डुङ्गा मार्फत अवैध रुपमा अमेरिका प्रवेस गर्ने खोज्ने २५ चिनियाँ पक्राउ
फ्लोरिडा, अमेरिका / डुङ्गा मार्फत अवैध रुपमा अमेरिका प्रवेस गर्न खोज्ने २५ जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
यूएस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस) का अनुसार फ्लोरिडाको समुद्री तट नजिक उनीहरूलाई पक्राउ गरिएको हो । चिनियाँ नागरिकलाई अवैध रूपमा अमेरिका भित्र्याउने प्रयास गरिएको एउटा डुङ्गा रोक्न अमेरिकी कोस्ट गार्डले गोली प्रहार गर्नु परेको जनाइएको छ ।
डीएचएसका अनुसार, जुन १० मा डुङ्गालाई फ्लोरिडाको कीबिस्केन क्षेत्रको दक्षिणतर्फ करिब एक माइल दूरीमा रोक्न आदेश दिइएको थियो। तर डुङ्गाले कोस्ट गार्डको आदेश पालना नगरेपछि कारबाही गरिएको हो।
सुरुमा मियामी बिचस्थित कोस्ट गार्डका टोलीहरूले चेतावनी स्वरूप गोली चलाएका थिए। चेतावनी प्रभावकारी नभएपछि डुङ्गाको सञ्चालन क्षमता निष्क्रिय बनाउन लक्षित गोली प्रहार गरिएको थियो, जसका कारण डुङ्गा रोक्न सफल भएको डीएचएसले जनाएको छ। घटनामा कोही पनि घाइते भएका छैनन्।
डुङ्गा रोकिएपछि त्यसमा रहेका २५ जना चिनियाँ नागरिकलाई प्रक्रिया पूरा गर्न कोस्ट गार्डको जहाज मार्गरेट नोर्भेल मा सारिएको थियो। डुङ्गालाई नियन्त्रणमा लिएर मियामी बिचस्थित कोस्ट गार्ड केन्द्रमा लगिएको छ।
घटनापछि डिएचएस विशेष एजेन्टहरूले आपराधिक अनुसन्धान सुरु गरेका छन्। डीएचएसकी कार्यवाहक सहायक सचिव लरेन बिसले अमेरिका अवैध रुपमा प्रवेस गर्न बन्द रहेको भन्दै कडा चेतावनी दिएकी छिन् ।
“अवैध रूपमा अमेरिका प्रवेश गर्न खोज्नेहरूका लागि यो स्पष्ट सन्देश हो—त्यस्तो सोच समेत नराख्नुस्। स्थल मार्ग होस् वा समुद्री मार्ग, अमेरिकी सीमा बन्द छ।”

















