पेन्सिल्भेनिया ल्यानक्यास्टरमा नेपाली समुदायमा तीन उमेर समूहको फुटबल प्रतियोगिता
ल्यानक्यास्टर, पेन्सिलभेनिया / नेपाली एसोसिएसन अफ पेन्सिलभेनिया, ल्यानक्यास्टरले आइतबार फुटबल प्रतियोगिता आयोजना गर्दै समुदायमा खेलकुद मार्फत एकता र उत्साह थपेको छ।
इस्ट पिटर्सबर्गस्थित स्पूकी नुक–ल्यान्कोफिल्डमा सम्पन्न प्रतियोगितामा किड्स, योङ र भेट्रान्स गरी तीन फरक उमेर समूहका खेलाडीहरूलाई समेटिएको थियो।
प्रतियोगितामा प्रत्येक उमेर समूहलाई रातो र निलो टिममा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो।

प्रतियोगिताकोव अन्तमा योङ र भेट्रान्स टिम खेल भएको थियो । उक्त खेलमा भेट्रान्स टिमले ७–४ गोल अन्तरले जित हात पार्यो।
भेट्रान्स टिमको जितमा डा. बन्धु पौडेल एक्लैले चार गोल गरे । उनी चिकित्सक हुन्। सोही टिमबाट अर्का चिकित्सक डा. राज घिमिरेले पनि खेलेका थिए।

आयोजक संस्थाले यसअघि नयाँ वर्ष, हरितालिका तीज, दशैं–तिहार जस्ता चाडपर्वमा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आएको थियो। तर यसपटक फरक ढंगले तीनै पुस्तालाई एकै ठाउँमा ल्याउने उद्देश्यसहित खेलकुद कार्यक्रम आयोजना गरिएको हो।
संस्थाका पदाधिकारीहरूले खेलकुदमार्फत समुदायबीच आपसी सम्बन्ध मजबुत बनाउने र नयाँ पुस्तालाई सक्रिय बनाउने लक्ष्य रहेको बताएका छन्। सहभागीहरू पनि यस्तो कार्यक्रमले नेपाली समुदायलाई अझ नजिक ल्याएको प्रतिक्रिया दिएका छन्।
यो प्रतियोगिता केवल खेलमा सीमित नभई, पुस्ताबीचको सम्बन्ध, सहकार्य र समुदायिक एकताको सन्देश दिने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

















