केप कड नेपाली समाजमा नयाँ नेतृत्व, बिष्णुमान प्रधान बने अध्यक्ष
केप कड, म्यासाचुसेट्स / केप कड नेपाली समाजमा नयाँ नेतृत्व चयन भएको छ । अप्रिल १९ तारिख आइतबार सम्पन्न संस्थाको वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले बिष्णु मान प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
कार्यसमितिको कार्यकाल दुई वर्षको हुने छ । प्रधान यस अगाडी संस्थाको वरिष्ठ उपाध्यक्ष थिए।
संस्थाको वरिष्ठ उपाध्यक्षमा कृष्ण तिमल्सिना रहेका छन् । यस्तै उपाध्यक्षहरूमा कुबेर बिन्दुकार र इच्छा खड्का चयन भएका छन्। महासचिवको जिम्मेवारी सरस्वती खनालले पाएकी छिन्।
सचिवमा हर्कुलस कन्दंङवा र सह सचिवमा खगेन्द्र तिलुङ राई चयन भएका छन् । विमल खड्का कोषाध्यक्ष र अजय खतिवडा सह कोषाध्यक्ष चयन भएका छन्।
यस्तै पार्वती चालिसे महिला संयोजक, कुमार तामाङ युवा संयोजक चयन भएका छन्।
२१ सदस्यीय कार्यसमितिको सदस्यहरूमा छेजी शेर्पा एन्ड्रु, ज्योति केसी, मञ्जु शर्मा, दीक्षा थापा, आदर्श राई, ज्योति बुढाथोकी लिवाङ, हरि प्रसाद रिजाल, सन्तोष श्रेष्ठ, मिंग्मा शेर्पा / के ओङचुक शेर्पा रहेका छन्।
यस अगाडि केप कड नेपाली समाजको वार्षिक साधारण सभा तथा चौथो अधिवेशन समाजका अध्यक्ष केबी राईको सभापतित्वमा भएको थियो । कार्यक्रमको सञ्चालन महासचिव इच्छा खड्का र सचिव सरस्वती खनालले गरेका थिए।
सभापतिबाट दीप प्रज्वलन गरि उद्घाटन गरिएको सभा नेपाल र अमेरिकाको राष्ट्रिय गान बजाइएको थियो । अमेरिकाको राष्ट्रिय गान बिष्लेक्स मान प्रधानको एकल गायनमा भएको थियो ।
समाजका वरिष्ठ उपाध्यक्ष तथा वार्षिक साधारण सभाका संयोजक विष्णु मान प्रधानले सभामा उपस्थित सम्पूर्ण सदस्यहरूलाई स्वागत गर्नु साथै कार्यक्रमका बारेमा प्रकाश पारेका थिए ।
समाजका उपाध्यक्ष कृष्ण तिमल्सिना र संस्थापक अध्यक्ष तथा सल्लाहकार हरि राईले शुभकामना मन्तव्य दिएका थिए।
सभाले समाजका महासचिव इच्छा खड्काद्वारा प्रस्तुत गरिएको संस्थाको वार्षिक प्रगति प्रतिवेदन साथै संस्थाका कोषाध्यक्ष विमल खड्काद्वारा प्रस्तुत गरिएको वार्षिक आर्थिक विवरणलाई सर्वसम्मत पारित गरेको थियो।
साधारण सभाको पहिलो सत्रमा केप कड नेपाली समाजको आजीवन सदस्यता लिएका १२ जना नयाँ सदस्यहरूलाई समाजका अध्यक्ष केबी राईले खादा तथा प्रमाणपत्र प्रदान गरि स्वागत तथा सम्मान व्यक्त गरेका थिए ।
त्यसैगरि वर्ष भरि समाजले आयोजना गरेका विभिन्न कार्यक्रमहरूको मेरुदण्ड स्थानिय कलाकारहरू साथै उक्त कार्यक्रमहरूलाई सफलतापूर्वक सम्पन्न गर्न आर्थिक सहयोग गर्ने दाताहरूलाई समेत समाजका अध्यक्ष राईले खादा तथा प्रमाणपत्र प्रदान गरि सम्मान गरेका थिए ।
साधारण सभाको अन्त्यमा सभाका सभापति केबी राईले वर्तमान कार्य समितिले २ वर्षको निर्धारित कार्य अवधि सफलतापूर्वक सम्पन्न गरेकोमा सबै पदाधिकारी तथा सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै आजकै मितिदेखि यसलाई विगठन गरिएको घोषणा गर्दै नयाँ कार्यसमिति चयनको लागि सभामा उपस्थित सबैलाई आव्हान गरेका थिए।
प्रमुख निर्वाचन आयुक्त डा. प्रदीप बज्राचार्यको कमिटीले निर्वाचन प्रक्रिया शुरु गरेको थियो । निर्वाचन समितिमा दीर्घ राई र रोशन अधिकारी रहेका थिए ।
कार्यक्रमको अन्त्यमा निवर्तमान अध्यक्ष केबी राईले नवनिर्वाचित अध्यक्ष बिष्णुमान प्रधानको नेतृत्वको कार्यकारी समितिलाई बधाई तथा शुभकामना दिँदै आगामी दिनहरूमा पनि समाजका हरेक गतिविधिहरूमा कार्यसमिति बाहिरै रहेर पनि निरन्तर सहयोग गरिरहने प्रतिबद्धता जाहेर गरे ।
यसै गरी नवनिर्वाचित अध्यक्ष बिष्णु मान प्रधानले पनि निवर्तमान अध्यक्ष लगायत सम्पूर्ण निवर्तमान पदाधिकारी तथा सदस्यहरूलाई उनीहरुले आफ्नो दुई वर्षको कार्यकालमा संस्था र नेपाली समुदायलाई पुराउनुभएको योगदानको कदर गर्दै भविष्यमा पनि सहयोग निरन्तरता रहने कुरामा विश्वास व्यक्त गरे ।
केप कड नेपाली समाज, नेपाली कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न २०११ मा केप कड, मासाच्युसेट्स, अमेरिकामा स्थापना गरिएको नेपालीहरूको सामाजिक संस्था हो । यो संस्थाले नेपाली समुदायको हितका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको छ।
















