म्यासाचुसेट्समा ११ जनामा सरकारी सुविधा ठगीको अभियोग, भारतीय पनि
वासिङ्टन डी सी / मिनिसोटा र ओहायोमा मेडिकेड ठगीको प्रकरण सेलाउन नपाउँदै अमेरिकाको म्यासाचुसेट्समा सरकारी सुविधा ठगी योजनामा संलग्न ११ जना माथि अभियोग लगाइएको छ ।
अमेरिकी गृह प्रशासन डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरीटी (डिएचएस)ले अभियोग लागेकाहरूलाई ‘अवैध विदेशीहरू’ समेत भनेको छ ।
डिएचएसद्वारा बिहीबार जारी विज्ञप्तिमा उनीहरुले १.४ मिलियन डलरको सरकारी सुविधा ठगी योजनामा संलग्न रहेको भनिएको छ ।
होमल्याण्ड सेक्युरिटी इन्भेष्टिगेसनको अनुसन्धानपछि न्याय विभागले म्यासाचुसेट्समा सरकारी सुविधा ठगी योजनामा संलग्न ११ जना विदेशीहरू विरुद्ध अभियोग दर्ता गरेको हो ।
न्याय विभागले कुल १५ जना मध्ये चार जना अमेरिकी नागरिक भएको जनाएको छ ।
यस ठगीमा स्न्याप, म्यासहेल्थ र अपाङ्गता तथा बेरोजगारी सुविधाहरू लगायत अन्य सुविधाहरू समावेश भएको डिएचएसको विज्ञप्तिमा उल्लेख छ ।
“यी अपराधी अवैध विदेशीहरूले म्यासाचुसेट्सका करदाताहरूलाई १.४ मिलियन डलरभन्दा बढीको सार्वजनिक सुविधा ठगी गर्न षड्यन्त्र गरे, जसले गर्दा अमेरिकी नागरिकहरूलाई आवश्यक पर्ने सुविधाहरूबाट वञ्चित गराइयो,” डिएचएसद्वारा जारी विज्ञप्तिमा सचिव मार्कवेन मुलिन भनेका छन्, “यी ११ जना अपराधी अवैध विदेशीहरूले न्यायको सामना गरिसकेपछि, उनीहरूलाई तुरुन्तै हाम्रो देशबाट निष्कासन (डिपोर्ट) गरिनेछ ताकि उनीहरूले अमेरिकी करदाताहरूलाई फेरि कहिल्यै ठग्न नसकुन्।”
उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा, डीएचएस ले अमेरिकी जनतालाई फेरि पहिलो प्राथमिकतामा राखेको बताए ।
“यस छोटो विशेष अभियानको क्रममा हामीले १ मिलियन डलरभन्दा बढीको ठगी पत्ता लगाएका छौँ — तर यो त सुरुवात मात्र हो।” सचिव मार्कवेनले भनेका छन् ।
होमल्याण्ड सेक्युरिटी इन्भेष्टिगेसन एचएसआई न्यू इङ्गल्याण्डका कार्यवाहक विशेष एजेन्ट इन्चार्ज जेफ्री ग्रिमिङ अपराधीलाई न्यायको कठघरमा ल्याउने बताए ।
“म्यासाचुसेट्समा व्याप्त ठगीको जवाफमा, र हाम्रा कार्यदलका साझेदारहरू तथा म्यासाचुसेट्स जिल्लाका लागि अमेरिकी सरकारी वकिलको सहयोगमा, हामी ठगीलाई जरैदेखि उखेल्न र यी अपराधीहरूलाई न्यायको कठघरामा ल्याउन हाम्रा प्रयासहरूलाई थप तीव्र बनाउँदैछौं,” उनले भने।
यस ठगी योजनाको हिस्सा स्वरूप अभियोग लगाइएकाहरूमा डोमिनिकन गणतन्त्रका सान्टो एस्कोलास्टिको कुएलोलाई म्यासहेल्थमा एक लाख ६२ हजार एक सय ८० ठगी गरेको आरोप छ।
डोमिनिकन गणतन्त्रका मारियो बाएज रोमेरोलाई स्न्यापमा २६ हजार नौ सय ४२ डदर र म्यासहेल्थमा ४८ हजार सात सय ८५ ठगी गरेको आरोप छ।
डोमिनिकन गणतन्त्रका रिचर्ड ओडेलिस भ्यालेगास नुनेजले म्यासहेल्थमा ४८ हजार आठ सय ६५ ठगी गरेको आरोप छ।
डोमिनिकन गणतन्त्रका मिगुएल डियाज माटोसलाई स्न्यापमा १३ हजार चार सय ३१ ठगी गरेको आरोप छ।
यस्तै भारतका मितुल पटेललाई भिसा ठगी गर्न षड्यन्त्र गरेको आरोप लगाइएको छ।
डोमिनिकन गणतन्त्रका सान्टो तेजादा सान्चेजलाई स्न्याप सुविधामा ४० हजार ५४ डलर ठगी गरेको आरोप छ। म्यासहेल्थमा ४८ हजार ६ सय ९४ ठगी गरेको आरोप छ।
होमल्याण्ड सेक्युरिटी इन्भेष्टिगेसनको ‘डकुमेन्ट एण्ड बेनिफिट फ्रड टास्क फोर्स’ ले म्यासाचुसेट्स स्टेट पुलिस, म्यासाचुसेट्स स्टेट अडिटर्स अफिस, हेल्थ एण्ड ह्युमन सर्भिस अफिस अफ इन्स्पेक्टर जनरल, संयुक्त राज्य अमेरिकाको कृषि विभाग, सामाजिक सुरक्षा प्रशासन, राज्य विभागको डिप्लोमेटिक सेक्युरिटी सर्भिस, अमेरिकी हुलाक निरीक्षण सेवा, र श्रम विभागका कार्यदल साझेदारहरूसँग मिलेर यस अनुसन्धानको नेतृत्व गरेको जनाइएको छ।

















