सर्वोच्च अदालतद्वारा राष्ट्रपति ट्रम्पको जन्मसिद्ध नागरिकता सम्बन्धी प्रतिबन्ध खारेज,जन्मसिद्ध अधिकार कायम
वासिङ्टन डिसी / अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मसिद्ध नागरिकता सम्बन्धी प्रतिबन्ध खारेज गरेको छ । सर्वोच्चको
मङ्गलवारको इजलासले जन्मसिद्ध नागरिकताको बृहत् अवधारणालाई कायम राखेको छ।
अमेरिकामा गैरकानुनी वा अस्थायी रूपमा रहेका मानिसहरूबाट जन्मिएका छोराछोरीहरू अमेरिकी नागरिक होइनन् भन्ने राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशलाई सर्वोच्चले अस्वीकार गरिदिएको हो ।
न्यायाधीशहरूले गृहयुद्धपछि अङ्गीकार गरिएको १४ औं संशोधनको लामो समयदेखिको स्थापित बुझाइ र हालैका सङ्घीय कानुनहरूमाथि भरोसा गर्दै धेरै सीमित अपवादहरूबाहेक देशमा जन्मिएका जो कोही पनि नागरिक भएको फैसला सुनाएका छन्।
सर्वोच्चका न्यायाधीशहरूले न्यू ह्याम्पशायरको एक तल्लो अदालतको फैसला विरुद्ध ट्रम्पले गरेको अपिलमाथि निर्णय सुनाएका हुन् । न्यू ह्याम्पशायरको अदालतले राष्ट्रपतिको आदेशलाई खारेज गरिदिएको थियो । तल्लो अदालत विरुद्ध राष्ट्रपति सर्वोच्च गएका थिए ।
गत अप्रिलमा भएको बहसमा राष्ट्रपति स्वयम उपस्थित भए पछि यो मुद्दाले थप चर्चा पाएको थियो ।
राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिनमा जन्मसिद्ध नागरिकता सम्बन्धी आदेशमा हस्ताक्षर गरेका थिए।

















