विश्वकप फुटबल : बालोगुनको सुरुवात, टिलम्यानको अन्त्य अमेरिका अन्तिम १६ मा प्रवेश
१० खेलाडीमा पनि रोकिएन अमेरिका, बोस्निया एन्ड हर्जेगोभिना प्रतियोगिताबाट बाहिरियो
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / आयोजक राष्ट्र अमेरिका जारी फिफा विश्वकप फुटबलको अन्तिम-१६ मा प्रवेश गरेको छ ।
सान फ्रान्स्सिकोमा बुधवार भएको अन्तिम ३२ को खेलमा अमेरिकाले बोस्निया एन्ड हर्जेगोभिनालाई २–० गोल अन्तरले पराजित गर्दै प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको हो । घरेलु समर्थकको उत्साहपूर्ण साथ पाएको अमेरिकाले उत्कृष्ट खेल प्रदर्शन गर्दै महत्त्वपूर्ण जित हासिल गर्यो।

खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक बने पनि अमेरिकाले अतिरिक्त समयमा पहिलो गोल गर्दै अग्रता लिएको थियो ।
फर्वाड फोलारिन बालोगुनले उत्कृष्ट अवसरको सदुपयोग गर्दै टोलीलाई १–० को अग्रता दिलाए। दोस्रो हाफमा अमेरिकाले केही समय १० खेलाडीमा सीमित भएर खेल्नुपरे पनि टोलीले संयम गुमाएन र रक्षात्मक रूपमा उत्कृष्ट प्रदर्शन गर्यो।
बोस्निया एन्ड हर्जेगोभिनाले बराबरी गोल फर्काउने प्रयास गरे पनि अमेरिकी रक्षापंक्ति र गोलरक्षकले उत्कृष्ट प्रदर्शन गर्दै विपक्षीलाई सफल हुन दिएनन्। खेलको ८२औँ मिनेटमा मालिक टिलम्यानले आकर्षक फ्रि-किकमार्फत दोस्रो गोल गर्दै अमेरिकाको जित सुनिश्चित गरे। त्यसपछि बोस्नियाले दबाब बढाए पनि खेलमा फर्किन सकेन।

यो जितसँगै अमेरिका विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । साथै, अमेरिकाले उपाधि यात्रालाई निरन्तरता दिएको छ।
घरेलु मैदानमा प्राप्त यस सफलताले अमेरिकी समर्थकमा थप उत्साह छाएको छ। प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीको सङ्घर्ष, अनुशासन र आत्मविश्वासको प्रशंसा गर्दै आगामी खेलका लागि अझ राम्रो तयारी गर्ने बताएका छन्।
पराजित बोस्निया एन्ड हर्जेगोभिनाले प्रतियोगिताबाट बिदा लिए पनि टोलीले प्रतियोगिताभर गरेको प्रदर्शन प्रशंसनीय रह्यो। अमेरिकाले अब क्वार्टरफाइनल यात्रा तय गर्ने लक्ष्यसहित अन्तिम १६ मा अर्को कठिन प्रतिस्पर्धाको सामना गर्नेछ।

अमेरिकाले अन्तिम १६ को खेलमा बेल्जियमको सामना गर्नेछ । त्यस्तै, बुधवार नै भएको अन्य खेलहरुमा बेल्जियमले सेनेगललाई ३-२ गोलले तथा इइल्याण्डले डिआर कंगोलाई २-१ गोलले पराजित गर्दै अन्तिम १६ को स्थान तय गरेको छ ।
तस्विर सौजन्य : फिफा

















