पेन्सिल्भेनिया ह्यारिसबर्गमा कला र सामाजिक न्यायको अन्तरसम्बन्ध केलाउन प्रदर्शनी
ह्यारिसबर्ग, पेन्सिलभेनिया / पेन्सिलभेनियाको ह्यारिसबर्गमा कला र सामाजिक न्यायको शक्तिशाली सम्बन्धलाई प्रस्तुत गर्ने एक विशेष कला प्रदर्शनी शुक्रवार देखि शुरु भएको छ ।
‘विभिङ आर्ट्स एण्ड सोसल जस्टिस’ शीर्षक दिइएको प्रदर्शनी २६ तारिखसम्म कमर्स ड्राइभ (2600 Commerce Drive, Harrisburg PA- 17109) मा दैनिक दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ।
प्रदर्शनीमा प्रवेस निःशुल्क रहेको छ ।
ह्यारिसबर्गमा समुदायमा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका नवल राई र पूजा थापाद्वारा प्रदर्शनी आयोजना गरिएको हो ।

‘विभिन्न सांस्कृतिक र राजनीतिक क्रान्तिका क्षणहरूमा सिर्जनशीलता र कला कसरी प्रतिरोधको बलियो माध्यम बन्यो भन्ने कुरालाई देखाउन हामीले प्रदर्शनीको आयोजना गरेका हौ।’ आयोजक मध्येकी एक पूजा थापाले समाज टाइम्स सँग भनिन् ।

अर्का आयोजक नवल राईका अनुसार प्रदर्शनीमा अमेरिका र नेपालका विभिन्न सामाजिक आन्दोलनहरूलाई आकार दिन प्रयोग गरिएका विविध कलात्मक अभिव्यक्तिहरूलाई एकै ठाउँमा समेटिएको छ।

प्रदर्शनीमा मुख्यतया ५ देखि ६ वटा फरक-फरक स्टेसनहरू रहनेछन्। प्रत्येक स्टेशनमा इतिहासका विशिष्ट आन्दोलन, ऐतिहासिक क्षण र तिनमा प्रयोग गरिएका कलाका माध्यमहरू प्रदर्शन गरिनेछ।

आगन्तुकहरूले प्रदर्शनीमा विभिन्न छापा कला (प्रिन्ट), वाद्यवादन, फोटोग्राफी, परम्परागत कपडा र रेकर्ड गरिएका कला प्रस्तुतिहरू प्रत्यक्ष अवलोकन गर्न पाउनेछन्।
‘यस प्रदर्शनीको मुख्य विशेषता भनेको हलको भित्ताहरूमा देखाइने नेपाल र अमेरिकाका सामाजिक आन्दोलनहरूको टाइमलाइन हो।’ थापाले भनिन्, ‘यसले विश्वका दुई फरक भूगोलमा भएका आन्दोलनहरूका समानता र विशिष्टताहरूलाई तुलनात्मक रूपमा बुझ्न मद्दत गर्नेछ।’
‘प्रदर्शनी केवल कलाको प्रदर्शन मात्र नभएर समुदायका सदस्यहरूलाई उनीहरूको आवाज, कथा र भोगेका अनुभवहरूको ठूलो महत्त्व छ भनी सम्झाउने एउटा सामाजिक कदम पनि हो।’ प्रदर्शनीको पहिलो दिन आयोजक नवल राईले भने, ‘यो प्रदर्शनीले कला र सामाजिक न्यायको अन्तरसम्बन्धलाई केलाउँछ। यसले सांस्कृतिक र राजनीतिक क्रान्तिका क्षणहरूमा रचनात्मकता कसरी एक महत्त्वपूर्ण माध्यम बनेको छ भन्ने कुरालाई उजागर गर्दछ।’


















