पेन्सिलभेनियामा जुन ५ देखि हातमा मोबाइल चलाए जरिवाना, ह्यान्ड्स–फ्रीलाई मात्र अनुमति
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / पेन्सिलभेनिया राज्यमा जुन ५, २०२६ अर्थात आउँदो शुक्रवारदेखि सवारी चलाउने क्रममा हातमा मोबाइल फोन वा अन्य इलेक्ट्रोनिक उपकरण प्रयोग गर्ने चालकलाई जरिवाना गरिने भएको छ ।
‘पल मिलर कानुन’ अन्तर्गत एक वर्षको चेतावनी अवधि समाप्त भएसँगै कानुन पूर्ण रूपमा कार्यान्वयनमा आउन लागेको हो ।
नयाँ कानुनअनुसार गाडी चलाइरहेको अवस्थामा मोबाइल फोन समातेर कुरा गर्ने, सन्देश पठाउने, सामाजिक सञ्जाल चलाउने, इन्टरनेट प्रयोग गर्ने, भिडियो हेर्ने वा अन्य कुनै पनि कार्य गर्न नपाउने भएको छ । साथै, ट्राफिक जाममा रोकिएको बेला र रातो बत्तीमा गाडी रोकिएको अवस्थामा समेत मोबाइल प्रयोग गर्न निषेध गरिएको छ ।
पेन्सिलभेनिया यातायात विभाग (पेनडट)ले कानुन उल्लंघन गर्ने चालकलाई ५० डलर जरिवाना, अदालत खर्च तथा अन्य शुल्क तिर्नुपर्ने जनाएको छ । यद्यपि यस उल्लङ्घनका कारण सामान्य चालकको लाइसेन्समा अङ्क थपिने छैन ।
नयाँ कानुनले चालकलाई ब्लुटुथ वा अन्य ह्यान्ड्स–फ्री प्रविधि प्रयोग गर्न भने अनुमति दिएको छ । त्यस्तै, आपत्कालीन अवस्थामा प्रहरी वा उद्धार सेवासँग सम्पर्क गर्न मोबाइल प्रयोग गर्न सकिने व्यवस्था पनि गरिएको छ ।
यो कानुन सन् २०१० मा ध्यान विचलित चालकका कारण सडक दुर्घटनामा ज्यान गुमाएका २१ वर्षीय पल मिलर जुनियरको सम्झनामा ल्याइएको हो । दुर्घटनापछि उनकी आमा एइलिन मिलरले ध्यान विचलित ड्राइभिङविरुद्ध कडा कानुन बनाउन लामो समयदेखि अभियान चलाउँदै आएकी थिइन् ।
(पेनडट)का अनुसार सन् २०२३ मा भएको ११ हजारभन्दा बढी दुर्घटना मोबाइल तथा अन्य कारणले चालकको ध्यान विचलित हुँदा भएको जनाएको छ ।
पेन्सिलभेनिया राज्य सरकारले नयाँ कानुनले सडक सुरक्षा बढाउने, दुर्घटना न्यूनीकरण गर्ने र भविष्यमा थप ज्यान बचाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

















