फिफा विश्वकप २०२६: अमेरिका आउने फुटबल दर्शकमा बेलायती सबैभन्दा अगाडि, शीर्ष ५ मा दुई एसियाली देश
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / फिफा विश्व कपका लागि अमेरिका आउने दर्शकमा सबै भन्दा अगाडि बेलायत रहेको तथ्य सार्वजनिक भएको छ।
यु.एस. कस्टम्स एण्ड बोर्डर प्रोटेक्सन (सीबीपी) ले सोमवार जारी गरेको विज्ञप्तिमा अक्टोबर १, २०२५ देखि अप्रिल ३०, २०२६ सम्मको ७ महिनाको अवधिमा अमेरिकाको ‘भिसा वेभर प्रोग्राम’ अन्तर्गत ५० लाख भन्दा बढी इलेक्ट्रोनिक सिस्टम फर ट्राभल अथोरिटाइजेसन (इएसटीए) आवेदनहरू स्वीकृत भएको उल्लेख छ ।
इएसटीए भने त्यस्ता देशहरूका लागि मात्रै हो जसका नागरिकहरूले अमेरिका जान भिसा लिनु पर्दैन र सिधै अनलाइनबाट फारम भरेर यात्रा अनुमति पाउँछन्।
यस पटकको विश्व कप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्दै छन्। जुन ११ देखि जुलाई १९ सञ्चालन हुने विश्व कपको उद्घाटन खेल मेक्सिकोको ‘इस्टेडियो अज्टेका’ मेक्सिको सिटी स्टेडियम हुने छ।
फिफा विश्व कप इतिहासमा नै सबै भन्दा धेरै ४८ देशले भाग लिने प्रतियोगिताको फाइनल खेल जुलाई १९ न्यु जर्सीस्थित ‘मेटलाइफ स्टेडियम’ मा हुनेछ।
सीबीपीले गरेको पछिल्लो प्रतिवेदन अनुसार, विश्वकप खेल्न योग्य राष्ट्रहरूमध्ये बेलायतबाट सबैभन्दा बढी नागरिकले अमेरिका प्रवेशको अनुमति पाएका छन्। १२ लाख भन्दा बढी बेलायतीले यस पटक अमेरिकामा विश्व कप हेर्ने छन्।
बेलायत पछि फ्रान्सबाट ५ लाख ७० हजार भन्दा बढी अमेरिका आउने छन्। यस्तै जर्मनीबाट ५ लाख ३० हजार भन्दा बढी दर्शक अमेरिकी रंगशालमा हुने छन्।
अमेरिकामा फुटबल हेर्न आउने दर्शकको शीर्ष पाँच सूचीमा दुई एशियाली मुलुक पनि रहेका छन्। जापानबाट ५ लाख भन्दा बढी र दक्षिण कोरियाबाट ३ लाख २० हजार भन्दा बढी दर्शकले अनुमति पाएको सीबीपीले जनाएको छ।
यस पटकको फिफा विश्वकपमा कुल एक सय ४ खेलहरू मध्ये ७८ खेलहरू अमेरिकामा मात्र हुनेछन्, जसका कारण ५० लाख भन्दा बढी अन्तर्राष्ट्रिय आगन्तुकहरू अमेरिका भित्रिने अनुमान ट्रम्प प्रशासनले गरेको छ।
‘ठूलो संख्यामा आउने यात्रीहरूलाई व्यवस्थापन गर्न सीबीपीले ‘ट्रस्टेड ट्राभलर प्रोग्राम’ अन्तर्गत १६ लाख भन्दा बढी आवेदनहरू प्राप्त गरिसकेको छ, जसले विमानस्थलहरूमा चाप कम गर्न र द्रुत भन्सार प्रक्रिया मा मद्दत गर्नेछ।’ सीबीपीको विज्ञप्तिमा उल्लेख छ ।
सीबीपीका कार्यकारी निर्देशक म्याथ्यू एस. डेभिसका अनुसार सीमा सुरक्षा कायम राख्दै यात्रीहरूलाई सहज अनुभव दिन विभिन्न डिजिटल प्रविधिहरू परिचालन गरिएको छ।



















