म्यासाचुसेट्समा मादक पदार्थ सेवन गरी सवारी चलाउदा प्रहरीलाई ठक्कर दिने पक्राउ, डिपोर्टको तयारी
म्यासाचुसेट्स, अमेरिका / अमेरिकाको म्यासाचुसेट्स राज्यमा मादक पदार्थ सेवन (डियुआई) गरी गलत दिशाबाट गाडी चलाएर एक राज्य प्रहरी (स्टेट ट्रुपर) लाई घाइते बनाउने ब्राजिलियन नागरिक लुकास गुस्ताभो डिबेनेडेट्टोलाई यु.एस. इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) ले पुन: पक्राउ गरेको छ।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस) अनुसार, जनवरी २००७ मा ३ महिनाको भिसामा अमेरिका आएका डिबेनेडेट्टो भिसा अवधि सकिएपछि पनि अवैध रूपमा बस्दै आएका थिए।
इटालीको नागरिकता समेत रहेका ३९ वर्षीय यी ब्राजिलियन नागरिकलाई गत मे ३१ को बिहान म्यासाचुसेट्सको पिबडीस्थित रुट १ मा विपरीत दिशाबाट तीव्र गतिमा गाडी कुदाएर प्रहरीको गाडीलाई ठक्कर दिएको आरोपमा स्थानीय प्रहरीले नियन्त्रणमा लिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका प्रहरी अधिकारीको हाल अस्पतालमा उपचारपछि स्वास्थ्यमा सुधार भइरहेको जनाइएको छ।
दुर्घटनाको गम्भीरता र मदिरा सेवन गरी सवारी चलाएको , लापरवाहीपूर्ण ढंगले गाडी चलाएको जस्ता गम्भीर कानुनी मुद्दा लागेता पनि म्यासाचुसेट्सका स्थानीय ‘स्याङ्चुअरी’ राजनीतिज्ञहरूले आरोपी डिबेनेडेट्टोलाई जेलबाट रिहा गरिदिएका थिए।
स्याङ्चुअरी भनेको स्थानीय सरकार र प्रहरीले वैध कागजपत्र नभएका आप्रवासीहरूलाई पक्राउ गर्न वा देश निकाला गर्न संघीय अध्यागमन अधिकारीलाई सहयोग गर्दैनन्। उनीहरूले आप्रवासीहरूलाई सुरक्षित आश्रय दिने नीति अपनाएका हुन्छन्।
स्थानीय प्रशासनले संघीय अध्यागमन अधिकारीहरूलाई जानकारी नै नदिई उनलाई रिहा गरेपछि अमेरिकामा ‘स्यान्चुरी नीति’ लाई लिएर राजनीतिक विवाद चर्किएको छ।
स्थानीय जेलबाट मुक्त भएलगत्तै ‘आइस’ का सुरक्षाकर्मीहरूले जुन २ मा एक विशेष अपरेसन चलाएर डिबेनेडेट्टोलाई खुला रूपमा पुनः पक्राउ गरेका हुन्।
हाल उनी अध्यागमन हिरासतमा छन् र उनलाई अमेरिकाबाट डिपोर्ट गर्ने कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

















