पोर्टो रिको कराते ओपनमा याङ्टेन लामालाई स्वर्ण पदक
पोर्टो रिको / पोर्टो रिकोको मोका शहरमा सम्पन्न ‘पोर्टो रिको अन्तर्राष्ट्रिय कराते ओपन २०२६’ मा याङ्टेन लामाले स्वर्ण पदक जित्न सफल भएका छन्।
जुन १३ र १४ तारिखमा सञ्चालन भएको उक्त प्रतियोगिताको १४ वर्षमुनिको उमेर समूहमा च्याम्पियन मार्शल आर्ट क्लब यूएसएबाट खेलेका लामाले पहिलो स्थान हासिल गरेका हुन्।
प्रतियोगिताको आफ्नो पहिलो खेलमा ‘बाइ’ पाउँदै लामा सिधै अघिल्लो चरणमा प्रवेश गरेका थिए। त्यसपछि भएको सेमिफाइनल खेलमा उनले घरेलु टोली पोर्टो रिकोका खेलाडीलाई ९–२ को फराकिलो अंकले पराजित गर्दै फाइनलको यात्रा तय गरे।
दुई दिवसीय प्रतियोगिताको अन्तिम तथा निर्णयक भिडन्तमा लामाले अमेरिकाकै अर्का खेलाडीलाई ८–१ को भारी अङ्कको अन्तरले पाखा लगाउँदै स्वर्ण पदक देशको पोल्टामा हाले।
याङ्टेन लामा नेपालमा काठमाडौँका हुन् । उनी आफ्ना आमा- बाबा सँग अमेरिकाको न्यू योर्कमा बस्दै आएका छन् । उनका बाबा सुनिल लामा सागका स्वर्ण विजेता हुन्।

















