौन बेचबिखन सञ्जाल विरुद्ध एक ठूलो र विशेष अपरेसन सम्पन्न गरेको छ।
‘अपरेशन ब्रोकन ब्लेड’ को दोस्रो चरण अन्तर्गत चालिएको यस कारबाहीमा कुख्यात ‘हुभर क्रिमिनल्स ग्याङ’ का १० जना सक्रिय सदस्य तथा सहयोगीहरूलाई पक्राउ गरिएको डिएचएसले जनाएको छ ।
डिएचएसद्वारा सोमबार जारी गरिएको विज्ञप्ति अनुसार अधिकारीहरुले कम्तीमा ५१ जना यौन बेचबिखनका पीडितहरूको पहिचान तथा उद्धार गरेका छन्।
सुरक्षा निकायका अनुसार यस गिरोहले विशेष गरी घर छोडेर भागेका र बाल हेरचाह केन्द्रमा रहेका असहाय बालबालिकाहरूलाई निशाना बनाउने गरेको पाइएको छ।
गिरोहका सदस्यहरूले पीडितहरूलाई फसाउन सामाजिक सञ्जालको व्यापक प्रयोग गर्ने गरेका थिए। उद्धार गरिएका पीडितहरूमध्ये केही १४ वर्ष उमेर समूहका बालबालिकाहरू समेत रहेका छन्।
संदिग्धहरूमाथि पीडितहरूलाई डर, धम्की र शारीरिक बल प्रयोग गरी जबरजस्ती यौन व्यवसायमा धकेल्ने गरेको र पहिचानका लागि उनीहरूको शरीरमा जबरजस्ती छाप समेत लगाउने गरेको जस्ता क्रूर आरोपहरू लगाइएको छ।
पक्राउ परेका १० सन्दिग्धहरू विरुद्ध यौन बेचबिखन, सम्पत्ति शुद्धीकरण , अवैध हतियार कारोबार र लागू औषध ओसारपसार जस्ता गम्भीर अपराधहरू समेटेर संगठित अपराधको मुद्दा दर्ता गरिएको छ।
डिएचएसका अनुसार पक्राउ परेका अधिकांश व्यक्तिहरू यसअघि पनि डकैती, अपहरण र चोरी जस्ता गम्भीर अपराधमा संलग्न रहँदै आएका पेशेवर र पुराना अपराधी हुन्।
(तस्बिरहरु डिएचएस)

















